Comments Add Comment

बसन्तपुरमा ‘सडक कविता’को झल्को

२७ माघ, काठमाडौं । वसन्तपुर डबलीमा मंगलबार दिउँसो सडक कविताकै झल्को दिने कार्यक्रम भएको छ । ‘न्यायका लागि कविता’ नामक ब्यानरमा दुई दर्जन युवा कविहरूले डबलीमा कविता सुनाए ।

२०३६ सालमा भएको ‘सडक कविता क्रान्ति’लाई नेपाली साहित्यमा महत्त्वपूर्ण घटनाका रूपमा लिइन्छ । त्यतिबेलाको आन्दोलनले जनवादी कवि तथा राजावादी कविहरूको दुई धार नै छुट्याएको थियो । चर्चित कविहरू हरिभक्त कटुवाल, मोहन कोइराला, भवानी घिमिरेलगायतका स्रष्टा स्वतन्त्रताको पक्षमा खुलेर सडकमा आएका थिए । उनीहरूले दुई महिनासम्म सडकमै रहेर कवि सुनाउँदै पञ्चायत सत्तालाई चुनौती दिएका थिए ।

मंगलबार ०३६ सालकै झल्को आउने गरी कविता सुनाउने कविहरू २५ देखि ३० वर्ष उमेर–समूहका थिए । उनीहरूमध्ये अधिकांश विश्वविद्यालय तह अध्ययन गरिहेको पुस्ता थियो । युवा कविलाई सुन्न चर्चित कविहरू पनि मंगलबार दिउँसो वसन्तपुर डबली पुगे । कवि श्रवण मुकारूङ, स्वप्नील स्मृति, चन्द्रवीर तुम्बापो, विमला तुम्खेवा तथा लखेकहरू राजन मुकारूङ, सञ्जीव उप्रेतीलगायत स्थापित साहित्यकार युवा पुस्तालाई साथ दिन दर्शक दीर्घामा बसे ।

युवाहरूको कविता सुनेर निकै उत्साहित भएको बताउँदै कवि श्रवण मुकारूङले प्रत्येक परिवर्तनमा युवा पुस्ताको अग्रणी भूमिका रहने अभिव्यक्ति दिए । कविताले सधैं जनताकै आवाज बोल्नुपर्ने मान्यता राख्ने मुकारूङले भने, ‘राजनीतिक मात्र होइन वैचारिक स्वर बोकेका कविता पनि आजका युवाले लेखेका छन् ।’

यो पनि पढ्नुहोस् : १५ वर्षपछि सडकमा बिसे नगर्चीको बयान !

कवि संगीत स्रोताले पनि युवा पुस्ताका कविताले आजको समय र संकटलाई प्रष्ट उतारेको बताए । उनले भने, ‘देशका प्रतिनिधि युवा–अनुहारका यी कविताको स्वर नै आजको समय वास्तविक स्वर हो ।’

युवा कविहरूले सुनाएका अधिकांश कविताले राजनीतिक विसंगतिमाथि प्रहार गरेका थिए । कवि चन्द्रवीर तुम्बापोले कार्यक्रमपछि युवा कविहरूलाई सामाजिक न्यायका लागि कविता सुनाएकोमा बधाई दिए ।

अंशु खनालबाट सुरु भएको कविता वाचनमा कपिल चौलागाईं, महावीर विश्वकर्मा, सुनिल आङ्बो, समर्पण श्री, स्मृति रानाभाट, पवन ढुंगाना, राजु झल्लुप्रसाद, रसिक राज, कपिल चौलागाईं, बच्चु हिमांशु, राजु स्याङ्तान, सरस चरी, लक्ष्मी रुम्बा तथा प्रेमिला राईलगायत २० युवाले कविता सुनाए ।

कवि स्मृति रानाभाटले ‘मलाई रातो रंग मन पर्दैन’ शीषर्कको कविता सुनाउँदा कपिल चौलागाईले ‘महाराजलाई बिन्तीपत्र’ कविता पढ्दै लोकतन्त्रका नयाँ महाराजहरूमाथि व्यंग्य गरे । सुनिल लिम्बुले ‘क्रान्तिको आवाज बोल्’ सुनाइरहँदा राजु स्याङ्तानले ‘गुमनाम ताराहरू’मार्फत भुइँमान्छेको शक्ति बताइरहेका थिए ।

अन्य कविका कविताले पनि राजनीतिक विसंगतिमाथि कटाक्ष गरेको पाइन्थ्यो । कविता वाचनसँगै कविहरूले संसद विघटन तथा केपी ओली सरकारले गरेका प्रतिगामी कदमको खुलेर विरोध गरे ।

कार्यक्रममा युवा कविहरूको तर्फबाट मन्तव्य दिएका कवि नवीन प्यासीले नयाँ पुस्तामा अधिकारका लागि लड्न सक्ने साहस भएको प्रष्ट पारे । मन्तव्यका क्रममा निकै आक्रामक प्रस्तुत भएका कवि प्यासीले भने, ‘केपी ओलीको मात्र होइन भोलि आउने जुनसुकै सत्ताको रवैयामाथि हामी प्रतिरोध गर्नेछौं ।’

युवाहरूको कविता सुनिरहेका नागरिक अभियन्ता एवं प्राध्यापक विमल अर्यालले नयाँ पुस्तामा प्रतिरोध गर्ने क्षमता बढ्दै गएको टिप्पणी गरे । कविता सुनेपछि प्रतिक्रिया दिँदै अर्याल भने, ‘युवाहरूको कविताले आफ्नो युगका विसंगतिमाथि सार्थक प्रश्न बोकेको पाइन्छ । जुन प्रश्नको जिम्मेवारी आजको नेतृत्वले लिनुपर्छ ।’

अभियन्ता जेबी विश्वकर्माले युवाका कविता हस्तक्षेपकारी भएको बताए । उनी भन्छन्, ‘प्रत्येक युवाभित्र प्रश्न बोकेका रापिला कविता छन् । ती कविताको स्वरलाई कुनै पनि तवरले कमजोर आँक्न मिल्दैन ।’

युवाहरूका कविता सुन्न वसन्तपुर डबलीमा आएका पर्यटक पनि कार्यक्रम स्थल वरपर देखिन्थे । उनीहरू आफ्ना मोबाइल फोनमार्फत युवाका कविता खिचिरहेका थिए ।

युवाकवि एवं नाट्यकर्मी बच्चु हिमांशुले सुनाएको ‘संकल्प’ शीर्षकको कविता कविता यहाँ प्रस्तुत गरिएको छ:

संकल्प

बनाउन खोजेको थिएँ

समृद्धिका बुट्टाहरू भरेर देशको एउटा चित्र

तर जतिपटक मुटु निचोरेर

रगतले देशको क्यानभासमा

बनाउन खोज्छु मैले देख्ने सपनाको चित्र

कुची समाइरहेको मेरो हात

आफैं लत्पतिएर क्यानभास विद्रुप बन्छ

 

चित्रमा देख्छु–

नाम्लोसँगै सडकमा लडिरहेको

सूर्यबहादुर तामाङको लाश

घोंगी टिप्दै गर्दा पक्राउ परेको आदिवासी थारू

उपचारको अभावमा अन्तिमपटक सास फेरिरहेकी

सुत्केरी महिला

भोक चपाइरहेका नानीहरू

मान्छेहरूले मान्छे नठानेको एउटा मान्छे

तुइनमा झुन्डिरहेको देशको प्रतिबिम्ब

न्यायालयको अगाडि

न्याय कुरिरहेका अनागरिक आँखाहरू

 

केके, केके उफ् !

यसरी कतिन्जेल चल्न दिने हो

समयलाई शासकको मुटुको रफ्तारमा ?

 

अब म उठाउँछु चेतनाको कलम

त्यसको नीबले घोच्छु–शासकको मुटुमा

निकालेर रगत तानाशाहको

कोर्छु भुईंमान्छेले गाउने गीतको धुन

 

यसपटक मेरो हात लर्बराउने छैन

आतुर छन् यात्रामा निस्कन शब्दहहरू

 

म यो युगले गाउने

एउटा गीत रच्दैछु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment