Comments Add Comment

१५ वर्षपछि सडकमा बिसे नगर्चीको बयान !

काठमाडौं । बुधबार दिउँसो नागरिक समाजले संसद विघटनविरूद्ध गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा कवि–कलाकारको बाक्लो उपस्थिति थियो । कार्यक्रममा महिला–वाद्यवादन समूहले नौमति बजाएर विरोध गरेको थियो भने साहित्यकारहरूले कविता वाचन गरेका थिए ।

कविता वाचनको अन्तिममा थिए, कवि श्रवण मुकारूङ । मुकारूङलाई नै सुन्न कवि–लेखक तथा युवाहरू अन्तिमसम्म प्रतीक्षामा बसे ।

२०६२ सालको जनआन्दोलनमा ‘बिसे नगर्चीको बयान’ कविता सुनाउँदै जनताको मन जितेका मुकारूङ १५ वर्षपछि आफू फेरि सडकमा आउन बाध्य भएको बताउँदै थिए ।

अन्ततः मुकारूङले बिसे नगर्चीको कविता सुनाउँदै भने, ‘मसँग नयाँ कविता पनि छ । तर आज जनताको अधिकारमाथि प्रहार भएकाले जनताकै पक्षको कविता फेरि पढ्नेछु ।’

उनले १५ वर्षपछि सडकमा बिसे नगर्चीको बयान कविता सुनाउँदा आफू निकै भावुक बनेको बताए । अनलाइनखबरसँग कुरा गर्दै ५२ वर्षीय मुकारूङले भने ,‘म माधव नेपाल या प्रचण्डको पक्ष लिँदै यहाँ आएको होइन, जनताको सार्वभौमितामाथि खेलबाड भएकाले सडकमा आएको हुँ ।’

मुकारूङसँगै डेढ दर्जन कविले बुधबार माइतिघरमा प्रतिगमन विरूद्ध कविता वाचन गरे । कवि तथा गीतकार विप्लव प्रतीक, विनोदविक्रम केसी, सकुन्तला जोशी, निर्भीक रायमाझी, नवीन प्यासी, भूपाल राई, विमला तुम्खेवा, छम गुरूङलगायतले कविता सुनाए ।

कवि तथा पहिचान अभियन्ता भूपाल राईले ‘पुत्लाले सधंै आगोको भाषामात्र बुझ्छ’ भन्दै मानवीय संवेदना नबुझने सत्तालाई व्यंग्य गरे । उनले आफू सधैं सडकको मानिस भएकाले जनतासँग सडकमै रहने प्रतिबद्धा जनाए । ‘पुत्ला’ शीर्षकको उक्त कविताले शासकलाई ठाडो प्रहार गरेको देखिन्थ्यो–

‘अलिकति उखेलिएको जंगबहादुर जुँगा

मानसमा ठडिरहेका पृथ्वीनारायण औंला

फाटिसकेको महेन्द्रीय लवेदा, टालो

र, अन्तिम श्रीपेचको झरिसकेको एउटा कल्की

यी सब पहिरेर यसरी बीच सडकमा उभिने त्यो को हो ?’

कवि विमला तुम्खेवाले पनि ‘म उभिनेछु सतिसाल रूखझैं’ शीर्षकको कविता सुनाउँदै प्रतिगमनविरूद्ध अडिग रहन आह्वान गरिन् । विमला लेख्छिन्–

कानुन, अड्डा, अदालत सबै एक हुनेछ

बलात्कारीलाई फासी दे भन्दा

भ्रष्टचारीलाई फासी दे भन्दा

मलाई ज्ञात छ

कुनै दिन तमाम बेथितिका विरूद्ध बोल्दै गर्दा मारिन सक्छु ।

२०२८ सालको विद्यार्थी आन्दोलदेखि नै आफू सडकमा उत्रिएको स्मरण गर्दै कवि विप्लव प्रतीकले ‘कति हजार वर्षपछि दास मालिक बन्छ ?’ भन्दै खुल्दुली शीर्षकको आफ्नो कविता वाचन गरे । कवि प्रतीकले कवि सधैं मानवअधिकारको पक्षमा हुने जोड गर्दै स्रष्टाहरूलाई जनतासँगै उभिन आह्वान गरे ।

युवाकवि नवीन प्यासीले शासकलाई म्युजिकल चेयरको खेलाडीझैं अर्काको तालमा चल्ने बिम्बमा उतारे । उनी सबै युवाहरू लोकतन्त्रको पक्षमा सडकमा आउनुपर्ने बताइरहेका थिए ।

कविहरूका कविता सुनिरहेका नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्री, कलाकार राजन खतिवडा, समीक्षकहरू गुरूङ सुशान्त, सोझो गाउँलेले कविहरूलाई नागरिक आन्दोलनमा जोडिएकोमा धन्यवाद दिए ।

कविता सुनेपछि प्रतिक्रिया व्यक्त गर्दै समीक्षक सोझो गाउँलेले माइतिघरमा सुनाइएका कविता जनपक्षीय र क्रान्तिकारी भएको प्रतिक्रिया दिए । गाउँलले भने, ‘सत्ताको प्रतिपक्षमा रहनु नै साहित्यकारको सबैभन्दा ठूलो शक्ति हो । आज त्यो शक्ति नागरिक आन्दोलनले पाएको छ ।’

बुधबारको प्रदर्शनमा चर्चित कविहरूका कविताका हरफ नै लेखिएको ब्यानर प्रयोग गरिएको थियो । माइतिघरको बाटो हिँडिरहेका सर्वसाधारण पनि कुनै सांस्कृतिक कार्यक्रम हो कि भनेर कविता वाचनको प्रदशर्नी हेरिरहेका थिए ।

अभियन्ता युग पाठकले प्रतिगमनविरूद्ध कविहरूको सृजनामा शक्ति हुने भएकाले कविता वाचन कार्यक्रम गरिएको जानकारी दिए । अनलाइनखबरसँग कुरा गर्दै पाठकले भने, ‘एकै मञ्चमा नयाँ–पुराना पुस्ताका क्रान्तिकारी कविहरूको जमघटले सरकारलाई दबाव सिर्जना गरेको छ । यो कार्यमा सबै लेखक–साहित्यकार जोडिनुपर्छ ।’

२०६२–६३ को जनआन्दोलनमा सडकबाटै बहुचर्चित बनेको श्रवण मुकारूङको कविता ‘बिसे नगर्चीको बयान’ यहाँ पुनः प्रकाशन गरिएको छ :

मालिक !

म यो गोरखा राज्यमा

अढाई सय वर्षपछि बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ

जमिन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिर्मिर–तिर्मिर भएर

हजुरको शिर दशवटा देखिरहेछु

खै मेरो पैतला कहाँनिर छ ?

कहाँनिर छ बिसे नगर्ची ?

मालिक ! म बौलाएँ ।

मैले त महाराजको सेवा गर्नुपर्ने

इतिहासको रक्षा गर्न

यो गोरखकालीको पाऊ छोएर

नूनको सोझो हुनुपर्ने

अढाई सय वर्षपछि आज के भयो मलाई ?

यो बिसेलाई दशा लाग्यो मालिक !

म बौलाएँ ।

नाथे मेरी स्वास्नी न हो मारिएकी

नाथे मेरी छोरी न हो बलात्कृत भएकी

नाथे यो बिसेको झुप्रो न हो जलाइएको

यतिमै यो बिसे उफ्रिनु पर्ने ? थुइक्क बिसे

म बौलाएँ मालिक !

म बौलाएँ ।

मेरो हात भाँचियो

अब म हजुरका भारदारहरूलाई

लबेदा सिउन सक्दिन

नरसिंगा फुक्न, सनाई बजाउन

अथवा कुनै मंगलगान

वा ऋतुगीत गाउन सक्तिनँ

मेरो खुट्टा भाँचियो

अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ

मेरो दिमागै ठीकमा छैन

अब म ठिक्कले बोल्न सक्तिनँ

मालिक ! म बौलाएँ ।

मालिक !

यो गोरखा राज्यअघि उभिएका

हिजोका ती अग्ला अग्ला पहाडहरू

आज कसरी यस्तरी होचा–होचा भए

हिजोका ती सग्ला र कल्कलाउँदा

यहाँका मानिसहरू

आज कसरी यस्तरी खुनी र कुरूप भए ?

यो दरौंदी किन उल्टो बगेको देख्छु ?

यो दरबारै किन खण्डहरजस्तो देख्छु ?

म बौलाएँ । मालिक ! म बौलाएँ ।

मालिक !

हजुरको तरबारले टाउको काट्छ कि फूल ?

भ्रममा परें म

हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे?

भ्रममा परें म

अढाई सय वर्षदेखि म तपाई समक्ष छु

मालिक !

म कसरी आतंककारी हुन सक्छु?

म केवल बोलाएँ मालिक !

बौलाएँ

हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला

रक्सी खाएर

यो देश मैले पनि आर्जेको हुँ भने हुँला

भानुभक्त बाजेको गीत

र मेरो सियो बराबर हो भने हुँला

मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई

मेरो नाङ्गो आङ देखाएँ हुँला

बौलाएपछि मैले भगवानलाई पनि गाली गरे हुँला

मालिक !

मान्छे बौलाएपछि आफैंसित पनि निहुँ खोज्दोरहेछ

अढाई सय वर्षदेखि मैले तुनेका थाङनामा हुर्केका

मेरा दरसन्तानहरू कहाँ कहाँ पुगे

मैले खोज्न चाहें हुँला

मेरा औंलामा खोपिएका छ्यान्द्रा

र बगेका रगतहरूले मलाई उक्साएर

तरबारले आर्जेको मुलुक भन्दा

मैले धागोले उनेको मुलुक विशाल ठाने हुँला

मालिक !

यस माटोको इतिहाससँगै

म हजुरको राष्ट्रमा छु

म कसरी अराष्ट्रिय हुनसक्छुः

म साँच्चै बौलाएँ मालिक !

साँच्चै बौलाएँ !

मेरो टाउको फनफनी घुमिरहेछ

जमीन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिर्मिर–तिर्मिर भएर

हजुरको शिर दशवटा देखिरहेको छु

खोई मेरो पैताला कहाँनिर छ ?

कहाँनिर छ बिसे नगर्ची ?

मालिक ! म बौलाएँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment