Comments Add Comment

अमेरिकामा ह्याकरको खतरनाक हमला, खानेपानीलाई विषाक्त बनाउने प्रयास

काठमाडौं । अमेरिकामा एकजना कम्प्युटर ह्याकरले फ्लोरिडा राज्यस्थित एक सहरमा वितरित खानेपानी संयन्त्रलाई ह्याक गरी विष घोल्ने प्रयास गरेका छन् ।

निकै खतरनाक तथा अहिलेसम्मकै नयाँ मानिएको उक्त साइबर अपराधको घटनामा उक्त ह्याकरले फ्लोरिडाको ओल्डस्मार सहरको खानेपानी प्रशोधन संयन्त्रलाई ह्याक गरेर विषाक्त रसायन मिसाउने कोसिस गरेको हो ।

अधिकारीका अनुसार सहरको पानी प्रशोधन प्रणालीलाई ह्याक गरेर ह्याकरले पानीमा सोडियम हाइड्रो अक्साइडको मात्रा बढाउने प्रयास गरेको हो ।

तर खानेपानी विभागका एक कर्मचारीको सजगताका कारण ह्याकरको उक्त प्रयासको खुलासा भयो र अन्ततः खानेपानीलाई विषाक्त हुनबाट जोगाइयो ।

पानीमा अम्लीयपना रोक्नका लागि सोडियम हाइड्रोअक्साइडको थोरै मात्राको प्रयोग गरिन्छ । तर यो रसायनको मात्रा खानेपानीमा बढि भएमा त्यसले पानीलाई विषाक्त बनाउँदछ ।

ओल्डस्मार सहरका मेयरले कुनै खराब व्यक्तिले त्यस्तो काम गरेको बताएका छन् ।

यद्यपि यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकिएको छैन । साथै यस्तो ह्याकिङको प्रयास अमेरिका भित्रैबाट भएको हो कि बाहिरबाट भएको हो त्यो पनि पत्ता लागिसकेको छैन ।

ओल्डस्मारको पानी प्रशोधन प्रणालीलाई नियन्त्रण गर्ने कम्प्युटरलाई शुक्रबार ह्याकरले नियन्त्रणमा लिएको थियो । तथापि जल प्रशोधन संयन्त्रका एक अपरेटरले उक्त प्रणालीमाथि कसैले दखल पूराइरहेको पत्ता लगाए । तर उनले सुरुमा त आफ्नै सुपरभाइजरले प्रशोधन प्रणाली चलाइरहेको अनुमान गरेका थिए ।

तर दोश्रो पटक पनि प्रणालीमा यस्तै खाले बाह्य हस्तक्षेपको प्रयास भयो र ह्याकरले प्रशोधन संयन्त्रको सफ्टवेयर ह्याक गर्न सफल भयो । त्यसपछि ह्याकरले पानीमा सोडियम हाइड्रो अक्साइडको मात्रा १०० प्रति दश लाखबाट बढाएर ११ हजार १०० प्रति दशलाख पूराइदियो ।

अपरेटरले ह्याकरले गरेको यस्तो हमला तत्कालै थाहा पाए र बढाइएको रसायनको मात्रालाई तुरुन्तै पूरानै अवस्थामा फर्काए ।

स्मरण रहोस् उक्त पानी प्रशोधन संयन्त्रबाट वितरित खानेपानी १५ हजार स्थानीय मानिसहरुले प्रयोग गर्दछन् ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment