Comments Add Comment

टाइगर कप भलिबल : एपीएफविरुद्ध आर्मी सोझो सेटमा विजयी

२९ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो जित हात पारेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा बिहीबार भएको दुई विभागीय क्लबको भिडन्तमा आर्मीले एपीएफलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा गण्डकीसंग पराजित भएको आर्मीले पहिलो जित हात पार्ने क्रममा एपीएफ २५-२३, २५-२१, २५-१८ को हरायो।

जितपछि आर्मीले २ खेलबाट ३ अंक जोडेर फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा आर्मी गण्डकी प्रदेशसँग ३-१ ले स्तब्ध भएको थियो ।

आर्मीले अब अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग शुक्रबार खेल्नेछ ।

पहिलो खेलमा पुलिसलाई पराजित गरेको एपीएफको यो पहिलो हार हो । एपीएफको २ खेलबाट ३ अंक छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार एपीएफ र गण्डकी तथा पुलिस र आर्मीबीच लिगको अन्तिम खेल हुनेछ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगितामा लिगको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४ टोलीको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, दोस्रोले ७५ हजार तथा तेस्रोले नगद ३५ हजार प्राप्त गर्ने छ । चौथोले १५ हजार सान्त्वना पुरस्कार पाउनेछन् ।

यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले ५–५ हजार नगद प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment