Comments Add Comment

टोकियो ओलम्पिक आयोजक कमिटीका प्रमुखले दिए राजीनामा

३० माघ, काठमाडौं । टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख योसिरो मोरील‍े राजीनामा दिएका छन् । महिलाको बारेमा अनुपयुक्त टिप्पणी गरेको भन्दै आलोचना भएपछि मोरीले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

८३ वर्षीय मोरीले महिलाहरुले धेरै कुरा गर्ने र महिला सदस्यहरु हुँदा निर्णय गर्न धेरै समय लाग्ने टिप्पणी गरेका थिए । उनको यो टिप्पणीको आलोचना भएपछि मोरीले माफी माग्दै राजीनामा भने नदिने बताएका थिए । तर शुक्रबार उनले अनुपयुक्त कथनका लागि माफी मागे ।

‘मुख्य कुरा जुलाईदेखि ओलम्पिक आयोजना गर्नु हो । यो मेरो उपस्थितिमा अवरोध हुने कुरा हुनु हुँदैन,’ उनले शुक्रबार विशेष समितिको बैठकमा भने, जहाँ उनले राजीनामा पनि घोषणा गरे ।

अब यी भूतपूर्व जापानी प्रधानमन्त्री मोरीको ठाउँ कसले लिने भन्ने स्पस्ट छैन । उनले सुरुमा उनको स्थानमा प्रख्यात खेल प्रशासक ८४ वर्षीय सबुरो काबुबुचीलाई छनोट गरेका थिए तर यसको पनि विरोध भयो ।

पछिल्लो हप्तामा उनीमाथि दबाब बढ्दै गएपछि राजीनामा आएको हो । मुख्य प्रायोजक टोयोटाले मोरीको टिप्पणीको आलोचना गरेको छ । टोयोटाका अध्यक्ष अकिओ टोयोडाले कम्पनी निराश भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार जापानका महिला सांसदहरूको एउटा समूहले उनको टिप्पणीको विरोधमा सेतो लुगा लगाएको थियो, केही पुरुषहरूले पनि आन्दोलनमा साथ दिएका थिए ।

टोकियोका गभर्नर युरिको कोइकेले उच्चस्तरीय ओलम्पिक अधिकारीहरूको बैठकमा भाग नलिने बताइन् । स्थानीय सञ्चार माध्यमका अनुसार करीब ४०० जनाले ओलम्पिक खेलमा स्वयमसेवाको लागि दिएको आवेदन फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment