Comments Add Comment

प्रधानमन्त्री कप ब्याडमिन्टनमा रत्नजित पराजित

३० माघ चितवन । नेपाली ब्याडमिन्टनका पहिलो वरियताका खेलाडी रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् ।

क्वार्टरफाइनल प्रवेशका लागि शुक्रबार भएको पुरुष एकल स्पर्धामा नेपाली सेनाका रत्नजित सेनाकै हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट लागेका तामाङ चन्दसँग २१–१६, १३ –२१, १२ –२१ ले पराजित भएका हुन् ।

पुरुष युगलको स्पर्धालाई महत्व दिएर एकल स्पर्धामा जोड नगरेको रत्नले प्रतिक्रिया दिए । पुरुष एकलमा जोड दिंदा अझ बढी चोट ब्यहोर्नु पर्ने भएकाले आफूलाई सुरक्षित राखेको उनको भनाइ छ ।  उनी यसअघिका दुई एकल स्पर्धामा युवा खेलाडी प्रिन्स दाहालसंग पराजित भएका थिए ।

चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मिति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपीएफका प्रिन्स दाहाल, भोजपुरका विकास श्रेष्ठ, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङका सुदीप सेढाई, सेनाका रुकेश महर्जन र एपीएफका दीपेश धामी रहेका छन् ।

यु-१७ ब्वाइजतर्फ सेनाका भोजबहादुर गुरुङ, दाङका हिमांशु कवार मगर, कपिलवस्तुका रोहित बराल, सेनाका आयुष्मान नागरी, दाङका सुरज गुप्ता, सेनाका हिमाल चन्द, कञ्चनपुरका विवेक चौधरी र सुर्खेतका नरेन्द्र बमले पनि अन्तिम ८ मा स्थान बनाए ।

राष्ट्रिय वरियताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ ।

यस्तै साइनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र ईन्द्र महतोको जोडी, एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडी, कास्कीका भुगोल गुरुङ र विशाल खड्का, एपीएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साइनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोजबहादुर गुरुङ र दिवश शंकर जोडी पनि क्वार्टरफाइनल प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment