Comments Add Comment

चीनले नेपालसँग कम्युनिष्ट पार्टीको परिवार जस्तो व्यवहार गर्‍यो : श्याम शरण

२ फागुन, काठमाडौं । भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालसँग चीनले कम्युनिष्ट पार्टीको परिवारसँग जस्तो गरी व्यवहार गरेको बताएका छन् ।

नेपालका लागि पूर्व भारतीय राजदूतसमेत रहेका शरणले नेपालमा बढ्दो चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधिलाई भारतले होसियारीपूर्वक हेर्नुपर्नेसमेत बताए ।

भारतको दि प्रिन्ट अनलाइनसँगको एक भिडियो अन्तर्वार्तामा श्याम शरणले भने,‘नेपालको राजनीतिक घट्नाक्रममा हस्तक्षेप गर्न चीनले नेपालमा पार्टीको डेलिगेसन पठायो । उनीहरुले नेपालसँग कम्युनिष्ट पार्टीको परिवारसँग डिल गरेजस्तो कम्युनिष्ट पार्टीको लियाजन विभागबाट एक टिम नेपाल पठाए ।’

तर यस विषयमा कसैको ध्यान नपुगेको उनको भनाइ थियो । शरणले चीनले नेपालसँग राज्य–राज्यको बीचमाजस्तो व्यवहार गर्नुपर्ने बताए ।

उनले अगाडि भनेका छन,‘पहिलोपटक स्पष्ट रुपमा हामीले के देख्यौं भने चीनले केही हदसम्म यसरी प्रोजेक्ट गर्न खोज्यो कि सम्बन्ध पार्टी र पार्टीको बीचमा रहेको छ जुन वास्तवमा राम्रो संकेत होइन ।’

शरणले अन्य मुलुकसँग राज्य– राज्य तहमा सामान्य सम्बन्ध कायम राख्न चाहने चीनले नेपालमा त्यो भन्दा फरक सम्बन्ध रहेको देखाउन खोजेको र त्यसलाई भारतले नजिकबाट हेर्नुपर्ने समेत बताए ।

उनले नेपालको पछिल्लो राजनीतिक अवस्था एकदमै तरल रहेको र भारतको नीति केही दुविधामा रहेको समेत बताए ।

शरणले नेपालमा पछिल्लो समय राजतन्त्रवादी र हिन्दुवादीहरुले आफ्नो गतिविधि बढाएको समेत उल्लेख गरे । उनले भनेका छन्,‘राजतन्त्र पक्षधरको भावनामा पछिल्लो समयमा केही वृद्धि भएको छ , केही समय अगाडि राजतन्त्र फर्काउन काठमाडौंमा ठूला प्रर्दशनहरु भएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment