Comments Add Comment

क्यान्सर पीडित बालबालिकासँग रमाए गायक बुद्धिसागर

३ फागुन, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल अस्पतालको बाल तथा युवा क्यान्सर रोग विभागमा आइतबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा एक कार्यक्रम आयोजना भइरहेको थियो । कार्यक्रममा लोकगायक बुद्धिसागर बस्याल टुप्लुक्क आइपुगे ।

उनी अघिल्ला बर्षमा पनि पुगेर क्यान्सर पीडित बालबालिकासँग गीत गाएर रमाउँथे । बालबालिकासँग खेल्थे, उनीहरुमा उर्जा भर्थे । क्यान्सर पीडित बालबालिका उनीसँगै नाच्थे, सँगसँगै गीत गाउँथे । यसपटक पनि उनलाई ती बालबालिकाको याद आयो ।

गायक बस्यालले आफ्नो चर्चित गीत डाँफे नाचेर, फूल कहाँ फूल्छ र हाँगा भाँँचेर…..गाउन थाले । उनको गीतमा नाच्न थाले क्यान्सर पीडित बालबालिका । एकैछिन भए पनि त्यहाँको माहौल रमाइलो बन्यो ।
अस्पतालको वार्डमा अहिले भर्ना भएका २८ जना क्यान्सर पीडित बालबालिका छन् । अधिकांश रगतको क्यान्सर भएर उपचार गरारहेका छन् । रगतको क्यान्सर भएका बालबालिका कम्तीमा पनि ४÷५ महिनासम्म अस्पतालमा नै रहने गर्छन् ।

उनीहरुका लागि अस्पताल नै घर जस्तो बन्छ । केमोथेरापीले गर्दा कपाल झरेका बालबालिकाहरु विद्यालय जाने खेल्ने उमेर र समयमा अस्पतालमा नै बसिरहेका छन् । उनीहरुलाई भुलाउन, केही उर्जा थप्न र रमाइलो गराउन आफू यहाँ सम्भव भएसम्म आउने गरेको गायक बस्यालले बताए ।

‘एकछिन भए पनि गीत संगीतका माध्यमबाट भित्रैबाट बालबालिकालाई उर्जा दिन यहाँ आउन र सम्झन मन लाग्छ’ गायक बस्यालले भने । अस्पतालका उपकार्यकारी निर्देशक एवम् विभागका प्रमुख डा. कृष्णसागर शर्माले दिवसका अवसरमा अस्पतालमा उपचाररत बालिबालिकाहरुलाई चकलेट तथा चप्पल बाँडेर हौसला प्रदान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment