Comments Add Comment

भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको खबर आएपछि धेरैले निर्मला प्रकरण सम्झिए । स्थानीय, नागरिक समाज, राजनीतिक दल सबैले राज्य संयन्त्र र खासगरी प्रहरीलाई खबरदारी गरे, ‘निर्मला पन्त प्रकरणको नियति नहोदोहोरियोस् ।’

प्रहरीले पनि घटना भएको १४औं दिनमा अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भागरथी अध्ययन गर्ने विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट पक्राउ परेका हुन् । उनले कसुर स्वीकार गरेका छन् ।

जबकी, भागरथी घर नआएपछि उनकी आमाले दिनेशलाई नै छोरीबारे सोधेकी थिइन् । घटनाबारे बुझ्न गाउँमा पुग्नेहरुलाई भागरथीकी आमाको घरसम्म देखाइदिने मात्र होइन, घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा पनि दिनेश सक्रिय थिए ।

त्यसो भए भागरथीको हत्यामा संलग्नको खोजीमा जुटेको प्रहरी दिनेशसम्म कसरी पुग्यो त ?

प्रहरीका अनुसार यो घटनाको अनुसन्धान भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालय र शव भेटिएको स्थल लवलेक सामुदायिक वनबाट थालिएको थियो ।

अनुसन्धान अधिकृतको एउटा टोली विद्यालयमा केन्द्रित भएर सोधपुछ गरिरहेको थियो भने अर्को भागरथीको शव भेटिएको आसपासको क्षेत्रमा आएका सवारीसाधन र हिँडेका व्यक्तिबारे खोजी गरिरहेको थियो । घटना भएको दिन बुधबार २१ माघमा भट्ट नियमित समयभन्दा अगावै विद्यालयबाट निस्किएकी थिइन् । ‘उनीहरुमाथि शंका गर्नुपर्ने आधारहरु फेला परिसकेका थिएनन्, तर नजरअन्दाज गरिहाल्न पनि मिलेन’, एक अधिकृत भन्छन् ।

अनुसन्धान थालेको तेस्रो दिन प्रहरीले विद्यालयबाट कक्षा ११ मा पढ्ने दिनेश भट् पनि भागरथी निस्किएकै आसपासको समयमा हिँडेको थापा पायो । प्रहरीले भट्टलाई बोलाएर सोधपुछ गर्‍यो । ‘एक्कासी सोधपुछ गर्दा कोही त्यसै डराउँछन्, त्यसैले तारेखमा राखेर छाड्यौं’, अनुसन्धानमा खटिएका अधिकृतहरु भन्छन् ।

दैनिक कार्यालय बोलाउने र छाड्ने भइरहेकै थियो । त्यसक्रममा हुने सोधपुछमा उनका बयान बाझिन थाल्यो । तर थप दुई जना शंकास्पद व्यक्ति भेटिएपछि प्रहरी अलमलमा पर्‍यो । तर जब शंका गरिएका व्यक्ति अनुसन्धानबाट ‘रुल आउट’ हुँदै गए, मंगलबार अनुसन्धान अधिकृतले पुनः भट्टलाई बोलाए ।

भट्टबाट प्रहरीले एउटा प्रश्नको चित्तबुझ्दो जवाफ पाएको थिएन, जसले उनीमाथि शंकालाई बलियो बनाएको थियो । भट्ट घटना भएका दिन विद्यालयबाट करिब १ः४५ बजे निस्किएको अनुसन्धान अधिकृतको अनुमान थियो । भागरथी साथीहरुसहित विद्यालयबाट निस्किएको समय पनि त्यही आसपास हो ।

स्कुलबाट सँगै निस्किएका भट्टका साथीहरु खोचलेक बजारमै बसे, उनी भने चुडेपानीतिर लागे । उनको भागरथीको भेट सिल्ला गाउँमा भएको पाइएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार त्यहाबाट भट्ट आधा घन्टामा घर पुग्नुपर्ने थियो । तर घटनास्थल नजिकै एक जना महिलाले उनलाई ३ः२५ मा लवलेक चौकी नजिकै देखेको बयान दिएकी थिइन् । फेरेन्सिक जाँचले पनि भागरथीको दिउँसो २ देखि ३ बजेको बीचमा हत्या भएको संकेत गरेको थियो ।

‘घटना अगाडि र पछाडि दुवै उनको अपराधस्थल वरपर उपस्थिति देखिनु नै शंकाको मुख्य आधार हो’, अनुसन्धानमा खटिएका एक अधिकृतले सुनाए, ‘घटनामा संलग्न नभए पनि उनले केही देखेको हुनुपर्छ भन्ने प्रारम्भिक बुझाइ थियो ।’

अनुसन्धानका क्रममा दुई परिवारबीच बैमनश्यता भएको खुलेपछि उनीमाथि प्रहरीको शंका बढ्यो । विद्यालयका शिक्षक र उनका साथीहरुलाई सोधपुछ गर्दा आक्रामक स्वभावको व्यक्ति भएको खुलेको जिल्ला प्रहरी कार्यालय, बैतडीका एक अधिकृतले बताए ।

घटना भएको दिन भट्टले विद्यालयबाट कक्षा छाडेर आएको कुरा घरमा पनि भनेका थिएनन् । शंका गर्नुपर्ने आधारको जवाफ खोज्दै जाँदा बयान पनि फरकफरक आउन थालेको अनुसन्धानमा खटिएकाहरु बताउँछन् । त्यसपछि प्रहरीले उनलाई सत्य कुरा बताए सजाय कम गर्न सहयोग गरिदिने जस्ता आश्वसन दिन थाले ।

अन्ततः मंगलबार राति १० बजेतिर उनले भट्टको हत्या गरेको स्वीकारे

यो पनि पढ्नुहोस दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !

घचेटेर लडाएपछि हत्या

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताएअनुसार भट्ट अन्तिम कक्षा नपढी निस्किएका थिए । ‘भागरथीभन्दा अगाडि दिनेश जंगल भएतिर गएर कुरेर बसेको पाइएको छ’, उनले अनलाइनखबरसँग भने, ‘भागरथी आइपुग्ने वित्तिकै उनलाई सडकबाट तल झाडीतिर धकेलेको पाइएको छ ।’

शव भेटिएको स्थान ।

प्रहरीलाई दिएको बयानका उनले यो खुलाएका छन् । ‘लडेपछि उनको कपडा फुकालेर हेर्दा रगत देखेपछि घाँटी थिचेर हत्या गरेको हुँ’, भट्टको बयानलाई उदृत गर्दै प्रहरीले भनेको छ । हत्या गर्ने वित्तिकै उनले भागरथीको मोबाइलबाट ब्याट्री निकालेर फ्याकेको पनि पाइएको डीआईजी सुुवेदी बताउँछन् । लोकेशन थाहा नहोस् भन्ने उनको सोचाइ हुनसक्ने प्रहरीको आशंका छ । मोबाइल फ्याँकेपछि भने उनी घरतिर पाइएको प्रहरी बताउँछ ।

भोलिपल्ट भागरथीको शव भेटियो । भट्ट पनि त्यही थिए । बलात्कारपछि हत्या भएको आशंकामा प्रदर्शन सुरु भयो । शव भेटिएको भोलिपल्ट प्रहरीले धनगढीबाट लगेको तालिम प्राप्त कुकुर घटनास्थलमा पुर्‍याउँदा भट्ट चाहिँ गोठालो गएका थिए । भोलिपल्टबाट भने उनी प्रदर्शनमा सहभागी भएको पाइएको छ ।

५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमको प्रतिवेदनमा भने भट्टको बलात्कारपछि हत्या भएको भनिएको छ । तर, भट्टले बयानमा बलात्कार गरेको स्वीकारेका छैनन् ।

‘भट्टको अझै बयान लिन र अन्य प्रमाणको परीक्षण गर्न बाँकी नै छ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘त्यसैले सबै अनुसन्धानपछि मात्रै विस्तृत विषय खुल्छ ।’

प्रहरीले थप अनुसन्धानका लागि भट्टलाई ५ दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत, बैतडीबाट पाएको छ । यो अवधिमा अन्य प्रमाणहरुको पनि विश्लेषण हुने भनिएको छ । त्यसो त प्रहरीले भट्टको भजाइनल स्वाबलाई पनि परीक्षणका लागि सामाखुशीस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ, त्यसबाट पनि बलात्कार भए/नभएको खुल्न सक्छ ।

हालै भागरथीको दाइ केशव भट्टले दिनेशविरुद्ध किटानी जाहेरी दिएका छन् ।

नाबालक पुष्टि भए घट्नेछ सजाय

मुलुकी अपराध संहितामा जबरजस्ती करणीपछि हत्या गर्ने व्यक्तिलाई जन्मकैद सजायको व्यवस्था गरिएको छ । करणी सम्बन्धी कसूरमा १६ वा सोभन्दा बढी १८ वर्षसम्मको पीडित भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

संहिताको दफा ४५ मा दोषी १६ देखि १८ वर्षभन्दा उमेरको भए दुई तिहाइ सजाय कम हुने भनिएको छ । हाल दिनेश नाबालक रहेको भनिएको छ । यद्यपि, किटानी जाहेरीमा १८ वर्ष भनिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह भन्छन्, ‘उनको उमेर प्रमाणिकरण गर्न विद्यालयमा पत्र लेखेका छौं, त्यसकै आधारमा रायसहितको प्रतिवेदनमा उल्लेख गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment