Comments Add Comment

४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

६ फागुन, काठमाडौं । यातायात व्यवसायीहरुले तेल र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् । सरकारले एक सातामै दुई पटक तेलको मूल्य बढाएपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।

तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ । एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ कम्तिमा ३० दखि ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने अवस्था रहेको बताउँछन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै सकेसम्म व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गर्न नभए भाडा बढाउन विभागलाई भनिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘डिजेलको मूल्य ७१ रुपैयाँ हुँदा भाडा समायोजन भएको थियो, अहिले सय रुपैयाँ नजिक पुगिसक्यो,’ उनले भने,’राष्ट्र बैंकको मूल्यवृद्धिको आँकडालाई हरेर यसपटक वैज्ञानिक समायोजन गर्दा ३०देखि ४० प्रतिशतसम्म भाडा बढ्नुपर्छ ।’

उनले ढुवानी गर्दा लाग्ने खर्च बढेकाले भाडा बढाउनै पर्ने अवस्था आएको बताए । सरकारले तोक्ने भाडामा व्यवसायीले प्रतिस्पर्धा गर्ने भन्दै अध्यक्ष श्रेष्ठले तोकिएको भन्दा बढी भाडा नलिने अवस्था बनाउन पनि भाडा बढाउन आवश्यक रहेको बताए ।

अब सरकारले सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको भनाइ छ । सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो ।

यसअनुसार तेलको मूल्यलाई ३५ प्रतिशत अंक भार दिएर लुबि्रकेन्ट, टायर, मर्मत शुल्क लगायतलाई ६५ प्रतिशत अंकभार दिएर सवारीको भाडा समायोजन गर्न सकिने व्यवस्था गरेको थियो । तर, सरकारले त्यसपछि दुईपटक मूल्य समायोजन गर्न तेलको मूल्यलाई मात्रै आधार बनाएर भाडा बढाएको थियो ।

पछिल्ला वर्ष तेलको मूल्य घट्दा पनि आयल निगमले उच्च नाफा राख्दा सवारीको भाडा घट्न सकेको थिएन । तर, कोभिड- १९को महामारी साम्य हुँदै गाएपछि तेलको मूल्य फेरि बढ्न थालेको छ । सरकारले गएको पुस १६ गते, माघ ५ गते, माघ २८ र फागुन ४ गते लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो ।

‘महामारीको मारमा परेको व्यवसायलाई थप थिलोथिलो बनाउने गरी पटक-पटक भएको तेलको मूल्यवृद्धिको भार थेग्न सकिने अवस्था नै छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन् ।

आफूहरु यात्रुलाई सुलभ दरमा सेवा दिन तयार भएपनि सरकारले उचित वातावरण बनाउनुको सट्टा बिगार्ने काम गरिरहेको व्यवसायीको भनाइ छ ।

‘महामारीमा परेका सर्वसाधाराण जनता र पेशा व्यवसाय गर्नेमाथि पटक-पटक भइरहेको मूल्यवृद्धिले मार पारिरहेको छ,’ उनले भने,’यो बेलामा सरकारले मनलाग्दी तवरले गरेको मूल्यवृद्धिले यातायात व्यवसाय पनि थला पर्ने अवस्था आयो ।’

उनले पेट्रोलियम डिलर्सलाई बढाएको कमसिनको भार समेत आफूहरुको काँधमा थोपरेर सरकारले उपभोक्तामाथि अन्याय गरेको बताए । निगमले पेट्रोल पम्पहरुको कमिसन बढाएर त्यसको भारत उपभोक्तामाथि थोपरेको थियो ।

यातायात व्यवस्था विभागले भने व्यवसायीले भन्ने बित्तिकै भाडा नबढ्ने बताएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भाडा बढाउनेबारे अहिलेसम्म कुनै छलफल र तयारी नभएको बताए । ‘व्यवसायीले भन्नेबित्तिकै कहाँ भाडा बढिहाल्छ त ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment