Comments Add Comment
साताको बजार :

मासुको मूल्य बढ्यो, खाद्यान्न र तरकारीको भाउ के भयो ?

७ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारी र चामलको मूल्य केही घटेको पाइएको छ । व्यापारीहरुले एकलौटी रुपमा बढाएको चामलको भाउ प्रतिकिलो ५ रुपैयाँले घटेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । यस्तै हरियो तरकारीको भाउ कम्तिमा ४ देखि बढीमा ३५ रुपैयाँले प्रतिकिलो मै घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ ।

यो साता धेरै जसो हरियो तरकारीहरुको मूल्य घटेको तथा स्थिर छ । मसलाजन्य तरकारीको मूूल्यमा पनि गत साता भन्दा खासै मूल्य फरक छैन  । यो साता खसी र बोइलर कुखुराको मासुको मूूल्य बढेको छ भने अण्डाको मूल्य भने घटेको छ । दशैं अघिदेखि निरन्तर बढेको खाने तेलको मूल्यमा यो साता कुनै करेक्सन देखिएको छैन् । दैनिक उपभोग्य खाद्यन्नको बजार सन्तुलन राख्नेगरी यो साता पनि सरकारी अनुगमन खासै भएको छैन् ।

वाणिज्य विभाग, जिल्ला प्रशासन र हरेक स्थानीय तहलाई बजार अनुगमनको अधिकार भएपनि उपलब्धिपूर्ण बजार अनुगमन यो साता हुन सकेन । नवलपरासी बर्दघाट नगरपालिकाका किसानले उब्जनी गरेको गोलभेडा नबिकेको भन्दै नगरपालिकाको कार्यालयमा पोखेको समाचारले भने यो साता किसानलाई दुखी तुल्यायो ।

चामलको मूल्य घट्यो, तेलको यथावत

यो साता प्रमुख खाद्यान्न चामलको मूल्य किलोमा ५ रुपैयाँले घटेको छ । केहि साता अघि मात्रै प्रतिकिलो १० रुपैयाँले बढाएर ५६ बाट ६६ पुर्‍याईएको जिरा मसिनो चामको मूल्य ६१ रुपैयाँमा झरेको नेपाल खुद्रा व्यापार संघका सदस्य ध्रुव अधिकारीले जानकारी दिए । गत साता १ हजार ६५० रुपैयाँ बोरासम्ममा बिक्री भएको उक्त चामलको मूल्य अहिले १ हजार ५५० सम्ममा झरेको छ । अचाक्ली बढाएर उपभोक्ताको ढाड सेकेको तेलको मूल्यमा कुनै यो साता पनि कुनै बदलाव देखिएको छैन् । दाल तथा केराउको मूल्य भने यो साता घटबढ भएको छैन् ।

तरकारीमा अधिकांशको मूल्य घट्यो

दैनिक भान्सामा प्रयोग हुने प्रमुख १० प्रकारका हरियो तरकारीहरुमध्ये अधिकांशको होलसेल मूल्य घटेको पाइएको छ । ब्रोकाउलीको बजार मूल्य यो साता किलोमै ३५ रुपैयाँले घटेको छ ।

यस्तै तराईको काउली, विभिन्न प्रकारका साग, गोलभेडा जस्ता तरकारीको मूूल्य पनि घटेको छ । यो साता भारतीय रातो आलु र घिउसीमीको मूल्य भने केही मात्रामा बढेको बजार विकास समितिले जनाएको छ ।बर्ड फ्लूको त्रास कायमै, तर घटेन ब्रोइलरको मूल्य

बर्ड फ्लूको त्रासका कायमै रहेपनि यो साता बोईलर कुखुराको मासुको मूल्य बढेको छ । गत साताको तुलनामा किलोमा १० रुपैयाँले बोईलरको मासुको मूल्य बढेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । साताभर राँगा र बुंगुरको मासुको मूल्य स्थिर रहृयो भने खसीको मासुको मूल्य किलोमा एक सय रुपैयाँले बढेको संघका अध्यक्ष रमेश खड्गीले बताए ।

उनका अनुसार यो साता खसीको मासुको मूल्य किलोमा १३ सय रुपैयाँ पुगेको छ । बजारमा सबैभन्दा धेरै बिक्री हुने रहु माछाको भाउ प्रतिकिलो १० रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको छ ।

यो साता अण्डारको मूल्यमा पनि गिरावट आएको छ ।  नेपाल अण्डा उत्पादक संघले ठूलो अण्डा फार्म दर प्रतिक्रेट ३२५ र मध्यम ३०० रुपैयाँ बनाएको हो । अब प्रतिगोटा अण्डाको मूल्य ठूलोको ११ र मध्यम तथा सानोको १० रुपैयाँमा झरेको छ  ।

भान्सामा अपरिहार्य मसलाजन्य उत्पादनहरु मध्ये यो साता हरियो लाम्चे खुर्सानी र हरियो लसुनको मात्रै भाउ बढेको छ । हरियो धनियमा, सुकेको लसुन, सुकेको प्याज र अदुवाको भाउ गत साता कै जस्तै स्थिर रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । हरियो लाम्चे खुर्सानी र हरियो लसुनको प्रतिकिलो थोक मूल्य किलोमै २० रुपैयाँले घटेको समितिले जनाएको छ ।फलफूल बजार मूल्य स्थिर

अहिले बजारमा कालो र हरियो अंगुरको सिजन चलेको छ । यो साता थोक बजारमा अंगुरको सिजन चलेको छ र यसको मूल्यमा खासै घटबढ देखिएको छैन । ।

बजारमा भारतीय सुन्तला भित्रिएको छ र त्यसको असर सिजन सकिदैं गएको स्वदेसी सुन्तलामा परेको छ । यो साता झोले स्याउ र सुन्तलाको मूल्य १० रुपैयाँ किलामा सस्तिएको छ भने फुजी स्याउ किलोमा २० र भुईंकटहर प्रतिगोटा २० रुपैयाँले महँगो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment