
९ फागुन, विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले रोक्नु पर्ने बताएका छन् । प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले रोक्नु पर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिएको भन्दै आपत्ति जनाए । ‘शासक पागल जस्तै हुनसक्छन्, रोक्ने काम अदालतको हो,’ उनले भने, ‘ न्यायाधीसहरुले धम्की सामु खुट्टा नकमाई संविधानको व्याख्या गर्नुपर्छ ।’
अदालतले ओलीको कदमलाई सदर गरे अहिलेको गणतान्त्रिक व्यवस्था नै सकिने बताए । ‘अदालत सक्षम भनेर दुनियालाई सन्देश दिनुपर्छ,’ उनले भने, ‘संविधानको रक्षा गर्ने अदालतका लागि यो एतिहासिक अवसर पनि हो ।’
ओली नेतृत्वको सरकारले राज्य आतंक सुरु गरेको उनको भनाइ थियो । विराटनगरसभामा प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा अदालतले फैसला नगरे आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमूना भएको उनले बताए ।
‘अदालतलाई धम्क्याउने, अख्तियार कब्जा गर्ने, लोकसेवा कब्जा गर्ने, सर्वसत्तावादी शैली ओलीले देखाउनु भएको छ,’ उनले भने, ‘यस्तो कदमको भर्त्सना गर्छौं र कांग्रेस यसको विपक्षमा उभिने प्रष्ट पार्दछौं ।’
प्रतिक्रिया 4