Comments Add Comment

कौसीबारीमा तरकारी लगाउने बेला भयो, बिउ रोप्ने कि बिरूवा ?

तस्वीर: कौसीबारी अभियानबाट

काठमाडौं । करेसाबारीमा तरकारी लगाउने सिजन सुरु भएको छ । फागुन महिनाको अन्तिम वा चैतको पहिलो हप्तादेखि सहरी भेगमा घरको कौसीमै पनि अर्गानिक तरकारी लगाउन चाहनेहरूलाई अब तयारी सुरु गर्न कौसी खेतीसम्बन्धी जानकारहरू सुझाव दिन्छन् ।

कौसीमा खेती गर्न चाहनेहरूले अबको एक/डेढ हप्तापछि करेसाबारीमा बिउ राखेर वा सिधै बिरुवा नै लगाएर पनि तरकारी फलाउन सक्ने अभियान एग्रोका सञ्चालक सुभाष पण्डितले जानकारी दिए ।

अहिले बिहान बेलुकाको समय जाडो नसकिइसकेकोले बिउ राखेर उमार्नेतिरभन्दा पनि सिधै बिरुवा सार्न सकिने सुझाव उनको छ । अहिले बिरुवा लगाउने हो भने डेढ महिनामा तरकारी उत्पादन भइसक्छ । सिमीजस्ता फलहरू फल्नको लागि थप केही समय लाग्छ ।

पण्डितका अनुसार अहिले लौका, घिरौला, काँक्रो, करेला, गोलभेँडा, भेँडे खुर्सानी, किबी, बोडी, साग आदि राख्न सकिन्छ । पण्डितका अनुसार बिउ राख्नेहरूले फागुनको पहिलो वा दोस्रो सातामा नै राखिसकेका छन् । तिनै बिउबाट बिरूवा हुर्किएपछि  कौसीमा उचित मलको प्रयोग गरेर सार्न सकिन्छ । काठमाडौंका विभिन्न ठाउँमा यस्ता बिरूवाहरू किन्न पाइन्छ ।

कौसीखेती गर्ने क्रममा छतमा धेरै गह्रौं‌‌ वस्तु राख्न नचाहनेहरूलाई माटोको विकल्पमा कोकोटिक (नरिवलको जटा)को प्रयोग पनि गर्न सकिन्छ । यो माटोको तुलनामा निकै हलुका हुने गर्छ । नरिवलको जटालाई कम्प्लेक्स गरेर एउटा इँटा जस्तो आकारको बनाइएको हुन्छ । तर यस्तोमा बेलाबेलामा कम्पोस्ट मल थपिराख्नुपर्छ । नियमित पानी माटोमा हुर्काउने बिरुवा होस् या कोकोटिकमा हुर्काउने होस् सबैमा उति नै मात्रामा राख्नुपर्छ ।

कौसीखेतीको लागि प्रयोग गरिने कोकोटिक

कोकोटिकमा तरकारी हुर्काउने हो भने त्यसको लागि एकभाग कोकोटिक राख्नुपर्छ र समय समयमा कम्पोस्ट थपिराख्नुपर्छ । बिरूवाअनुसार १५ देखि २० दिनसम्मा कम्पोस्ट थपिरहनुपर्छ । कोकोटिकमा फलाउने बिरूवाको जरा धेरैतिर फैलिएको हुन्छ ।

पण्डित छतमा बोरा होस् या त कुनै भाँडाकुँडामा पनि तरकारी फलाउन सक्ने बताउँछन् । टनेलसँगै एकीकृत रूपले मिस्रित तरकारी उत्पादन गर्ने विधि बारे पनि अभिमुखीकरण गर्ने गरिएको पण्डित बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment