Comments Add Comment

गलेश्वर मन्दिर पित्तलले छाइने

१६ फागुन, म्याग्दी । बेनी नगरपालिका-९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो ।

मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे ।

मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताए ।

शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए । पित्तलको छाना राख्न २५ लाख लागत अनुमान गरिएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ ।

गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताए । सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी दुई करोड ८६ लाख २० हजार ७२८ आम्दानी र १९ लाख ६७ हजार ८१४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषको कूल बचत दुई करोड ६६ लाख ५२ हजार ९१३ बचत रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment