Comments Add Comment

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

१६ फागुन, काठमाडौं । यती समूहका तत्कालीन प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यही फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ । यती एयरलान्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिने प्रतियोगिता हुने भएको हो ।

यती समूहका संस्थापक एवं पर्यटन व्यवसायी स्वर्गीय शेर्पाको दोस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । ‘पर्यटन व्यवसायी स्वर्गीय शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’ उनले भने ।

यती एयरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदूरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलमा प्रतियोगिता गर्दै लैजाने योजना बनाएको छ । उक्त प्रतियोगितामा रजिस्ट्रेसन शुल्कमार्फत संकलन भएको रकम सोही समयमा नै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ ।

प्रतियोगितामा विनर र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विनर र रनरअप, भेट्रानतर्फका विजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै ५ लाख बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती ग्रुपद्वारा सञ्चालित कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।

जसमा एयर डाइनेस्टी, हिमालय एयरलाइन्स, यती एयरलाइन्स, तारा एयर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एण्ड डाउनी रहेका छन् । प्रतियोगिताको मुख्य आयोजकको रुपमा यती एयरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् ।

यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ साल फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । स्वर्गीय शेर्पालाई गल्फमा विशेष रुचि र लगाव थियो । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा स्वर्गीय शेर्पाको महत्वपूर्ण योगदान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment