Comments Add Comment

ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा, एक वर्षदेखि सट्टा दर्ता बन्द

१७ फागुन, काठमाडौं । संघीय सरकार र प्रदेश सरकार बीच तालमेल नमिल्दा ट्याक्सीको नयाँ मापदण्ड उल्झनमा परेको छ । यातायात व्यवस्था विभागले २०७६ मंसिर २ गते जारी गरेको नयाँ मापदण्ड अझै लागू हुन सकेको छैन ।

यसले गर्दा एक वर्षदेखि ट्याक्सीको सट्टाभर्ना रोकिएको छ । २० वर्ष आयु पुगेका दर्जनौं ट्याक्सी धनीले नयाँ मापदण्डअनुसार ट्याक्सी किन्न नक्सने भन्दै पुरानै मापदण्डअनुसार ट्याक्सीको सट्टाभर्ना दिन निवेदन दिएका छन् ।

तर, साना ठूला सवारी कार्यालय एकान्तकुनाले संघीय सरकारले बनाएको मापदण्ड कार्यान्वयनमा ल्याउन बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट निर्देशन प्राप्त हुनुपर्ने बताउँदै आएको छ । यो कार्यालय प्रदेश सरकार मातहत छ ।

कार्यालयका प्रमुख नेत्रप्रसाद भट्टराई मन्त्रालयलाई यसबारे जानकारी गराएर मापदण्ड लागू गर्ने/नगर्ने बारे सोधिएपनि जवाफ प्राप्त नभएको बताउँछन् । कार्यालयले नयाँ मापदण्डबाट अन्योल उत्पन्न भएको बताउँदै सट्टादर्ता रोकेको छ ।

नयाँ मापदण्डअनुसार पेट्रोल इन्जिन भएको गाडीलाई ट्याक्सीका रुपमा दर्ता गर्ने हो भने १२ सय सीसीको सेडान गाडी हुनुपर्छ । विद्युतीय गाडी किन्ने हो भने लिथियम आयन ब्याट्री र न्युनतम् ४० किलोवाट शक्ति उत्सर्जन गर्ने क्षमता भएको सेडान कार किन्नुपर्छ ।

नयाँ ट्याक्सीमा सेन्ट्रल लकिङ, एयर कन्डिसनर (एसी), डिजिटल मिटरसहितको पि्रन्टर, एलईडी स्क्रीनसहितको जीपीएस नेभिगेसन सिस्टम अनिवार्य गरिएको छ । एसीसहितका फिचर्स थपिँदा नयाँ ट्याक्सीको मूल्य निकै बढ्नेछ । फोर स्ट्रोकसहित ३ सिलिन्डर इन्जिनको सेडान गाडीमात्रै ट्याक्सी हुन सक्छ ।

तर, यो मापदण्ड लागू गर्न प्रदेश सरकारले चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment