Comments Add Comment

आइ लिगमा जम्दै किरण चेम्जोङ, नेतृत्व र पोष्ट दुवैमा अब्बल

१८ फागुन, काठमाडौं । किरण कुरमा लिम्बु नेपाली फुटबल टिमका नम्बर वान गोलकिपर हुन् । नेपालले खेलेको विश्वकप छनोटको पछिल्लो खेलमा कुवेतविरुद्ध किरण नै कप्तानी गरेका थिए ।

उनै किरण अहिले भारतमा भइरहेको इन्डियन (आइ) लिग फुटबलमा जमिरहेका छन् । किरणले आइलिगमा पनि नम्बर वान जस्तै प्रदर्शन गरिरहेका छन् ।

१० खेल, ६ खेलमा क्लिन सिट । ३ खेलमा म्यान अफ दि म्याच । अनि टिमको नेतृत्वमा पनि अब्बल ।

किरणले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

त्यसैको नतिजास्वरुप आइलिगमा पहिलो चरणको खेल सकिँदा किरण सम्मिलित टिम राउण्ड ग्लास पञ्जाव १० खेलबाट १८ अंकसहित दोस्रो स्थानमा रहन सफल भयो ।

लिगको दोस्रो चरणमा पहिलो चरणका शीर्ष ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम खेलमा पञ्जावले नेरोका लाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो । नेरोकाबाट अर्का नेपाली खेलाडी प्रकाश बुढाथोकीले खेलेका थिए ।

नेरोकाविरुद्ध साँघुरो जित हात पारेपछि म्यान अफ दि म्याच किरणले टिमले राम्रो खेलेको र महत्वपूर्ण जित भएको बताए । ‘यो हाम्रो लागि यो प्रतिस्पर्धात्मक म्याच थियो । दोस्रो स्थानमा पुग्न जित्नैपर्ने थियो । म्याच टफ भयो । हाम्रो खेलाडीले राम्रो प्रदर्शन गरे । ९० मिनेट राम्रो खेल्यौँ र यसमा खुशी छु ।’ किरणको प्रतिक्रिया थियो ।

किरणले यस सिजन लिगमा १० खेल खेल्दा ६ खेलमा गोल हुन दिएनन् । उनी सर्वाधिक ६ क्लिनसिट राख्ने गोल किपर समेत हुन् ।

लिगमा पत्र्जाव सबैभन्दा कम गोल वेहोर्नेमा दोस्रो स्थानमा रह्यो । पञ्जावले अवधिभर पञ्जावले ७ गोल व्यहोर्‍यो । चर्चिल ब्रदर्सले ६ गोल मात्र व्यहोरेको थियो ।

यसअघि पनि किरणले दुई सिजन पञ्जावी टिमबाट खेलिसकेक । सन् २०१७-१८ मा किरण खेल्दा मिनेर्भा पञ्जावले आइ लिगको उपाधि जितेको थियो । पछिल्लो सिजन भने पञ्जावको प्रदर्शन खासै राम्रो हुन सकेन ।

यस सिजन किरण र पञ्जाव दुवैले राम्रो खेलिरहेको छ । जसमा किरणले उत्कृष्ट प्रदर्शन गरेका छन् । पोष्टमा अब्बल देखिएका किरणले टिमलाई पनि सही नेतृत्व दिएका छन् ।

यो पनि पढ्नुहोस थप नेपाली खेलाडीले आई लिग खेलेको हेर्न चाहन्छु : किरण चेम्जोङ

नियमित कप्तान विक्रम जित सिंहको अनुस्थितिमा किरणले नै कप्तानी आर्मब्याण्ड लगाएर नेतृत्व गरेका छन् । किरणले विपक्षी स्ट्राइकरको प्रहारलाई धरै पटक विफल पारेका छन् । टिमलाई हसी नेतृत्व प्रदान गरेका छन् ।

यस पटक नेपालबाट तीन खेलाडीले आइ लिग खेलेका छन् । जसमा किरणले सुरुवात देखि नै खेले । अन्य दुई खेलाडी अभिषेक रिजाल र प्रकाश बुढाथोकी भने ढिला आबद्ध भएको लिगको पछिल्लो खेलमाहरुमा मात्र खेले ।

केही समयअघि किरणले भारतीय लिग दक्षिण एसियामा उत्कृट रहेको बताउँदै नेपालबाट अरु खेलाडीले पनि खेलेको हेर्न चाहेको बताएका थिए ।

अभिषेक रिजालले आइजवाल एफसी र प्रकाश बुढाथोकीले नेरोकाबाट खेले । तर दुवै खेलाडी सम्मेलित टिम शीर्ष ६ मा पर्न सकेन ।

अब किरण आबद्ध पञ्जावले दोस्रो चरणमा शीर्ष ६ मा परेका अन्य क्लबसँग १-१ खेल खेल्नेछ । जसमा पहिलो चरणको अंक पनि जोडिनेछ । त्यसपछि बढी अंक जोड्ने क्लब च्याम्पियन हुनेछ । शीर्ष स्थानको चर्चिल ब्रदर्सले अपराजित रहँदै २२ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment