Comments Add Comment

सोमपाल, करण र कुशलले काठमाडौं मेयर कप खेल्ने

१९ फागुन, काठमाडौं । टी-१० लिग खेल्न जाँदा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता गुमाएका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले त्रिभुवन आर्मीबाट ‘काठमाडौं मेयर कप-२०७७’ क्रिकेट खेल्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले यही फागुन २२ देखि मेयर कप आयोजना गर्दैछ । जसमा आर्मीसहित ५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

आर्मी क्बलका कप्तान विनोद भण्डारीले सोम, करण र कुशलले मेयर कप खेल्ने पुष्टि गरे ।

प्रधानमन्त्रि कप हुँदा फास्ट बलरद्वयसोमपाल र करण तथा अलराउण्डर कुशल यूएईमा थिए ।

यी तीन खेलाडी नहुँदा आर्मीले प्रधानमन्त्री कपमा लोकेश बम र आकाश चन्दलाई टिममा अनुबन्ध गर्दै खेलाएको थियो । तीन खेलाडी बिना नै आर्मीले प्रधानमन्त्री कपको उपाधि जितेको थियो । आर्मीले फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

युएईमा भएको चौथो संस्करणको टी-१० लिगमा सोमपालले मराठा अरेबियन्स, करणले पुने डेभिल्स र कुशलले टीम आबुधाबीबाट खेलेका थिए । सोमपालले ६ खेल खेल्दा ३ विकेट लिए । करणले पनि ६ खेलमा १ विकेट लिए । उनले क्रिस गेलको विकेट लिएका थिए । यस्तै अन्तिम खेलमा मात्र मौका पाएका कुशले टिम आबुधाबीका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्दै १८ रन बनाएका थिए ।

मेयर कपका लागि अहिले ट्रेनिङ भइरहेको र तीन खेलाडीको आगमनले टिम सन्तुलित हुने विकेटकिपर समेत रहेका विनोदले बताए । ‘भक्तपुर आर्मी ग्राउण्डमा ट्रेनिङ भइरहेको छ । सोम करण र कुशल टिममा आएका छन् । मेयर कपको लागि टिममा परिवर्तन हुनेछ ।’ भण्डारीले भने ।

प्रधानमन्त्री कपमा १४ खेलाडीको टिम थियो । मेयर कपमा एक टिममा १५ जना हुनेछ ।

काठमाडौं मेयर ११ को यसअघि नै १५ सदस्ययीय टिम घोषणा भइसकेको छ । जसमा प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेको बागमती प्रदेशबाहेक बाँकी ६ प्रदेशका उत्कृष्ट खेलाडीहरु समावेश छन् ।

मेयर कप फागुन २२ देखि फागुन २९ गतेसम्म सञ्चालन हुनेछ । सहभागी पाँच टोलीले सिंगलराउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । आर्मीले पहिलो दिन टीयू क्रिकेट मैदानमा एपीएफसंग खेल्नेछ । यस्तै आर्मीले फागुन २४ गते टीयू मैदानमा काठमाडौं मेयर ११ सँग खेल्नेछ भने फागुन २५ गते नेपाल पुलिससँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । आर्मीले लिगको अन्तिम खेल बागमती प्रदेशसँग टीयू मैदानमा खेल्नेछ ।

प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशीको बारेमा क्यानले प्रतियोगिताअघि जानकारी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment