Comments Add Comment

अस्टन एगरले ६ विकेट लिएपछि अस्ट्रेलियाको शानदार जित

१९ फागुन, काठमाडौं । अस्टन एगरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि अस्ट्रेलियाले तेस्रो टी-२० खेलमा न्युजिल्याण्डमाथि शानदार जित हात पारेको छ ।

बुधबार वेलिङ्गटनमा भएको खेलमा ग्लेन म्याक्सवेल र एगर चम्केपछि अस्ट्रेलियाले घरेलु टोली न्युजिल्याण्डलाई ६४ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै ७० रन बनाएका थिए ।

यसअघि लगातार दुई खेल हारेको अस्ट्रेलियाले तेस्रो खेल जितेपछि पाँच खेलको सिरिज २-१ को अवस्थामा पुगेको छ ।

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७.१ ओभरमा १४४ रनमै अलआउट भयो । न्युजिल्याण्डलाई अलआउट गर्न एगरले ४ ओभरमा ३० रन खर्चेर ६ विकेट लिए । टी-२० मा एगरको यो उत्कृष्ट बलिङ फिगर हो । उनले १३औं ओभरमा ग्लेन फिलिप्स, डेभोन कनवे र जेम्स निसमलाई आउट गरेका थिए ।

यस्तै डेब्युटान्ट रिले मेरेडिथले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कन रिचर्डसन र एडम जाम्पाले समान १ विकेट लिए ।

न्युजिल्याण्डका लागि ओपनर मार्टिन गप्टिलले सर्वाधिक ४३ रन बनाए भने डेभोन कनवेले ३८ रन जोडे । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा न्युजिल्याण्ड १७ बल अगावै अलआउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान आरोन फिन्च र म्याक्सवेलको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

अर्को ओपनर तथा विकेटकिपर म्याथ्यु वेड व्यक्तिगत ५ रन बनाएर आउट भएपनि फिन्च र जोस फिलिपले इनिङ्स सम्हाले । यी दुईले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । फिलिपले २७ बल खेल्दै ४३ रन बनाए । त्यसपछि तेस्रो विकेटका लागि पिन्च र म्याक्सवेलले ६४ रनको साझेदारी गरे ।

म्याक्सवेलले ३१ बल खेल्दे ८ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाए । यस्तै फिन्चले ४४ बल खेल्दे ८ चौका र २ छक्का मद्दतमा ६९ रन जोडे ।

न्युजिल्याण्डका इश सोधीले २ तथा टिम साउथी र ट्रेन्ट बोल्टले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment