२० फागुन, काठमाडौं । आगामी शनिबारदेखि सुरु हुने काठमाडौं मेयर कप एकदिवीय क्रिकेट २०७७ का लागि त्रिभुवन आर्मी क्लबको टिम घोषणा भएको छ ।
विनोद भण्डारीको कप्तानीमा बिहीबार १५ सदस्यीय टोली घोषणा भएको हो । टी-१० लिग खेल्न जाँदा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता गुमाएका सोमपाल कामी, करण केसी र कुशल मल्ल आर्मी टिममा फर्किएका छन् ।
प्रधानमन्त्री कप खेलेका हरि कृष्ण झा र आकाश चन्द भने टिमबाट बाहिरिएका छन् ।
काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले यही फागुन २२ देखि मेयर कप आयोजना गर्दैछ । जसमा आर्मीसहित ५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
सोमपाल, करण र कुशल नहुँदा पनि आर्मीले प्रधानमन्त्री कपको उपाधि जितेको थियो । आर्मीले फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
तीन खेलाडी टी १० खेल्न जाँदा आर्मीले लोकेश बम र आकाश चन्दलाई टिममा अनुबन्ध गर्दै खेलाएको थियो । मेयर कपमा लोकेश टिममा यथावत रहँदा आकाश भने परेनन् ।
मेयर कपका लागि काठमाडौं मेयर ११ टिम र बागमति प्रदेशको टिम घोषणा भइसकेको छ । प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेको बागमती प्रदेश बाहेक बाँकी ६ प्रदेशका उत्कृष्ट खेलाडीहरु काठमाडौं मेयर ११ टिममा समावेश छन् । बागमती प्रदेशले तीन नयाँ खेलाडी टिममा राखेको छ ।
प्रधानमन्त्री कपको सेमिफाइनल पुगेका चार टिम र काठमाडौं मेयर ११ गरी ५ टिमले मेयर कप खेल्दैछ ।
फागुन २२ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी पाँच टोलीले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
आर्मीले पहिलो दिन टीयू क्रिकेट मैदानमा एपीएफसंग खेल्नेछ । यस्तै आर्मीले फागुन २४ गते टीयू मैदानमा काठमाडौं मेयर ११ सँग खेल्नेछ भने फागुन २५ गते नेपाल पुलिससँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । आर्मीले लिगको अन्तिम खेल बागमती प्रदेशसँग टीयू मैदानमा खेल्नेछ ।
आर्मी टिम
विनोद भण्डारी (कप्तान, विकेटकिपर), सोमपाल कामी, करण केसी, विक्रम सोब, कुशल मल्ल, रोहित, पौडेल, भिम शार्की, हरी चौहान, लोकेश बम, राजेश पुलामी, जितेन्द्र मुखिया, सुशन भारी, शहाब आलम, अनिल मण्डल, राजु रिजाल
प्रशिक्षक : चन्द्र सावद
म्यानेजर : राजिव चन्द
प्रतिक्रिया 4