+
+

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १९:१८

२० फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्रबहादुर खत्रीका अनुसार बास्तोलालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । ‘केही कागज तयार गर्न आज ढिला भयो, भोलि दिउँसोसम्ममा उहाँ छुट्नुहुन्छ’ उनले भने ।

चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको बताए । उनले अनलाइनखबरसँग भने ‘उहाँको मुद्दा नवलपरासीमा थियो, उपचारका लागि मात्र यहाँ राखेका थियौं ।’

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?