Comments Add Comment
पुस्तक समीक्षा :

चुल्ठो : क्रोधी कविताको संगालो

भनिन्छ, मान्छेका ज्ञानका पाँच इन्द्रियहरू हुन्छन्- आँखा, नाक,कान, जिब्रो र छाला । यी पाँचै इन्द्रियहरूले कवितालाई आत्मसात् गर्न सकिन्छ । प्रत्येक कविताको आफ्नै काया हुन्छ, जुन कायालाई आँखाले देख्न सकिन्छ । प्रत्येक कविताको आफ्नै गन्ध हुन्छ, जुन गन्धलाई नाकले सुँघ्न सकिन्छ । प्रत्येक कविताको आफ्नै ध्वनि हुन्छ, जुन ध्वनिलाई कानले सुन्न सकिन्छ । प्रत्येक कविताको आफ्नै स्वाद हुन्छ, जुन स्वादलाई जिब्रोले थाहा पाउन सकिन्छ । प्रत्येक कविताको आफ्नै स्पर्श हुन्छ, जुन स्पर्शलाई आफ्नो छाला मार्फत महसुस गर्न सकिन्छ ।

यति हुँदाहुदै पनि कवितालाई बुझ्न हाम्रो ज्ञानका पाँच इन्द्रिय मात्रले काफी हुँदैन । कविताको व्यापकतालाई बोध गर्न त एउटा पाठकमा छैठौं इन्द्रिय हुन जरुरी छ । त्यो छैठौं इन्द्रियको नाम के हो ? म त्यसको ठ्याक्कै जवाफ दिन त सक्दिन तर बस् यति भन्न सक्छु- सबैभन्दा सजिलो काम हो कविता पढ्नु र सबैभन्दा गाह्रो काम हो कविताका बारेमा बोल्नु । सबैभन्दा सजिलो काम हो कविताका अवयवहरू छाम्नु र कविताको स्पर्शबोध गर्नु । सबैभन्दा गाह्रो काम हो, आफूले स्पर्शबोध गर्दा जे अनुभूत गरिन्छ, त्यसलाई तस्ताको तस्तै उतारेर भन्नु ।

यतिबेला म त्यही गाहो कामको पोको फुकाउँदैछु ।

वास्तविक जीवनमा कतिको रिसाउँछिन् कल्पना ? त्यो त मलाई थाहा भएन । कवितामा भने कल्पना चिलुवाल एकदमै रिसाहा कवि हुन्, भयंकर रिसाहा कवि हुन्

पछिल्लो केही समयदेखि पोखरालाई एउटा आरोप लाग्दै आएको सुनिन्छ । तालैतालको यो शहरमा, हिमनदी बग्दैबग्दै नदीनालाहरूले नृत्य गर्ने यो शहरमा, देशमै सबैभन्दा बढी पानी पर्ने पानी नै पानीको यो शहरमा कविताको भने खडेरी लागेको छ । पछिल्लो चरणमा आख्यानहरू जुन अनुपातमा आए र त्यसको जुन प्रभाव रह्यो, त्यसको तुलनामा कवितामा पोखराको उपस्थिति लगभग शून्यको स्थितिमा रह्यो भनेर मान्नेहरू धेरै भेटिए । खडेरीका बीचमा यदाकदा वर्षा भए पनि खडेरी मेटाउन ती काफी भएनन् भन्ने आवाज सुनियो । कल्पना चिलुवालको कवितासंग्रह ‘चुल्ठो’ बजारमा आइसकेपछि र यो कवितासंग्रह पढिसके पछि भने पोखरामा कविताको खडेरी छ भनेर अब कसैले भन्न सक्ने छैन, त्यसमा म ढुक्क छु ।

कल्पना चिलुवालका कविताहरूको मूल स्वर विद्रोहको स्वर हो । बनिबनाउन मूल्य-मान्याताको पर्खाल भत्काएर नयाँ परिभाषाहरू खोज्नका लागि निस्कने विद्रोही भावना नै कल्पनाका कविताहरूको मुख्य ध्वनि हो । आफ्नो शीरमा लाउने शीरफूल कुनै कान्छाले टिपिदिएको उनलाई मञ्जुर छैन । उनलाई त पियानोको रोमान्टिक धून पनि मन पर्दैन । बादल र झरनाको उपमा दिएर प्रेमीले प्रशंसा गर्ने आफ्नो परम्परागत चुल्ठो त उनलाई झनै मन पर्दैन । सौन्दर्य र संस्कारका सारा मानक भत्काएर निजत्वको निम्ति उनले देखाएको बौलाहापन उनको कविताको मुख्य शक्ति हो ।

वास्तविक जीवनमा कतिको रिसाउँछिन् कल्पना ? त्यो त मलाई थाहा भएन । कवितामा भने कल्पना चिलुवाल एकदमै रिसाहा कवि हुन्, भयंकर रिसाहा कवि हुन् ।

त्यसो त सबै सन्त-महन्तहरू मान्छे रिसबाट मुक्त हुनुपर्छ भन्छन् । सबै नीतिशास्त्र र धर्मशास्त्रहरू पनि रिसलाई स्वयंको बर्बादीको बाटो मान्छन् । चिकित्सकहरू रिसलाई मानसिक रोग तथा अन्य थुप्रै रोगहरूको कारक मान्छन् । भनिन्छ- रिस एउटा यस्तो विष हो, जुन तपाई आफू पिउनुहुन्छ र अरू मरोस् भनेर कामना गर्नुहुन्छ ।

रिसका यति धेरै बेफाइदाहरू हुँदाहुँदै पनि जब एउटा कवि रिसाउँछ, उसले असाध्यै सुन्दर क्रोधी कविताहरू जन्माउँदो रहेछ । रिसको सौन्दर्यशास्त्र अन्त कतै भेटिएला, नभेटिएला -एउटा कविको हदमा भने रिसको शास्त्र पनि सौन्दर्यशास्त्र बनिदिँदोरहेछ । त्यसैको एक उदाहरण हो- चुल्ठो ।

पूरै कवितासंग्रहभरि तपाईं एउटा पनि यस्तो कविता भेट्नुहुन्छ, जहाँ कविले आफ्नो रिस नपोखेको होस् । कहिले उपभोक्तावादी बजारसँग रिसाउछिन् कवि, कहिले देशलाई यातनागृह बनाउने शाशकहरूसित रिसाउछिन् । कहिले हत्यारा न्यायाधीसहरूसँग रिसाउँछिन्, कहिले दलित र गैरदलित बीचको खाडल देखेर रिसाउँछिन् । कहिले पुरुष सत्ताको दमन देखेर रिसाउँछिन्, कहिले बोल्न पर्नेहरू मौनता साँधेर बसेको देखेर रिसाउछिन् ।

आफ्नो उमेरअनुसार त कम्तिमा दुइचार थान प्रेमका मादक कविताहरू लेख्न पर्ने हो कल्पनाले । यस्तो लाग्छ, उनमा त बैंस पनि रिसकै चढेको छ । नशा पनि रिसकै चढेको छ । लाग्छ, उनमा उत्तेजना र अर्गाजम पनि फगत रिसको मात्र हुन्छ । एउटा रिसाहा कविका रिसाहा कविताहरू पढ्न मन भए तपाईं पनि कल्पनाका कविताहरू पढ्न सक्नुहुन्छ ।

एउटा वाद होइन, थुप्रै वादहरूको कोलाज भने अवश्य भेटिन्छ कल्पनाका कविताहरूमा । कल्पनाका कविताहरूमा कसैले एउटैमात्र वाद देख्छ भने त्यो इन्द्रेणी एउटै रङले मात्र बन्छ भन्नु जस्तै निरर्थक भनाइ हुन्छ । नारीवाददेखि प्रगतिवादसम्म, यथार्थवाददेखि अस्तित्ववाद, मानवतावाददेखि मार्क्सवादसम्म सबैसबैको रंगले पोतिएका छन् कल्पनाका कविताहरू । गायत्री स्पिभाकको सर्वाल्टनको बाडुल्की लाग्छ उनका कविताहरू पढ्दा । पछिल्लो चरणमा साहित्यमा देखा परेको आन्दोलन अर्थात ओबीसी साहित्यको झलक पनि पाइन्छ उनका कविताहरूमा ।

‘चुल्ठो’ कवितासंग्रहकै शीर्ष कविता हो, जुन कवितामा परम्परागत चुल्ठोमा दासी बनाइएका नारीहरूको मुक्तिको कामना छ । यो एक अर्थमा नारीवादी कविता हो । ‘बोक्सी जुलुस’, ‘सांस्कृतिक सत्ता’, ‘शिरफूल’, ‘नयाँ परिभाषा’, ‘सुनकेशरी रानी’जस्ता अन्य थुप्रै कविताहरूमा प्रबल नारीवादी स्वर सुन्न पाइन्छ ।

राजनीतिक कविताहरू कल्पनाका कविताहरूको अर्को विशेषता हो । विद्ममान सरकार, शाशक, शाशन प्रणालीकाप्रति उनका यति धेरै तिक्तता छ कि त्यो तिक्तता उनका सबैजसो राजनीतिक कविताहरूमा पढ्न पाइन्छ । उनको तिक्तता कतै आक्रोश बनेर पोखिएको छ, कतै विद्रोह बनेर पोखिएको छ । समकालीन राजीतिक परिवेशको विद्रुप चित्र हेर्नु छ भने कल्पनाका कविताहरू हेर्दा हुन्छ । उनको कविताको क्यानभासका डोरम्याट बनाएर बिछ्याइएका सर्वसाधारणहरूको ऐंठन छ ।कम्युनिस्टको घोषणा पत्रले आफ्नो खुट्टा पुछ्ने वामपन्थी नेताहरूको कृकत्यहरूको पर्दाफास छ । पूर्व छापामारको बेचैनीपत्र छ ।

जबरजस्ती क्रान्तिकारी बनाउने ध्याउन्नमा कविले आफ्नो कविताको मुख सोझो छ कि बांगो ? हेर्नै बिर्सन्छ । नाकको ठाउँमा आँखा छ वा मुखको ठाउँमा मलद्धार ? हेक्का राख्न समेत बिर्सन्छ

चुनावको बेलामा मात्र नमस्कारको नवीकरण गर्न आइपुग्ने नेताहरूप्रतिको घृणा छ । नायक सोचेर सम्मान गर्दा कालान्तरमा खलनायक बनेका कुपात्रहरूप्रतिको खेद छ । यस अर्थका चुल्ठो हाम्रो समयको सानोतिनो राजीनतिक दस्तावेज पनि हो। राजनीतिक भन्दा पनि राजनीतिक स्खलनको दस्तावेजभन्दा अझै उपयुक्त हुन्छ । सम्रगमा उनका कविताहरूमा भूइमान्छेका तीताटर्रा र अमिला अनुभव-अनुभूतिहरूको दस्तावेज छ । कविता पढ्दा तीतोटर्रो, अमिलो , नमीठो स्वाद आएन भने त्यो कल्पनाका कविताहरूको स्वाद होइन भनेर बुझ्नुपर्छ ।

साहित्यमा तपाईलाई गुलियो मन पर्छ र गुलियोको पारखी हुनुहुन्छ भने तपाईलाई कल्पनाका कविताहरू फिटिक्कै मन नपर्नसक्छ किन नि उनी गुलिया कविताहरू लेख्ने कवि होइनन्, तीताटर्रा कविताहरू लेख्ने कवि हुन् ।

अधिकांश क्रान्तिकारी कविताहरूको एउटै दोष के भने तिनलाई जबरजस्ती क्रान्तिकारी बनाउने ध्याउन्नमा कविले आफ्नो कविताको मुख सोझो छ कि बांगो ? हेर्नै बिर्सन्छ । नाकको ठाउँमा आँखा छ वा मुखको ठाउँमा मलद्धार ? हेक्का राख्न समेत बिर्सन्छ । आफ्नो कल्पनाका कविताहरू क्रान्तिकारी कविता भइकन पनि कविताप्रतिको उनको सौन्दर्यचेत कहिकतै चुकेको देखिदैन । प्रतिकारको कुरूक्षेत्रका उत्रिएका वैचारिक कविता हुँदाहुँदै पनि यिनमा कलाको पनि उस्तै संतुलन देखिन्छ । यस अर्थमा सुन्दर वैचारिक कविताहरू लेख्ने कवि हुन् कल्पना चिलुवाल ।

यति हुँदाहुदै पनि एक पाठकको आँखाले हेर्दा कल्पनाका कविताहरू खोट नै नभएका कविता भने होइनन् । अगाडिपट्टि कवि सरिता तिवारीको भूमिका र पछाडीपट्टि कवि विनोदविक्रम केसीको शुभकामना रहेको छ चुल्ठो कवितासंग्रहमा । कल्पनाका कविताहरू उनै कविहरू सरिता तिवारी र विनोदविक्रम केसीको प्रभावमा लेखिएका कविताहरू हुन् जस्तो लाग्न सक्छ पाठकलाई । मन परेका कविहरूबाट अतिशय प्रभावित हुनुर लेखन शैलीमा त्यो प्रभाव स्पष्ट देखिनुको सबैभन्दा ठूलो कमजोरी हो।

भनिन्छ, आफ्नै हृदयको धड्कनको आवाज सुन्न नसक्नेले जतिसुकै महान् संगीतको कुरा गरे पनि निरर्थक हुन्छ । सबैभन्दा चोखो र सुन्दर संगीत त आफ्नै धड्कनको संगीत जो हुन्छ । कवि कल्पना चिलुवालले पनि बहिरमुखी भएर समाज र समाजका बेथितिहरूको प्रशस्त कविता लेखिन् । सबैसबैको कथाव्यथा उनिन् आफ्ना कविताहरूमा । यस्तोमा आफैभित्रको सुन्दर कवितालाई नपढेका कारण जे कुरामा पनि विदु्रपता मात्र खोज्ने बानी परेको हो कि उनलाई भन्ने शंका गर्न सकिन्छ ।

जसरी हरेक बेथितिहरूको माझमा पनि कुनै न कुनै थिति हुन्छ , हरेक कुरूप कुराहरूको थूप्रोमा पनि खोज्यो भने कतै न कतै सुन्दर कुरा भेटिन्छ । मानवता घाइते छ जरूर, तर मरिसकेको छैन । मानवताको मुहारमा झल्कने प्रेम, करूणा, दया, स्नेह जस्ता कुरालाई अलि नरम भएर हेरिदिए कल्पनाका कविताहरूको आयतन अझै बृहत्तर हुनसक्थ्यो कि ? यो प्रश्न कुनै यक्ष प्रश्न होइन, तर यसको उत्तर खोजुन् कल्पनाले-यति चाहि कामना गर्छु ।

कविताको दूरदर्शक यन्त्रले हेर्दा समाजमा जुन कुरूपता देखिन्, त्यही पस्किन् कवितामा । अब कविताको सुक्ष्मदर्शक यन्त्रले नयाँनौला आशाहरू खोजुन् ! सम्भावनाहरू खोजुन् उनले ।

कविता र चरा उस्ताउस्तै लाग्छन् मलाई । जसरी बिना पखेटाचरा उड्न सक्दैन र ज्यादा माथि उडाउन भनेर दुइचार थान बढी पखेटा भिराइदिदा पनि चरा उड्न सक्दैन । कविले ठीक्क मात्राको पखेटा लगाइदिदा मात्र कविता उड्ने हो । प्रयोगको नाममा, बोैद्घिकताको नाममा, अरूभन्दा बिल्कुलै फरक हुने नाममा कहिलेकाही कविले कवितालाई आवश्यकताभन्दा बढी बिम्ब र प्रतीकहरूको पखेटा लगाइदिदा कविता दुर्घटित हुन पुगेको र आम पाठकमा कविताप्रति नै वितृष्णा उत्पन्न भएको थुप्रै उदाहरणहरू देख्न पाइन्छ । यस्तोमा कल्पनाका कविताहरू दुर्घटित हुनबाट बचेका छन् । सडक कविता क्रान्तिसँगै २०३६ सालपछि कवितामा देखा परेको सरलताको बाटोलाई उनले पनि आफ्नो बाटो बनाएकी छिन् । उनी सरल कवि हुन् । सरल कुराहरूलाई मात्र होइन, असरल कुराहरूलाई पनि सरलतापूर्वक भन्न सक्नु उनको खुबी हो । बौद्घिक विलास उनको कविताको धर्मभित्र पर्दैन ।

कविको नाम कल्पना भए पनि कल्पनाका कविताहरूमा कल्पना होइन, यथार्थ नै यथार्थका ब्रगेल्ती तस्वीरहरू छन् । यथार्थ र अतियथार्थका बीचमा जुन घर्षण हुन्छ, त्यो घर्षण कल्पनाका कविताहरूमा पाइन्छ ।

अक्टोभियो पाज भन्छन्, ‘कवि होइन, बोल्ने त कविता हो । कहाँ, कसरी, कैले, कस्तो,किन कविता बोल्छ, त्यो त सुन्न जान्नेहरूलाई थाहा हुने कुरा हो ।’

यतिबेला कल्पना होइन, कल्पनाका कविताहरू पाठकसित बोलिरहेछन् । कोही कवि बन्नका लागि कविता लेख्छन् । कोही कविता लेखेर ‘आफ से आफ’ कवि बन्छन् । एक पाठकको नाताले एउटा दावा गर्न सक्छु- कवि बन्नका लागि जबरजस्ती लेखिएका कविता होइनन् कल्पना चिलुवालका कविताहरू ।

कल्पना कविता लेखेर कवि बनेकी हुन् । उनका रिसाहा कविताहरू त्यसैका प्रमाण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment