Comments Add Comment

ट्रम्पको ‘मुस्लिम प्रतिबन्ध’ले अमेरिका जान नपाएकालाई अर्को मौका

Photo Credit : Reuters

२५ फागुन, काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा लगाइएको भ्रमण प्रतिबन्धको कारण भिसा नपाएका मानिसहरुले पुनः आवेदन दिन सक्ने बताएको छ । विभिन्न १३ मुस्लिम मुलुकमाथि अमेरिका भ्रमणमा ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएको थियो ।

गत जनवरी २० मा आफ्नो कार्यकाल सुरु गरेको पहिलो दिन नै जो बाइडनले ट्रम्प प्रशासनको यो निर्णय उल्ट्याउने निर्णय गरेका थिए । अमेरिकाको विदेशमन्त्रालयका अनुसार जनवरी २० भन्दा अगाडिसम्म यी मुलुकबाट आउने मानिसलाई भिसा दिन अस्वीकार गरिएको थियो । यद्यपि अब यसअघि भिसा नपाएका मानिसहरुले नयाँ आवेदन पेश गर्दै नयाँ आवेदनको शूल्क बुझाउनुपर्ने विदेशमन्त्रालयले बताएको छ ।

त्यसका साथै जनवरी २० वा सोभन्दा पछि आवेदन दिएर पनि भिसा नपाएका मानिसहरुले भने आवेदनमा पुनर्विचारको माग गर्न सक्नेछन् । साथै यसका लागि उनीहरुले अतिरिक्त भुक्तानी पनि गर्नुपर्ने छैन ।

अमेरिकी विदेशमन्त्रालयको तथ्यांकअनुसार यात्रामा लगाइएको प्रतिबन्धको कारण करिब ४० हजार मानिसहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो । ट्रम्प प्रशासनले इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनसहित १३ मुलुकबाट आउने मानिसहरुमाथि भ्रमणमा प्रतिबन्ध लगाएको थियो । यद्यपि सन् २०१७ को डिसेम्बरमा अमेरिकाको सर्वोच्च अदालतले यो निर्णयमा रोक लगाएको थियो ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment