Comments Add Comment

हिमाल आरोहीलाई फोटो र भिडियो खिच्न कडाइ

अच्युत पुरी

२५ फागुन, काठमाडौं । हिमाल चढ्ने समयमा नेपाली तथा विदेशी कुनै पनि पर्वतारोही र पर्वतारोहण दलका सदस्यले आरोहण गतिविधिबाहेक अन्य प्रयोजनका लागि फोटो भिडियो खिच्न नपाउने भएका छन् ।

पर्यटन विभागले मंगलबार आगामी वसन्त ऋतुमा हुने पर्वतारोहणको काम व्यवस्थित बनाउन जारी गरेको सूचनाबाट अन्य प्रयोजनमा फोटो, भिडियो र फिल्मिङ गराउने काम गर्न नपाइने उल्लेख छ । हाल विभिन्न व्यवसायिक गतिविधिका लागि समेत फोटो भिडियो बनाउने प्रचलन छ ।

केही समय अगाडिभारतीय पत्रकार सुधिर चौधरीले सगरमाथाको कालापत्थर पुगेर बीना अनुमति एक रिर्पोट बनाएका थिए । उनले त्यस रिर्पोटमा सगरमाथामा भारतको समेत दावी हुनुपर्ने बताएका थिए ।

यस प्रकारका गतिविधिको जोखिम बढेसँगै विभागले पर्वतारोहणको समयमा आरोहण गतिविधिबाहेकका फोटो भिडियो खिच्न मनाही गरेको हो । विभागकी निर्देशक मिरा आचार्यका अनुसार यसरी फोटो भिडियो र फिल्म खिचेर प्रचार प्रसार तथा प्रकाशन गर्न पाइने छैन ।

त्यसो त पर्वतारोहणका दौरान आरोहणबाहेक अन्य गतिविधि गर्ने भएमा भने पर्यटन विभागबाट अगि्रम स्वीकृति लिनु पर्नेछ ।

अनलाइन ब्रिफिङपछि मात्र आरोहण प्रमाणपत्र

सरकारले पर्यटक आगमन सहज बनाएको छैन । सोहीकारण पर्यटक नेपाल आउनु अगाडि कुनै पनि सरकारी निकायबाट सिफारिस लिनुपर्छ ।

पर्वतारोहण दल ल्याउने एजेन्सीले विभागबाट अनलाइन ब्रिफिङको फारम भर्नुपर्ने भएको छ । त्यसपछि पर्वतारोहीले आरोहण अनुमति पाउने भएका छन् ।

यो सिजनको अन्तिम आरोहण अनुमति जारी भएको १५ दिनपछि मात्र आरोहणको प्रमाणपत्र जारी गर्ने काम शुरु हुने भएको छ ।

त्यसअगाडि अनलाइन डिब्रिफिङ र त्यसपछि डिब्रिफिङ हुने भएको छ । अनलाइन डिब्रिफिङ नभरेमा आरोहण प्रमाणपत्र जारी नहुने समेत विभागले जनाएको छ ।

डिब्रिफिङका दौरान आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम आरोहण अनुमति पत्र जारी गर्ने समयमा पेश गर्नुपर्ने भएको छ ।

यस बेला आरोहण दलका सदस्य के-कुन माध्यमबाट के कसरी काठमाडौं आइपुगे भन्ने विवरण समेत राख्नुपर्ने निर्देशक आचार्यले जानकारी दिइन् ।

डिब्रिफिङका दौरान पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल/असफल आरोहीको विवरण सहितको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने भएको छ ।

त्यससमयमा सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफु खटिई गएको दलबारे विवरण समेत पेश गर्नुपर्ने गर ििनयम बनाइएको छ ।

स्वास्थ्य अवस्था स्वघोषणा गर्नुपर्ने

पर्वतारोहणीले आफु हिमाल चढ्न योग्य भए- नभएको बारे स्वघोषणा गर्नुपर्ने भएको छ । पर्वतारोहणमा जाने दलका सम्पूर्ण सदस्य तथा आरोही सदस्यको स्वास्थ्य अवस्था पेश गर्दा निज पर्वतारोहण कार्यका लागि उपयुक्त भएको विवरण पेश गर्नुपर्ने विभागले जनाएको हो ।

अहिले आरोहण गर्न नसक्ने समेत हिमालमा जाँदा दुर्घटना बढ्ने गरेको गुनासो बढेको छ । आरोहण दल सम्बद्ध एजेन्सीले पर्वतारोहण दलका साथमा जाने सहयोगीले बिमा गर्दा पर्वतारोहण सम्बन्धी कामदार, आधार शिविरका कामदार, स्थानयि कामदारको समेत नाम राखेर बिमा गर्नुपर्ने भएको छ । त्यसो गरेको नपाए आरोहण अनुमति पत्र नै जारी नहुने विभागको भनाइ छ ।

आपतकालीन उद्धारमा निगरानी

आरोहणका दौरान विगतमा फेक रेस्क्यूका घटना धेरै हुने गरेका थिए । यसमा अस्पतालहरुको मिलेमतो समेत हुने गरेको थियो । विभागले यस पटक आपतकालीन उद्धार गरेका पर्यटकलाई आधनिक उपकरण भएका सुविधा सम्पन्न अस्पतालमा मात्र लैजाने बन्दोबस्त मिलाउन वायुसेवा, हेलिकोप्टर सेवा प्रदायक तथा पर्यटन सेवा एजेन्सीहरुलाई आग्रह गरेको छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण आरोहण स्थगित भएको थियो ।

महामारी शुरु भएको समयमा उक्त वर्ष अन्यौलकाबीच आरोहण अनुमतिपत्र समेत पर्याप्त जारी हुन सकेको थिएन । आगामी बसन्त ऋतुका लागि भने पर्वतारोहणसम्बन्धी सबै गतिविधि यथावत रहनेछन् ।

यसबीचमा पर्यटकले नेपाल आएर ५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमको भने पालना गर्नुपर्छ । खोपको मात्रा पुरा गरी आएका पर्यटकको हकमा भने निर्वाध घुमफिरमा जान दिने निर्णय सरकारले गरेको छ । तर, अनअराइभल भिसा सुविधा नभएका कारण यस पटक पनि पर्यटकले सास्ती भने भोग्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment