Comments Add Comment

रोजगारी र उद्यमशिलता प्रवर्द्धन गर्न भन्दै ‘रोलिङ नेक्सस’

२५ फागुन, काठमाडौं । नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्धेश्यसहित आजबाट औपचारिक रुपमा ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुआत भएको छ ।

एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले यसको शुभारम्भ गरेका हुन् । नेपालकै पहिलो ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस आममानिसको दैनिक जीवनमा उपयोगि बन्ने विश्वास मन्त्री चौधरीले गरे ।

डिजिटल प्लाटफर्मको माध्यमबाट सबै ब्यावसायिक कामलाई सहज बनाउने उद्धेश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस अनलाइनमा आधारित व्यवसायिक सामाजिक सञ्जाल हो, जसको नै “नयां सम्भावनाहरुको सञ्जाल” रहेको छ ।

यसलाई मुख्यत चार सिद्धान्तमा सञ्चालन गरिएको रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले बताए । रोजगारी, उद्यमशिलता, सशक्तिकरण र संलग्नताको सिद्धान्त अनुरुप यो सञ्चालन हुनेछ । यी बाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशिल स्वदेश र रोलिङ कर्मशिल विदेशबाट स्वदेशी तथा वैदेशिक रोजगारीका बारेमा जानकारी लिंदै नयां अवसरहरु खोज्न सकिनेछ ।

ब्यक्तिहरुको दक्षता अभिवृद्धि, रोजगारी सृजना तथा प्रवर्द्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणमा रहेर अवसर तथा सम्भावनाहरुको खोजी र गीग इकोनोमीको अवधारणामा रहेर उद्यमशीलता प्रर्वद्धन तथा ब्यावसायिक वृद्धी गर्नु यसको मुख्य उद्देश्य हो ।

रोलिङ नेक्ससले ब्यावसायिक सेवा दिन विभिन्न ७ वटा समुहहरु छुट्याएको छ । जब, टेण्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेष्ट, इभेन्ट, बजार र छलफलजस्ता प्लाटफर्मको प्रयोग गरि विभिन्न सेवा लिन सकिने सञ्चालक अनुप जंगमले बताएका छन् ।

रोलिङ बजारमार्फत नेपाली घरेलु उद्यमीलाई प्रर्वद्धन गर्ने योजना रोलिङ नेक्ससको छ । यस्तै, रोलिङ उजुरीमार्फत उपभोक्ताले आफ्ना अप्ठारो अथवा ठगीको गुनासो औपचारिक रुपमा राख्न मिल्ने र सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफ मागी समाधान गर्ने व्यवस्था समेत गरिएको छ । खेलप्रेमी युवा पुस्तालाई आकर्षित गर्न रोलिङ कन्टेस्टमार्फत खेलकुदको गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक हाजिरी जवाफजस्ता मनोरञ्जनका सामाग्री पनि यसमा समावेश गरिएको छ ।

मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको अहिलेको अवस्थामा नयां सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले रोलिङ नेक्ससको शुरुवात गरिएको हो । यस्तोमा सिप नभएका वा सीप भएर पनि मौका नपाएका लाखौं मानिसहरुलाई रोलिङ नेक्ससको सञ्जाल उपयोगि हुनेमा कम्पनीको विश्वास छ ।

१८ वर्षदेखि ६५ वर्षका उमेर समुहमा पर्ने करिव दुई करोड नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एउटा पूर्ण ब्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म दिन र कुनै न कुनै कार्यमा रोलिङ नेक्ससमार्फत अवसर, उत्पादनशिलता र रचनात्मक कार्यमा सहभागिता गराउंदै ब्यक्तिगत ग्राहक र ब्यावसायिक ग्राहकरुलाई सेवा दिन प्रतिवद्ध रहेको जंगमले बताए ।

यो व्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म प्रयोग गर्न ब्यक्तिले र व्यवसायले मोबाइलमा एप डाउनलोड गरी त्यसमा लगईन गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । रोलिङ नेक्ससले ब्यक्ति–व्यक्ति, व्यक्ति–ब्यावसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सृजना गर्न बिकसित गरिएको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment