Comments Add Comment

साइबर अपराध अनुसन्धान : आलोचना दबाउने हतियारमात्रै

२५ फागुन, काठमाडौं । प्रहरीले महिलालाई सामाजिक सञ्जालमा मार्ने, बलात्कार गर्ने धम्की दिँदै अश्लील गालीगलौज गरेको विषयलाई समेत अनुसन्धान अघि बढाएको छैन भने अर्कातिर सत्तारुढ नेताहरुलाई गाली गरेको विषयमा चाहिँ अनुसन्धान र कारबाही तीब्र देखिन्छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल फेसबुकमा आलोचना गरेको भन्दै १० वैशाखमा २०७७ मा पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका थिए । प्रधानमन्त्रीको शारीरिक विषयमाथि अभद्र टिप्पणी गरेको दाबीसहित साइबर ब्युरोले ललितपुरस्थित घरबाटै समातेर उपाध्यायविरुद्ध मुद्दा चलाएको थियो ।

एक सातापछि १८ वैशाखमा तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जालमा आलोचना गरेको भन्दै पत्रकार दीपक पाठक पक्राउ परेका थिए ।

अघिल्लो वर्ष २ वैशाख २०७६ मा पोखराका पत्रकार अर्जुन गिरीले समाचार लेखेको विषयलाई लिएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको थियो । तर, व्यापक आलोचनापछि प्रेस काउन्सिलमा दर्ता भएको अनलाइनमा प्रकाशित समाचार प्रहरीको क्षेत्राधिकारभित्र नपर्ने भन्दै उनलाई छाडियो ।

प्रहरीको महानगरीय अपराध महाशाखाले ११ मंसिर २०७५ मा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास भएको समाचार लेखेको भन्दै पोष्टपाटी डटकमका पत्रकार गोपाल चन्दलाई पक्राउ गर्‍यो । सूचना विभागमा उनको अनलाइन सूचीकृत भएपनि प्रहरीले मुद्दा चलाएको थियो । पछि उनले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाए ।

२०७५ को भदौमा ललितपुरका पत्रकार राजु बस्नेतविरुद्ध पनि प्रहरीले विद्युतीय कारोबार ऐन अनुसारको मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको थियो । उनले दृष्टि साप्ताहिकको समाचार साभार गरेर आफ्नो अनलाइनमा प्रकाशित गरेका थिए ।

घटनाक्रमहरुले विद्युतीय कारोबार ऐनलाई सरकारको आलोचना दबाउने हतियारका रुपमा प्रयोग गरिएको देखिने साइबर कानूनका जानकारहरु बताउँछन् ।

प्रहरीका अनुसार बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील तस्वीर सार्वजनिक गर्दिन्छु भन्ने विनय जंग बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनको कसूरमा अनुसन्धान सकिएको छ ।

त्यसबाहेक सामाजिक सञ्जालबाट अश्लील फोटो सार्वजनिक गर्ने, गोप्य च्याटहरु बाहिर ल्यादिने लगायतका गतिविधि गर्नेविरुद्ध पनि विद्युतीय कारोबार ऐन अनुसार अनुसन्धान हुने गरेको अधिकृतहरु बताउँछन् ।

तर, न्याय र समताको माग गर्दै महिला मार्चमा सहभागी भएको र मैथिलीमा कविता भनेकै आधारमा सामाजिक सञ्जालको प्रयोग गर्दै सार्वजनिक रुपमा बलात्कार, हत्या गर्ने धम्की दिनेहरु भने अझै कारबाहीको दायरामा आएका छैनन् ।

गत माघ ३० गते आयोजना भएको कार्यक्रम ‘न्याय र समताका लागि सिंहदरबार महिला मार्च’ मा मैथिली भाषामा कविता वाचन गरेकी सपना सञ्जीवनी, कार्यक्रममा सहभागिता जनाएकी लेखक रीता साह, मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीको फोटो जोडेर सामाजिक सञ्जालमा हिन्दु विरोधी भन्दै बलात्कार गर्ने, मार्ने धम्की दिइएको छ ।

सपना सञ्जीवनीलाई व्यक्तिगत च्याटमा पनि धम्की आएपछि प्रहरीमा निवेदन दिन गइन् । सुरुमा त उनले निवेदन दर्ता गराउनै सकिनन् । त्यसको केही दिनपछि फागुन ९ गते अरु थप साथीहरु सहित गएपछि बल्ल निवेदन दर्ता भएको बताउँछिन् । भनिन् ‘सुरुमा त यो साइबर क्राइम नै हैन भनेर निवेदन लिनै मान्नु भएन । पछि धेरै जना साथीहरुसँग गएपछि मात्रै निवेदन दर्ता गर्नुभयो ।’

निवेदन दर्ता गर्दै ‘युआरएल’ पत्ता लगाई दिने आश्वासन दिएको बताइन् । आवश्यक छानविनबाट प्रयोगकर्ता पत्ता लागेपछि मात्रै उजुरी गर्न मिल्ने प्रहरीले बताएको सपनाले सुनाइन् ।

साइबर क्राइम ब्युरोका प्रमुख नवीन्द्र अर्यालले सपना सञ्जीवनीले दर्ता गरेको निवेदन फेसबुकको केन्द्रीय कार्यलयमा पठाएको तर अहिलेसम्म प्रतिक्रिया नआएको बताए । उनले भने ‘हामीले निवेदन फेसबुकको केन्द्रीय कार्यालयमा पठाएका छौं । प्रक्रिया चलिरहेको छ ।’

राजु जैसवाल नाम गरेको व्यक्तिले ‘नेपालको हिन्दु विरोधी’ भनेर तीन जनाको फोटो जोडेर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । उक्त फोटो सेयर हुनुका साथै कमेन्टमा ज्यानमार्ने, बलात्कार गर्ने जस्ता धम्की दिइएको छ ।

‘सार्वजनिक रुपमा यस्तो गम्भीर किसिमको धम्की दिनेहरुलाई प्रहरीले तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने हो’ लेखक रीता साह भन्छिन्, ‘तर निवेदन दर्ता गर्दा समेत आवश्यक छानबिनसमेत हुँदैन ।’

यी घटनाक्रमहरुले विद्युतीय कारोबार ऐनलाई सरकारको आलोचना दबाउने हतियारका रुपमा प्रयोग गरिएको देखिने साइबर कानूनका जानकारहरु बताउँछन् । साइबर ब्युरोका अधिकृतहरु भने उजुरी परेका सबै घटना अनुसन्धानको दायरामा आउने दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment