+

अपराजित रहँदै एपीएफ बन्यो प्रधानमन्त्री कप महिला भलिबलको च्याम्पियन

२०७७ फागुन  २६ गते ६:३१ २०७७ फागुन २६ गते ६:३१
अपराजित रहँदै एपीएफ बन्यो प्रधानमन्त्री कप महिला भलिबलको च्याम्पियन

२६ फागुन, नेपालगन्ज । साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम खेलमा एपीएफले पुलिसलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पाँच टिम सहभागी प्रतियोगितामा एपीएफले सबै चार खेल जित्दै १२ अंक जोडेर शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो । यस्तै यसअघि लगातार तीन खेल जितेको पुलिसले एपीएफसँग हारपछि चार खेलबाट ८ अंक जोड्यो ।

एपीएफले पुलिससँग गत वर्ष व्यहोरेको हारको बदलासमेत लिएको छ । साथै केही समय अगाडि पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण भलिबलमा दुई खेलमा भोगेको हारको बदलासमेत लिएको छ ।

अघोषित फाइनल जस्तै रहेको अन्तिम खेलमा पुलिसले एपपीएफविरुद्ध तीन सेटमा अग्रता लिएर पनि जोगाउन सकेन र पराजित भयो । एपीएफले पुलिसलाई २५-२२, २५-२१, २५-१९ ले हरायो ।

पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी सरस्वती चौधरीले प्लेयर अफ दि म्याच बनिन् ।

उपाधिसँगै एपीएफले ५ लाख नगद प्राप्त गर्‍यो । दोस्रो भएको पुलिसले २ लाख पायो । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख र चौथो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार रुपैया हात पार्‍यो ।

च्याम्पियन एपीएफकी ओपन स्पाइकर सरस्वती चौधरी प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

एपीएफलाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी सरस्वतीले सर्वोत्कृष्ट खेलाडी चुनिदै २५ हजार प्राप्त गरिन् ।

विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर घोषित भइन् । पुलिसकै कमला पुन उत्कृष्ट सेटर घोषित भइन् ।

यस्तै एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन् । एपीएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले ५-५ हजार प्राप्त गरे ।

विजयी तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यससचिव रमेशकुमार सिलवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणा, उपमेयर उमा थापा,लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‘नमुना’, केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेड लगायतले पुरस्कार वितरण गरे ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा २१ फागुनबाट सुरु भएको प्रतियोगितामा तीन विभगीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री कप महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय