Comments Add Comment

बारा र रौतहटका थारुहरूको मधानी महायज्ञ: जहाँ शिवको विवाह र राज्याभिषेक गरिन्छ

नारायणी पूर्व र कोसी पश्चिमको चुरेभन्दा दक्षिणको गंगासम्मको क्षेत्र शिवपूजाको लागि विशेष क्षेत्र हो । यस क्षेत्रमा महादेवलाई पूजा गर्ने सांस्कृतिक परम्परा आफ्नै किसिमका छन् । यस क्षेत्रमा शास्त्रीय तथा लोकपरम्परा दुवै पद्धतिले देवाधिदेव महादेवको पूजा अर्चना गर्ने चलन रहेकोमा मधानी महायज्ञ शिवपूजनको लोकविधि हो ।

शिवलाई विशेष पूजा गर्ने एउटा लोकपरम्परा कामरनाथुहरूको विशेष परम्परा हो । कामरनाथु भनेका विशिष्ट बोलबमहरू हुन्। कामरनाथुलाई कमरथुआ पनि भनिन्छ । कमरथुआहरूले नै मधानी महायज्ञ गराउने गर्दछन् । बोलबम कामरनाथुहरूले शिवको यज्ञ गर्दै शिवको विवाह गराउँछन् । शिवको विवाहमा सबै कलाकारहरू कामरनाथु नै हुन्छन् । विवाह सांगीतिक पद्धतिले हुन्छ ।

शिवको प्रचलित भेष हुन्छ भने शिवका गणहरू आफ्नै भेषभूषा र पहिरनमा हुन्छन् । पार्वतीको भेषमा पनि कामरनाथु नै हुन्छन् । शिवको विवाहको गीति नृत्य नै मधानी महायज्ञको मुख्य आकर्षण हुन्छ । मधानी महायज्ञमा कुनै पनि पण्डित वा पुजारीको आवश्यकता पर्दैन । सबै विधि तथा पद्धतिहरू कामरनाथुले नै सम्पन्न गर्ने गर्दछन् ।

मधानी मुख्यरूपले प्रदेश नम्बर २ को बारा र रौतहटमा प्रचलित परम्परागत पूजन पद्धति हो । यस क्षेत्रका थारु समुदायमा यो विशिष्ट पर्वको रुपमा रहेको पाइन्छ तथा थारु समुदायले नै यसको संरक्षण र संवद्र्धनमा योगदान दिँदै आएका छन् । आदिकालदेखि नै यो क्षेत्र शिवपूजनको क्षेत्र रहेको यसको पूजन परम्परा र पद्धतिले पनि केही हदसम्म प्रमाणित गरेको छ ।

मधानीसँगै अर्को प्रचलित संस्कृति लखराँव हो । लखराँवमा लाखौँ शिवलिंग बनाएर पूजा गर्ने गरिन्छ । मधानी विवाहोत्सवको प्रतीक हो भने लखराँव शिवको राज्याभिषेकको प्रतीक हो भन्ने मान्यता यस क्षेत्रमा विद्यमान छ ।

मधानी महायज्ञ सम्पन्न भएपछि याचकहरूले आफूलाई शिवको गण भन्दै यज्ञकर्तासित अन्न, द्रव्य र वस्त्र माग्ने चलन पनि रहेको छ । मधानी महायज्ञमा याचक (कलैया र सरभङ जाति)हरूले आफूलाई शिवको गण नै बताउने गरेका छन् । मधानी महायज्ञ सम्पन्न गर्ने यज्ञकर्ताले आफूलाई सम्मानित र गौरवान्वित भएको महसुस गर्दछन् र मधानी यज्ञ गर्ने सम्पन्न गर्ने समृद्ध व्यक्तिको सम्मान प्राप्त गर्दछन् र याचकलाई खुलेर दान पनि गर्दछन् ।

परम्परादेखि चल्दै आएको मधानी महायज्ञ ह्रासोन्मुख अवस्थामा रहेकोमा गत वर्षदेखि रौतहट मौलापुरको पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञको आयोजन हुन थालेको छ । गत वर्ष सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा मधानी महायज्ञ सम्पन्न भएको थियो । परम्परागत यज्ञलाई परम्परागत मन्दिरमा महायज्ञ महोत्सवको रुपमा सुरुआत गरिनु आफैंमा महत्वपूर्ण रहेको छ ।

नगरपालिकाले इतिहास, संस्कृति र मौलिकताको संरक्षणमा विशेष ध्यान दिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, यस क्षेत्रको पुरातात्विक उत्खनन तथा अन्वेषण गराउने र सुन्दर शिवधामको रूपमा यस नगरीलाई चिनाउने उद्देश्यले नगरपालिकाले प्रशंसनीय सुरुआत गरेको छ ।

(लेखक सांस्कृतिक अन्वेषक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment