Comments Add Comment

मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

२७ फागुन, वीरगञ्ज । ‘वीरगञ्ज–२६ शारदा माविमा दुई कोठा बनाउन १६ लाख रुपैयाँ आएको थियो । इन्जिनियरले १० प्रतिशत कमिसन नलिएसम्म पास नै भएन,’ विद्यालय व्यवस्थापन समितिका सदस्य ध्रुवप्रसाद पटेलले गुनासो गर्दै भने, ‘उपभोक्ता समितिहरुले पनि त्यस्तै समस्या झेलिरहेका छन्, बिल भर्पाई पैसा नदिई पास हुन्न । नगरपालिका हैन ‘नरक’ पालिका जस्तै छ । कसैलाई नसमातिकन कुनै काम गराउन सकिन्न ।’

वीरगञ्ज महानगरपालिका कार्यालयले वीरगञ्ज–२६ सुगौलीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पटेलले कर्मचारीलाई पैसा दिएपछि भने जस्तोसुकै काम हुने गरेको आरोप लगाए ।

सार्वजनिक सुनुवाइ सुरु हुनु अघि समयान्तर मिडिया प्रालिले नागरिक र बर्हिगमन अभिमत प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा नगरको सेवा प्रवाह राम्रो रहेको र थोरै मात्र सुधार गर्नुपर्ने निष्कर्ष आएको थियो ।

५० जना सर्वसाधरण नागरिक र ५० जना नगरपालिकाबाट सेवा लिएर फर्किएका सेवाग्राहीसँग विभिन्न प्रश्नहरु सोधेर प्रतिवेदन तयार गरिएको थियो । ४ जनाले मात्रै अतिरिक्त शूल्क तिर्नुपरेको बताएका थिए भने ३ जनाले योजना जाँच पासका लागि पैसा माग्ने गरेको प्रतिवेदनमा उल्लेख थियो ।

तर ध्रुवप्रसाद पटेलले ९७ प्रतिशत खराब रहेको र प्रतिवेदन उल्टो बनेको भन्दै आक्रोश पोखे । उनले महानगरपालिकामा पछि थपिएका १६ वडाहरुलाई विकासमा उपेक्षामा पारिएको, सीमादेखि चुरेको जंगलसम्म फैलिएको महानगरपालिकामा बीचमा सेवा कार्यालय नभएकोले कर तिर्न वीरगञ्ज नै पुग्नु परिरहेको, टाउनहल, घडिअर्वा पोखरी, स्विमीङ पुल लगायत महानगरको सार्वजनिक सम्पत्ति दुरुपयोग भइरहेको बताए । सुगौली विर्तामा निवदेनमा तोक लगाउन वडा अध्यक्षलाई खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको गुनासो उनले गरे ।

सनी दुवेले पछि थपिएका १६ वटा वडावासीसँग विगतमा गरिएको ५ बुँदे सहमति कार्यान्वयन नभएको, नक्सापास प्रक्रिया झन्झटिलो भएको, सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्दा जेष्ठ नागरिकलाई सास्ती भइरहेको बताउँदै अनलाइनबाटै कर तिर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा सहभागी जवाहिर अन्सारीले नागरिकले आफ्नो बालबच्चाको पेटमा लात हानेर भोट दिएर जिताएपछि देखेको सपनालाई जनप्रतिनिधिले चकनाचुर पारेको आरोप लगाए ।
स्थानीय रुपक मिश्रले सुगौलीको स्वास्थ्य संस्था र नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्तरोन्नती गर्न माग गरे ।

ध्रुवप्रसाद साह तेली, अनिल कुमार गिरी, जयराम प्रसाद लगायतले लक्षित समूहको कार्यक्रम हुन नसकेको, खेलकुदका लागि मैदान नहुँदा खेलकुदको गतिविधि शून्य भएको, सुगौलीबाट वीरगञ्ज जाँदा सार्वजनिक सवारीमा भाडा बढी तिर्नुपरेको राहत वितरणमा अनियमितता भएको र २ करोडको बोरिङ हाल्ने योजना कार्यान्वयन नभएको गुनासो गरे । उनीहरुले सुगौलीमा एम्बुलेन्सको व्यवस्था गर्न समेत आग्रह गरे ।

स्थानीयले उठाएको प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष शम्भु मिश्राले आफूले कुनैपनि अनियमितता नगरेको दाबी गर्दै कुनैपनि योजनालाई अख्तियारबाट छानबिन गराउन तयार रहेको बताए ।
‘आफ्नो तलब भत्ताको पैसाले जनतालाई चर्पीको रिङ वितरण गरेको छु, कलधारा गाड्न लगाएको छु,’ उनले भने, ‘ कुनै अनियमितताको आशंका छ भने अख्तियारबाट छानबिन गराउन तयार छु ।’ करको रसिद वडाबाट नै काट्ने व्यवस्था हुनुपर्ने आवाज आफूले पनि उठाउँदै आएको बताउदै उनले यसै आर्थिक वर्षमा बोरिङ हाल्ने आश्वासन दिए ।

उपप्रमुख शान्ति कार्कीले नागरिक जागरुक हुँदा महानगरको बेथिति आफैं कम हुने बताइन् ।

नगर प्रमुख विजयकुमार सरावगीले नगरको सेवा प्रवाहलाई खराब बनाउन नागरिक पनि उत्तिकै दोषी रहेको बताए ।

‘काम छिटो गराउन जनता नै गएर पैसा खुवाएर काम गराउँछन, अनि महानगरको बदनाम गर्छन्, उपभोक्ता समितिले राम्रो काम गरेको छ भने बिल पास गराउन किन पैसा दिनुपर्छ ?’ उनले भने, ‘कम्युटर सिस्टमबाट रसिद काट्ने व्यवस्था गराएपछि धेरै बेथितिको अन्त्य हुन्छ । नागरिकले पनि त्यसमा साथ दिनुपर्छ, रसिद नकाटी अतिरिक्त पैसा दिनु हुँदैन ।’

चुनावको समयमा आफूले गरेको चुनवाी प्रतिवद्धता मध्ये ८० प्रतिशत बचा पुरा गरेको दाबी गरे । फोहोर नगरको रुपमा परिचित महानगरको सरसफाइलाई व्यवस्थित बनाउँदै लगेको, २४ करोडको उज्यालो वीरगञ्ज अभियान सञ्चालन गरेको, ८४ किलोमिटर नाला बनाउन सफल भएको, १ सय ४ किलोमिटर सडक तयार हुने अवस्थामा रहेको र शिक्षा तथा स्वास्थ्यमा उल्लेखनीय सुधार गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment