Comments Add Comment

उद्योगी–व्यवसायी भन्छन् : औद्योगिक वातावरण बनाउन थुप्रै काम बाँकी छ

२८ फागुन, वीरगञ्ज । नेपालमा औद्योगिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् । रोजगारी सिर्जना गर्ने, राजश्व दिने र पूर्वाधार विकासमा निजी क्षेत्रको मुख्य भूमिका रहे पनि राज्यको बेवास्तामा परेको उनीहरुको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा उद्घाटन समारोहमा उद्योगी व्यवसायीहरुले कोरोना महामारीमा थला परेको निजी क्षेत्रलाई माथि उठाउन राज्यले चासो नदिएको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कालोबजारी ऐन लगायत कतिपय ऐनहरुलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । उद्योगी व्यवसायीले आर्जन गरेको नाफा उद्योगी व्यवसायीको मात्रै नभएको सरकारले नबुझेसम्म समस्या हुने उनको भनाइ छ ।

‘मलेसियामा तीनै तहको सरकारले लगानी गर्न आउने स्वदेशी तथा विदेशीलाई पार्टनरको रुपमा हेर्ने गर्छ, त्यसैले छोटो समयमा उसले प्रगति गरेको छ’ उनले भने, ‘नेपालमा पनि तीनै तहको सरकारले अपनत्व लिनुपर्छ, उद्योग व्यवसाय आउँदा स्थानीय तहमा रोजगारी सिर्जना हुन्छ । पालिकाको आम्दानी बढ्छ र आर्थिक गतिविधि पनि बढ्छ । व्यवसायीले कमाएको नाफा नीजि क्षेत्रको मात्रै हुँदैन, सबैको हुन्छ ।’

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योगी व्यवसायीको नाफाबाट लिएको २५ प्रतिशत आय कर व्यवसायीकै हकहितमा खर्च गर्नुपर्ने बताए । कोभिड महामारीबाट भएको नोक्सानीको सबै आर्थिक भार व्यवसायी स्वयंले बेहोर्नुपर्ने अवस्था बनाइएको बताउँदै उनले व्यवसायी प्रति सरकार बैंक जति पनि संवेदनशील नदेखिएको टिप्पणी गरे ।

महासंघ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले कालोबजारी ऐन, एजेन्सी ऐन र उधारो ऐनलाई परिमार्जन गर्न सुझाव दिए । कर फर्छ्यौट आयोग गठन गर्नुपर्ने, राजश्व न्यायाधीकरणको कार्यालय वीरगञ्जमा हुनुपर्ने र सम्पत्तिको अभिलेखीकरण ऐन ल्याउनुपर्ने उनको माग छ । बारा पर्सा क्षेत्रमा देशकै सबैभन्दा बढी उद्योग कलकारखाना भएपनि औद्योगिक क्षेत्र घोषणा गर्न नसक्दा समस्या भइरहेको बताउँदै उनले सिमराको विशेष आर्थिक क्षेत्रलाई नै औद्योगिक क्षेत्रको रुपमा परिणत गर्न उनले आग्रह गरे ।

महासंघका केन्द्रीय सदस्य एवं उद्योग समितिका सभापति अरुणराज सुमार्गीले उत्पादन, आयात र निर्यातको विषयलाई समेटनेगरी बारा, पर्सा र रौतहटलाई समेटेर पीएचडी च्याम्बर बनाउन सुझाव दिए ।

व्यवसायी भरतराज आचार्यले औधोगिक पूर्वाधार, नीतिगत प्रक्रिया र प्रशासनिक झन्झटबाट मुक्ति मिल्नुपर्ने बताए । उनले ईआईए र आईई प्रतिवेदनका लागि सबै सरकारसँग छलफल अनिवार्य गर्दा समस्या भएको बताउँदै उद्योग विभागले नै यसलाई हेर्नुपर्ने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले बारा पर्सा क्षेत्रमा रहेको उद्योगबाट निस्कने औद्योगिक फोहोरको व्यवस्थापनका लागि योजना ल्याउन माग गरे ।

संघका पूर्व अध्यक्ष अशोक वैद्यले कर्पोरेट सोसल रेस्पन्सीबिलीटी (सीएसआर)को रकम उद्योगी व्यवसायीले आफैंले योजना बनाएर खर्च गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

साधारण सभाको अवसरमा संघले तेक्वान्दो खेलाडीहरु अफताव आलम, जक्की यादवलाई सम्मान गरेको छ । निर्यातमूलक उद्योगहरु डाबर नेपाल, त्रिवेणी स्पेनिङ प्रालि, शिवशक्ति केमो प्लाष्ट, शिवशक्ति दाल मिल, शिवशक्ति घ्यु उद्योग, अन्नपूर्ण भेजिटेबल प्रडक्टस्, नारायणी आयल एण्ड रिफाइनरी उद्योगलाई सम्मान गरिएको महासचिव माधव राजपालले बताए ।

आर्थिक क्षेत्रमा कलम चलाएर उद्योगी व्यवसायीको समस्यालाई सञ्चारमाध्यमबाट उजागर गरे वापत पत्रकार कन्हैयालला केशरी, तुलसी भण्डारी र क्रान्ति साह पनि सम्मानित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको दुई वर्षे कार्यकाल सकिएको छ । नयाँ कार्यकालका लागि ३५ सदस्यीय कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् । पदाधिकारी चयन बाँकी छ । वर्तमान वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता अध्यक्ष बन्ने आन्तरिक सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment