Comments Add Comment

कांग्रेसमा एक स्वर : देउवाको नेतृत्वमा गठबन्धन सरकार

बुढानीलकण्ठमा कांग्रेस र जसपा नेताहरुबीच छलफल

कांग्रेस पदाधिकारी बैठकको फाइल तस्वीर

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकस्वरमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थाल्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर सरकार गठनमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई देखाएर देउवाले अझै आँट गरेका छैनन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि सरकारका लागि जोडघटाउ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन जसपाको साथ खोजेका छन् भने माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा एमाले इतरको सरकार बनाउन प्रस्ताव गरेको छ ।

तर ‘वेटिङ प्राइमिनिस्टर’ भनिने विपक्षी दलका नेता देउवाले सरकारको नेतृत्व गर्न रुची देखाएका छैनन् । यही कारण जसपा, ओलीतिर जानसक्ने विश्लेषण गर्दै कांग्रेस शीर्ष नेताहरुले एक स्वरमा सरकारको नेतृत्व लिने पहल थाल्न आग्रह गरेका हुन् ।

देउवाकै निवास बुढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा नेताहरुले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थाल्न आग्रह गरेका हुन् । ‘तपाईं अगाडि बढ्नुस्, सहयोग गर्नुपर्ने भए पनि भन्नुस्, हामी तय छौं’ बैठकमा सहभागी पौडेल पक्षीय एक नेताले अनलाइनखबरसँग भने ।

बुढानीलकण्ठ जानुअघि पौडेल पक्षीय नेताहरुको बैठक महामन्त्री शशांक कोइरालाको निवास, महाराजगञ्जमा बसेको थियो । त्यही छलफलले सरकारको नेतृत्वका लागि पहल गर्न सभापतिलाई आग्रह गर्ने साझा धारणा बनाएको थियो ।

त्यहाँ जसपाले अघि सारेका शर्तबारे समेत छलफल भएको थियो । नेताहरुका अनुसार संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जसपाको शर्तमा कांग्रेसले यसअघि सहमति जनाएको थियो । २०७४ को चुनावअघि कांग्रेस–माओवादी गठबन्धन सरकारले संशोधन प्रस्ताव संसदमा लगेको पनि थियो ।

रेमश चौधरीको रिहाइको सन्दर्भमा भने कांग्रेस बोलेको छैन । तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहमत हुनसक्छन् भने कांग्रेस नहुनुपर्ने कारण नभएको नेताहरु बताउँछन् ।

‘जसपाले कांग्रेस नमानेका कारण एमालेतिर गयौं भन्ने अवस्था सिर्जना गर्नुहुन्न’ एक नेता भन्छन्, ‘जसपाले उठाएका मुद्दाहरु सम्बोधन गर्ने सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्छ ।’

केपी शर्मा ओलीले स्वतन्त्र र निष्पक्ष चुनाव नगर्ने भएकाले पनि कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउनुपर्ने अधिकांश नेताहरुको धारणा थियो ।

महामन्त्री निवासमा भएको भेलामा अनुपस्थित कृष्णप्रसाद सिटौला पदाधिकारी बैठकमा उपस्थित थिए । उनले पनि कांग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार गठनका लागि पहल लिनुपर्ने र जसपाका माग सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेताहरुले एक स्वरमा सरकारको नेतृत्व लिने पहल लिन आग्रह गरिरहँदा पनि देउवा धेरै उत्साहित नदेखिएको एक नेताले बताए । सरकार गठनबारे जसपामा दुई मत रहेको र एउटै निर्णयमा पुग्नसक्छन् भन्ने नभएको उनले बताएका छन् ।

जसपासँग वार्ता कति सकारात्मक ?

पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक लगतै कांग्रेस शीर्ष नेताहरुले जसपा शीर्ष नेताहरुसँग छलफल गरेका छन् । कांग्रेस नेताहरुसँग छलफल गर्न जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई बूढानीलकण्ठमा पुगेका थिए ।

जसपा नेताहरुले सत्ता सहयात्राका लागि रेशम चौधरीलगायतका बन्दीहरुको रिहाई, मुद्दा फिर्ता र संविधान संशोधन आफूहरुको भएको बताए । यद्यपि बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु प्रधानमन्त्रीबाट ओलीलाई विदा गरिहालौं भन्ने पक्षमा देखिएका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतोले एजेण्डा संबोधन हुनुपर्ने बताएका छन् । आफूहरुको मुद्दाबारे एमालेसँग कुराकानी गरिसकेको र छिट्टै माओवादी केन्द्रका नेताहरुसँग पनि सम्वाद गर्ने उनीहरुले बताए ।

कांग्रेस शीर्ष नेताहरुले भने जसपा–माओवादी केन्द्र वार्तापछि फेरि सम्वाद गर्ने वचन दिएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी कांग्रेसले अग्रसरता लिनुपर्ने र कांग्रेस–माओवादी–जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको बताए । ‘ठोस रुपमा हामी यो टुंगोमा पुगेका छौं भनेर भनिहाल्ने बेला भएको छैन’ उनले भने ।

भेटपछि जसपा अध्यक्ष ठाकुरले पनि आफूहरुको एजेण्डा राखेको, तर कुनै सहमति भइनसकेको बताए । कांग्रेससँग समग्र विषयमा छलफल भएको भन्दै उनले भने, ‘हामीले आफ्नो एजेण्डा राखेका छौं । तर केही सहमति भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment