Comments Add Comment

घरका छतमा लोभलाग्दो कौशी खेती

२९ फागुन,बुटवल । सहर-बजारमा घर हुनेहरु सबैको करेसाबारी र खाली जग्गा नहुन सक्छ । खाली जग्गा र करेसाबारी नभएपछि तरकारी खेती गर्न चाहे पनि कहां गर्ने ? तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै अब घरको छतमै मज्जाले कौशी खेती गरेर तरकारी फलाउन सकिन्छ । यसको उदाहरण बनेकी छन् रुपन्देहीको तिलोत्तमा-५ की सावित्रा भण्डारी ।

२९ वर्षीया सावित्राले घरको छतमा लोभलाग्दो कौशी खेती गरेर धेरैको वाहवाही बटुलिरहेकी छन् । १० धुर क्षेत्रफलमा बनेको घरको छतमा उनले बजारबाट पोलिथिन ब्याग, गमला र विभिन्न प्रकारका क्यारेट ल्याएर तिनमा माटो र प्राङ्गगारिक मल भरेर घरको छतभरि तरकारी, फलफूल र बेमौसमी फूलले हरियाली बनाएकी छन् ।

छतभरि बन्दागोभी, फूल गोभी, गोलभेँडा, सिमी, खुर्सानी, रायो साग, भान्टा, लसुन,प्याज,कुरिलोलगायतका तरकारी लटरम्म फलेको देख्दा जो कोहीको मन लोभिन्छ । तरकारीसँगै उनले विभिन्न जातका फूल, मरौटी, घ्यूकुमारी जस्ता जडिबुटी पनि हुर्काउन भ्याएकी छन् ।

छतमै तरकारी फल्न थालेपछि सावित्रालाई ४ महिनादेखि हाटबजार गएर हरियो तरकारी किन्नु परेको छैन । सावित्राले छतमा चारसय क्यारेट र प्लास्टिकका झोला अटाएकी छन् । ‘घरलाई खान पुग्ने तरकारी फलेको छ, बजारबाट किन्नुुपरेको छैन,बरु आफन्तलाई बाँडेकी छु,’ उनले भनिन् ।

सावित्राले घरको छतमा गरेको कौशी खेती हेरेर अनुशरण गर्न दिनहुंजसो आसपासका ठाउँबाट गृहिणी र अरुको भीड लाग्ने गरेको छ । प्रदेश कृषिमन्त्री र सांसदहरु पनि उनको कौशी खेती हेर्न पुगेका छन् ।

कैयौं युवा युवती त टिकटक बनाउनकै लागि पनि उनको कौशी खेतीसम्म आइपुग्छन् । कोरोना महामारीका कारण गतवर्ष भएको लामो लकडाउनमा फुर्सदिलो भएर घरमै बस्नुपर्दा सावित्राले युट्युबमा हेरेर कौशी खेतीतर्फ आकर्षित भएकी हुन् । ‘युट्युबमा हेरेर सिकेकी हुँ,खाली बस्नुभन्दा घरमै केही गरौं भनेर मेहनत गरेको राम्रो भयो, अब कौशीखेतीलाई ब्राण्ड बनाउँछु,’ सावित्राले भनिन्, ‘दिनमा सरदर १०-१५ जनाका दरले कौशी खेती हेर्न आउनुहुन्छ,धेरैजसोले कसरी गर्ने भन्ने सिकेर जानुहुन्छ ।’

उनको सिको गरेर अहिले सिद्धार्थ टोलका धेरै महिलाले घरको छत, कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न थालेका छन् । घरमै गृहिणीको रुपमा सीमित सावित्रालाई अहिले ‘कौशी क्वीन’ भनेर चिन्छन् ।

कौशी खेतीका लागि आवश्यक प्रांगारिक मल कुहिने खालको घरायसी फोहोर व्यवस्थापन गरेर सावित्राले घरमै तयार गर्छिन् । प्रदेश कृषिमन्त्री आरती पौडेलले घरमै पुगेर उनको कामको सराहना गर्दै मन्त्रालयको तर्फबाट कदरपत्रले सम्मान गरिन् र कौशी खेतीलाई घरघरमा फैलाउन सुझाव दिइन् ।

मन्त्रीको सुझावअनुसार सावित्राले बुटवलमा कौशी खेतीका लागि आवश्यक पर्ने पोलिथिन ब्याग, गमला,मल, माटो र बीउ विक्रि गर्ने शोरुम सञ्चालन गर्ने र कौशी खेती तालिम तालिम दिंदै हिंड्ने योजना बुनेकी छन् । ‘खाली जग्गा र करेसाबारी नभएपनि छतमा तरकारी फलाउन सकिन्छ भन्ने अभियान चलाउँछु,’ सावित्रा भन्छिन्, ‘सहरका हरेक घरका छतमा तरकारी फलाउने हो भने विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र ब्यापार घाटा थोरै भए पनि घटाउन सकिन्छ ।’

छतमा कौशी खेतीका लागि स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी योजना ल्याउनुपर्ने नर्सरी अभियान्ता रमेश पाण्डे बताउँछन् । ‘सहरमा घर हुने तर जग्गा नहुनेका लागि कौसी खेती घरायसी प्रयोग र सामान्य घर खर्च धान्नका लागि आर्थिक उपार्जनको सजिलो माध्यम बन्न सक्छ,’ पाण्डेले भने, ‘तीनै तहका सरकारको ध्यान यसमा जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment