Comments Add Comment

विदेशबाट फर्केका युवा गाउँमै व्यावसायिक कालिज पालन गर्दै

१ चैत, गुल्मी । सरकारले युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसाय सुरु हुन थालेका छन् । पछिल्लो समय जंगली चरा कालिजको मासुको बजार राम्रो भएपछि गुल्मीमा यसको व्यावसायिक पालन सुरु भएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका हुमाकान्त अर्यालले अहिले आफ्नै गाउँमा व्यावसायिक कालिज पालन गरेका छन् । रोजगारीको सिलसिलामा ७ वर्षसम्म कतार बसेका अर्यालले काभ्रेका एकजना साथीले कालिज पालेको देखेर आफैले पनि सुरु गरेको बताए । उनले ३५ लाख रुपैयाँको लगानीमा सौगात अर्गानिक कृषि फर्म एण्ड रिसर्च सेन्टरमार्फत कालिजसँगै लौकाट र कर्टी चरा पालेका छन् ।

अर्यालले ४ रोपनी जग्गामा घेराबन्दी गरेर कालिज पालन गर्दैै आएका छन् । गत साउनदेखि फर्म तयार गरेर ३ सय कालिजका चल्लाबाट व्यवसाय सुरु गरेको उनले बताए ।
उनको फर्ममा फ्रान्स र डेनमार्क जातको कालिज छन् । ‘पछिल्लो समय स्थानीय सरकारले किसानको उत्पादन बढाउन यन्त्र उपकरण लगायत र बजार व्यवस्थापनमा सहयोग गर्न थालेपछि अझ सहज भएको छ,’ उनले भने ।

रेसुङ्गा नगरपालिकाले किसानका उत्पादनको बजारीकरण गर्न पनि सहयोग गर्दै आएको अर्यालले बताए । कालिजको चल्ला राखेको ५ महिनापछि बल्ल बेच्न लायक हुन्छ । अहिले अर्यालको फर्मबाट कालिज बिक्री गर्न सुरु भएको छ । एउटा कालिज औसत ३५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

उनको फर्मबाट उत्पादित कालिजको माग काठमाडौं लगायत मुख्य सहरहरुमा पनि हुने गरेको छ । कालिज बिक्री गर्न योग्य बनाउन धेरै समय लाग्ने र उत्पादन पनि कम भएको मूल्य महँगो पर्न जाने उनी बताउँछन् ।

विदेशमा पसिना बगाउनुको साटो स्वदेशमै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने अर्यालले बताए । उनको फर्ममा चाँडै ‘ह्याचरी’ पनि सुरु गर्ने तयारी भइरहेको अर्यालले बताए ।

फर्ममा तयार भएका भाले कालिज मासुको रुपमा बिक्री गरिने र पोथी कालिजबाट अण्डा उत्पादन गरी चल्ला उत्पादन गर्ने योजनाअनुसार काम अघि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment