Comments Add Comment

नेपाल सुपर लिग फुटबल वैशाख ११ देखि, कसरी खेलाइन्छ ?

२ चैत काठमाडौं । २०७८ सालको सुरुवातसँगै नेपालमा पहिलो फ्रेन्चाइज सुपर लिग सुरु हुँदैछ ।

चौधरी ग्रुप अन्तर्गतको नेपाल स्पोर्ट्स तथा इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) को आयोजनामा वैशाख ११ देखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ (एनएसएल) आयोजना हुने आइतबार काठमाडौंमा एक कार्यक्रममार्फत जानकारी दिइएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोग रहने एनएसएलको पहिलो संस्करणका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । सन् २०१९ जनवरी १ तारेखमा एन्फा र एनएसईएमबीच २०७६ साल वैशाख-जेठमा एनएसएल आयोजना गर्ने गरी सम्झौता भएको थियो । तर त्यसको दुई वर्षपछि मात्र यसले मूर्त रुप लिन लागेको छ ।

फ्रेन्चाइज टिममा लगानी गरेका टिम मालिकहरु पनि पहिलो पटक हुन लागेको नेपाल सुपर लिग फुटबलबाट उत्साहित छन् ।

आयोजकले ७ टिमले प्रतिस्पर्धा गर्ने र सिंगल राउण्ड रोविन लिगको आधारमा प्रतियोगिता खेलाइने जनाएको छ । तर यसको खेलतालिका लगायत अन्य विवरण सार्वजनिक हुन बाँकी छ ।

कस्ता छन् टिम ?

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा एनएसएल खेल्ने सात टिम र टिम मालिकको नाम सार्वजनिक गरिएको छ ।

जसअनुसार विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबले एनएसएल खेल्नेछन् ।

सबै टिम व्यवसायिक घरानाको स्वामित्वमा छ । यसअघि आयोजकले सातवटै प्रदेशको प्रतिनिधित्व गरी टिम तयार पार्ने जनाएको थियो । तर पाँच वटा प्रदेशको ७ टिम घोषणा भएको छ । जसमा वाग्मती प्रदेशबाट तीन वटा टिम छन् भने प्रदेश २ र कर्णालीका टिम सहभागी छैनन् ।

खेलाडी कसरी छनोट गरिन्छ ?

फुटबल खेलाडीको छनोट बोलकबोलबाट गरिन्छ । यसअघि नेपालमा क्रिकेटको खेलाडीको अक्सन भए पनि फुटबलमा अक्सन हुन लागेको पहिलो पटक हो ।

अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग खेल्ने क्लबका उत्कृष्ट खेलाडी समावेश गरी अक्सनका लागि १४० खेलाडी उपलब्ध गराउनेछ । ती खेलाडीको अक्सनबाट टिमहरुले खेलाडी छनोट गर्नेछ ।

खेलाडीलाई ए, बी र सी गरी तीन समूहमा विभाजन गरिनेछ र त्यहीअनुसार उनीहरुको मूल्य राखिनेछ । यस्तै विदेशी खेलाडीको छुट्टै समूह हुनेछ । एउटा टिममा २० वा २१ खेलाडी हुनेछन् । जसमा ३ जना विदेशी खेलाडी राख्न पाइनेछ ।

यस्तै मार्की खेलाडी पनि टिममा हुनेछन् । धनगढी एफसीले सोमबार नै आफ्नो मार्की खेलाडीको नाम सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार विदेशी खेलाडीबाहेक एउटा फ्रेन्चाइज टिमले खेलाडीका लागि १८ देखि २० लाखसम्म खर्च गर्नेछन् । जसमा एक खेलाडीको अधिकतम मूल्य २ लाख सम्म हुने चर्चा छ । आयोजकले अहिलेसम्म यसको पुरस्कार राशीबारे भने सार्वजनिक गरेको छैन ।

शहीद स्मारक लिगको भविष्य के हुन्छ ?

नेपाल अहिले एन्फाले शहीद स्मारक लिग ए डिभिजन, बी डिभिजन र सी डिभिजन आयोजना गर्दै आएको छ । यस्तै सी डिभिजनको लागि छनोट खेल पनि सुरु भएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसएस व्यवसायिक रुपमा हुन लागेको लिग भएकाले यसले छुट्टै इतिहास बनाउने बताए । उनले शहीद स्मारक लिग कायम रहने र त्यसलाई पनि व्यवसायिक बनाउँदै लैजाने बताए । यस्तै एनएसएसलाई पनि व्यवस्थित गर्दै लैजाने उनको भनाइ छ ।

‘एनएसएले अब साच्चै नेपाली फुटबललाई व्यवसायिकतातर्फ लैजाने मैले विश्वास लिएको छु । तर, ठूलो माछा आयो, सानो माछालाई खाइदिन्छ भनेर धेरैले शंका गरेका छन् । कोही डराउन आवश्यक छैन ।

हामी नेपालमा चलिरहेको लिगलाई पनि व्यवस्थित बनाउँदै छौं । यसको पनि समय केही लम्ब्याउने छौं’ उनले एनएसएसको टिम घोषणा कार्यक्रममा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment