Comments Add Comment

खेलकुदमय चैत महिना, त्रिदेशीय फुटबलदेखि राष्ट्रिय भलिबलसम्म

फाइल तस्वीर : दशरथ रंगशालामा अभ्यास गर्दै नेपाली फुटबल टिम ।

१ चैत, काठमाडौं । कोरोना भाइरसको महामारी नभएको भए नेपालको पुरुष फुटबल टिम र क्रिकेट टिम धमाधम तयारीमा हुन्थे । उनीहरुले गत वर्ष चैतमै विश्वकप फुटबलको छनोट प्रतियोगिता र आईसीसी विश्वकप लिग-२ ट्राइसिरिज खेल्नुपर्ने थियो ।

त्यतिबेला स्थगित भएको विश्वकप फुटबलको छनोट खेल अब मे ३१ देखि जुन १५ भित्र (२०७८ जेठ ७ देखि असार १५ गतेभित्र ) मा कुवेतमा हुनेछ ।

ओमानमा नेपाल, अमेरिका र ओमान सम्मिलित लिग २ को ट्राई सिरिज अनिश्चितकालका लागि स्थगित भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित भएर फुर्सदमा रहेका खेलाडीले फागुन २२ देखि २९ गतेसम्म काठमाडौं मेयर्स कप क्रिकेट खेल्न पाए ।

फुटबलका भने केही घरेलु प्रतियोगिता सञ्चालन भएका छन् । अखिल नेपाल फुटबल संघले चैत महिनामा तीन देशको सहभागितामा फुटबल प्रतियोगिता आयोजना गरी दशरथ रंगशालमा अन्तर्राष्ट्रिय फुटबल फर्काउने तयारी गरेको छ ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि नेपाली खेलकुद भने २०७७ को चैत महिनाभर व्यस्त हुने भएको छ । त्रिदेशीय फुटबलबाहेक पनि चैतमा एन्फा प्रेसिडेन्ट लिग र सी डिभिजन लिग पनि हुँदैछ । यस्तै नेपाल भलिबल संघले यसै महिला एनभीए क्लब लिग भलिबल च्याम्पियनसिप आयोजना गर्दैछ जसमा महिला र पुरुष दुवैको प्रतियोगिता हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानले महिला टी-२० क्रिकेट प्रतियोगिता पनि आयोजना गर्दैछ । नेपाल ब्याडमिन्टन संघले पनि राष्ट्रिय प्रतियोगिता गर्दैछ । फुटबलमै नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको छनोट चरणको खेल खेल्दैछ ।

चैत महिनामा हुने खेलकुद प्रतियोगिताहरु:

एन्फा प्रेसिडेन्ट लिग

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुँदैछ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल क्लब, प्रदेश २ को विजेता रौतहटको मनकामना युवा क्लब, बागमती प्रदेशको विजेता धादिङको धादिङ समाज, गण्डकी प्रदेशको विजेता लमजुङको त्रिवेणी युवा क्लब, लुम्बिनी प्रदेशको विजेता बाँकेको धमबोजी स्पोर्ट्स क्लब, कर्णाली प्रदेशको विजेता जुम्लाको लेकाली युवा क्लब र सुदूरपश्चिमको विजेताको कैलालीको स्टार सिटी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिग सिंगल राउण्ड रोविनका आधारमा हुनेछ । लिग चरणपछि शीर्ष चार टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

त्रिदेशीय फुटबल प्रतियोगिता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैतमा थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म दशरथ रंगशालमा हुनेछ ।

प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानले खेल्ने एन्फाले जनाएको छ । कीर्गिस्तानको भने यू-२३ टिम आउनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ४ खेल हुनेछ ।

विश्वकप छनोट अन्तर्गत खेल स्थगित भएपछि एन्फाले त्यो समयमा थ्री नेसन्स कप गर्ने निर्णय गरेको हो ।

मार्च ३० मा दशरथ रंगशालमा नेपालले अस्ट्रेलियासँग खेल्ने खेल स्थगित भएको छ । त्यसअघि मार्च २५ मा चाइनिज ताइपेईसँग खेल्ने भनिएको खेल पनि स्थगित भएको छ । स्थगित यी दुबै खेल कुवेतमा हुने तय भएको छ ।

सी डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७६ सालमा कोभिडका कारण हुन नसकेको शहीद स्मारक सी डिभिजन लिग २०७७ चैतमा गर्दैछ ।

चैत १ गते सुरु सी डिभिजन १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् र एक टिम रेलिगेसनमा पर्नेछ ।

सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ । पहिलो चरणपछि सुपर लिग हुनेछ जसमा ९ खेल हुनेछ । रेलिगेसनका लागि एक प्लेअफ खेल हुनेछ

पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली दोस्रो चरण अर्थात सुपर सिक्समा प्रवेश गर्नेछन् । जहाँ एक टिमले तीन खेल खेल्नेछ । सुपर सिक्सको एउटा समूहको क्लबले अर्को समूहको तीन क्लबसँग मात्र खेल्नेछ ।

त्यस्तै दुवै समूहको पुछारमा रहने टोलीबीच रेलिगेसनको लागि प्लेअफ खेल हुनेछ । उक्त खेलमा पराजित हुने टोली ‘सी’ डिभिजन क्वालिफायरमा घटुवा हुनेछ । सुपर लिगको ९ खेलपछि शीर्ष तीन टोली ‘बी’ डिभिजन लिगमा बढुवा हुनेछन् ।

एनभीए भलिबल

नेपाल भलिबल संघको आयोजनामा पाँचौं आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल चैत १९ देखि २६ गतेसम्म हुँदैछ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष चैतदेखि कोरोना महामारीले गर्दा लकडाउन भएपछि लिग एक वर्ष पछि हुन लागेको हो ।

गत वर्ष माघमा भएको एनभीए क्लब भलिबल च्याम्पियनसीपबाट उत्कृष्ट ८ पुरुष टिम र उत्कृष्ट ६ महिला टिम छनोट भएको हो ।

लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरी कुल ४३ खेल हुनेछ । सिंगल लिगपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेता महिला र पुरुष टिमले ३ लाख हात पार्नेछन् । यस्तै उपवपजेताले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथो हुनेले ३७ हजार ५ सय पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले २५-२५ हजार पाउनेछन् भने उत्कृष्ट लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आहा रारा गोल्ड कप

मोफसलकै प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकपको १९ औं संस्करण चैत २१ देखि २८ गतेसम्म पोखरा रंगशालमा आयोजना हुँदैछ । पोखराको सहारा फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा यस पटक एक विदेशीसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, थ्री स्टार, नेपाल एपीएफ, संकटा, मछिन्द्र, अफ्रिकन रुट एसोसिएसन क्यामरुन र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उपाधि जित्नेले १० लाख १ हजार नगद प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख १ हजार नगद पाउनेछ ।

यस्तै सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ पुरस्कारबाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्नेछ । सम्मानित हुनेले ३५ हजार रुपैयाँ पाउनेछन् ।

ललितपुर मेयर कप महिला टी २० क्रिकेट

नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकासंग सहकार्यमा ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । चैत महिनाभित्रै उक्त प्रतियोगिता हुने पक्का छ । तर मिति भने सार्वजनिक हुन बाँकी छ ।

प्रतियोगितामा गत पुसमा दाङमा भएको प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल खेलेका चार टिम प्रदेश १, एपीएफ, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

एएफसी कप प्रिलिमिनरी राउण्ड म्याच

नेपालको त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी)ले एएफसी कप २०२१ अन्तर्गत प्रिमिलिनरी राउण्डमाको पहिलो खेल श्रीलंकाको श्रीलंकन पुलिस टिमसंग खेल्नेछ ।

एएफसी कपको समूह चरण पुग्गनका लागि आर्मी क्लबले दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंका पुलिससंग चैत ७ मा घरेलु मैदानमा खेल्ने तय छ । एएफसीका अनुसार आर्मीले रंगशालामा उक्त खेल खेल्ने उल्लेख छ ।

एएफसीले यसअघि सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली क्षेत्रमा प्लेअफ खेल्नुपर्ने भएको हो ।

यो प्लेअफको विजेता बन्ने टोली मात्र एएफसी कपको मुख्य ड्र को समूह डी मा पुग्नेछ । जहाँ समूह डीमा भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया रहेका छन् ।

प्लेअफबाट मुख्य प्रतियोगितामा पुग्न आर्मीले तीन खेल जित्नुपर्नेछ । जसअनुसार पहिलो चरणमा आर्मीले श्रीलंका पुलिससंग खेल्नेछ । यो खेल जित्ने टोलीले भारतको बेंगलुरु फुटबल क्लबसंग अप्रिल १४ मा खेल्नेछ । यो खेलको विजेताले अर्को समूहबाट आउने टोलीसंग प्लेअफ फाइनल खेल्नेछ ।

प्लेअफको अर्को समूहमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटी खेल्नेछन् । उक्त खेलको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ र यसको विजेता प्लेअफ फाइनलमा पुग्नेछ । प्लेअफ फाइनल खेल अप्रिल २१ मा हुनेछ ।

योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन

नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराइज एनबीए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत १५ देखि १८ गतेसम्म दशरथ रङ्गशालास्थित कभर्डहलमा हुनेछ ।

च्याम्पियनसिपमा पुरुष तथा महिला एकल, पुरुष तथा महिला युगल, मिश्रित युगल, ब्वाइज तथा गर्ल्स यू-१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

र्‍याङ्किङ प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध जिल्ला ब्याडमिन्टन संघ र आवद्ध हुन बाँकी जिल्ला, विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफल क्बलका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment