Comments Add Comment

हात्तीको आक्रमणबाट बच्न गणेशको पूजा

फाइल तस्वीर

२ चैत, झापा । बिहानीपख भालेको डाकसँगै बारीमा सर्‍याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भनिन्, ‘छिटो उठ्नुस्, भागाैं‌, हात्ती आइसक्यो ।’

झापाको भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बेरा र टिनको छानो भएको सानो घरमा बस्दै आएका छन् पदमबहादुर राईको दम्पती । उनीहरु नजिकको जलथल जंगलबाट गाउँ पसेको जंगली हात्तीको आक्रमणबाट बच्न एक महिनाअघि गरेको प्रयास थियो त्यो ।

‘त्यसछि ओछ्यानबाट उठेर आँखा मिच्दै आँगनमा पुगेँ,’ ६६ वर्षीय पदमबहादुरले हात्तीसँगको मुठभेडमा कालको मुखबाट उम्किएको कथा सुनाउन थाले । ‘लामो दाह्रा हल्लाउँदै एउटा हात्ती मेरो अघि उभिएको थियो । म पूर्वतिर सास नफेरी भागेँ । बीस फड्को मारिनसक्दै हात्तीले लखेटेर समायो । सूँढले बेरेर पहिले लडायो, अनि खाँबो जत्रो खुट्टा र भालुबास जत्रो सूँढले लतार्न थाल्यो । म खेतको आली मुन्तिर ढुन्मुनिएर पछारिएँ ।’

पदमबहादुर भन्दै थिए, ‘उसले मलाई टाङमुनि हालेर कुल्चेर मार्न खोजिरहेको थियो । मैले बाँच्ने आश मारिसकेको थिएँ । तैपनि मर्ने नै भइसकेपछि किन नभिड्नु भन्ने सोचेर हातमा भएको फगी लाइटले उसको सूँढमा लगातार बेस्मारी हिर्काइरहेँ । मलाई सूँढले बेर्न खोजिरहेको थियो । दाह्राले मलाई भुइँमा धस्न खोज्यो । उसको दाह्रा आलीको डिल भत्काउँदै छलिएर गयो । उसले खुट्टाले कुल्चिन खोज्यो, मैले सर्पले झैँ जीउ बटारेर छलेँ । भुइँको माटोको धुलो मुठ्याएर हात्तीको आँखैमा फ्याँकिदिएँ । फेरि मैले फगी लाइट र मुड्कीले उसको सूँढको टुप्पो र निधारमा हिर्काइरहेपछि हात्ती क्वाँ गर्दै कराएर पछाडि हट्यो ।’

घरजत्रो भीमकाय जंगली हात्तीलाई भिडन्तमा यसरी पराजित गर्न सकुँला भन्ने उनले कल्पनासम्म गरेका थिएनन् । माघ महिनामा चारैतिर बाक्लो हुस्सु लागेका कारण नजिकैको वस्तु देख्न मुस्किल थियो । मुठभेडमा हात्ती हच्किएर ५० मिटर जति पर भागेपछि पदमबहादुरले लामो सास फेर्दै परालको माचमा छलिएर बचेखुचेको तागत निकाल्दै पूर्वैतिर घस्रिएर भागेको बताए ।

‘म जसोतसो पल्लो गाउँको छेउमा पुग्दा गाउँलेहरु मतिरै आउँदै गरेजस्तो लाग्यो । ‘श्रीमानलाई हात्तीले मार्‍यो, बचाउ बचाउ’ भन्दै मेरी श्रीमतीले गाउँलेहरुलाई गुहारेर ल्याउँदै गरेको भेटेँ । जब मलाई उनीहरुले जिउँदै देखे, अनि त सबैजना छक्क परे ।’ उनले त्यो रातको कथा सुनाए । श्रीमती पवित्रा राई भने हात्तीले आफ्नो पतिलाई आक्रमण गरेर मारेको ठानी गुहार माग्दै पल्लो गाउँ पुगेकी थिइन् ।

पदमबहादुर बस्ने भद्रपुर–१ मा विगत तीन वर्षमा तीनजनाले हात्तीको आक्रमणमा मृत्युवरण गरिसकेका छन् । मुठभेडमा बाँच्नेमा उनी एक्लो हुन् । प्राय: हात्तीले मानिसमाथि आक्रमण गर्दा सूँढले बेरेर भुइँमा पछार्ने, बलिष्ठ खुट्टाले कुल्चिने र तीखो दाह्राले शरीरमा धस्ने गर्दछ । हात्तीले पदमबहादुरलाई आक्रमण गर्दा मार्नका लागि सक्दो प्रयास गरेको थियो ।

हात्तीको ज्यानमारा आक्रमणबाट बाँच्नुलाई अर्को जन्म ठानेका उनले त्यसपछिका रातहरु पनि ढुक्कले निदाउन सकेका छैनन् । हात्तीको आक्रमणमा उनको ढाड, खुट्टा र हातमा चोट लागेको थियो । अहिले पनि चोटहरु दुखिरहने उनले बताए । उपचारका लागि एक दिन मेची अस्पतालमा बिताएपछि पदमबहादुर दम्पतीले १३ दिनसम्म घरमा दैलो लगाएर पल्लो गाउँका चन्द्रबहादुर सुब्बाको घरमा शरण लिएर रात बिताउनु परेको थियो ।

मुठभेडमा बाँचेपछि एक दिन भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले फोन गरेर ‘पदम दाइ म भेट्न आउन सकिनँ, नयाँ जीवनको शुभकामना छ’ भनेको उनले सुनाए । एक दिन बाँचे पनि हरेक दिन हात्ती गाउँ पस्ने गरेका कारण पदमबहादुरको मनमा त्यस्तै घटना फेरि दोहोरिने हो कि भन्ने चिन्ता बाँकी नै छ ।

‘घाइते भएको हात्ती बदला लिन फेरि आउँछ भनेर गाउँलेहरुले डर देखाउनु भएको छ । रातभरि निद्रा लाग्दैन । उहाँ (पदमबहादुर) पनि राति हात्ती आएको सपना देखेर झस्किएर ब्युँझिने गर्नुहुन्छ” पदमबहादुरकी पत्नी पवित्रा राईले भनिन् ।

हात्तीको आक्रमण फेरि नहोस् भनेर उनीहरुले घरको पहिलो ढोकानेर गणेशको मूर्ति राखेर दैनिक पूजापाठ गर्न थालेका छन् । ‘हात्तीलाई मैले सूँढ र निधारमा हिर्काएर चोट लगाएको छु । त्यो चोटको बदला दिन नआउनुहोस् भन्दै गणेश भगवानसँग माफी माग्दै पाठपूजा गर्दैछु । गाउँलेहरुको सल्लाह मानेर यसो गरेको हुँ’ गणेशको मूर्ति राखेको स्थान देखाउँदै पदमबहादुरले भने ।

उनको घरसँगै सडक जोडिएको छ । सडकसँग जलथलको घना चारकोसे जंगल टाँसिएको छ । वरिपरिका सात घर हात्तीको त्रासले बसाइँ हिँडेर अन्यत्रै गएपछि अहिले पदमबहादुरको घर एक्लै भएको छ । अर्को जन्म पाएसरहका उनको अवस्था बुझ्न स्थानीय सरकार र सम्बद्ध निकायबाट आजसम्म कोही पुगेका छैनन् ।

२५ वर्षदेखि बसोबास गर्दै आएका उनले सरकारबाट पुनर्वास परियोजनामार्फत् पाएको १५ कठ्ठा पाखो जग्गा छाडेर बसाइँ हिँड्न चाहेका छैनन् । ‘बेचौं भने जग्गा कसैले किन्दैन, छाडेर जान मनले मान्दैन,’ उनी भन्छन्, ‘लगाएको मकै, कोदो, धान र तोरी बाली पनि हात्तीले नै खाइदिन्छ । बाँच्न गाह्रो भएको छ हामीलाई’ दिनभरि जंगलमा आराम गर्ने हात्तीले रात परेपछि गाउँमा पसेर बाली खाएर र कुल्चेर क्षति पुर्‍याउने गरेका छन् ।’

घर माया मार्न नसकेपछि पदमबहादुरले हात्तीबाट बँच्न घर वरिपरि बिजुलीको तार टाँगेका छन् । राति ८ बजेपछि त्यो तारमा बिजुलीको करेन्ट प्रवाह गरिन्छ । बिहान ४ बजे मात्र करेन्ट बन्द गरिन्छ । उनले आफ्नो घर चारपटक हात्तीले भत्काउने प्रयास गरिसकेको बताए । हात्तीको डरले साँझ परेपछि घरभित्र पसेर दैलो लगाउने गरेका उनले बिहान उज्यालो भएपछि मात्र ढोका खोलेर बाहिर निस्कने गरेको बताए ।

स्थानीयवासीका अनुसार चारकोसे जलथल जंगलमा तीनवटा हात्ती बस्दै आएका छन् । आहारको खोजीमा गाउँ पसेका बेला तिनले घर भत्काउने र मानिसमाथि हिंसात्मक आक्रमण गर्दै आएका छन् । सरकारले जंगल वरिपरि विद्युतीय तारबार गरेको छ । तर त्यसलाई छिचोलेर हात्ती गाउँसम्म सजिलै पुग्ने गरेका छन् । थुप्रै स्थानमा बिग्रिएका विद्युतीय तारबारको समयमै मर्मत सम्भार हुने गरेको छैन ।

एक दशकअघिसम्म झापाको उत्तरी क्षेत्रका बाहुनडाँगी, बुधबारे, मेचीनगर र खुदुनाबारीमा मात्र हात्तीको आक्रमण हुन्थ्यो । तर अचेल जिल्लाको दक्षिणी क्षेत्रका भद्रपुर, कचनकवल, हल्दिबारी र बाह्रदशी पालिकामा जंगली हात्तीको आक्रमण र त्यसबाट हुने क्षति बढिरहेको छ । मानवीय क्षति पनि बढेको बढ्यै छ ।

ग्यास्ट्रिक, प्रेसर, दम, प्रोस्टेटलगायतका विभिन्न रोगका बिरामी रहनुभएको पदमबहादुरको दम्पत्तीलाई रोग र भोकले भन्दा हात्तीको आक्रमणबाट अचानक मरिएला कि भन्ने त्रास सताएको छ । आफूसँग रहेको एउटा फगी लाइट हात्तीसँगको भिडन्तमा फुटेर बिग्रिएपछि उनीसँग अहिले राति बाहिर हेर्ने उज्यालोको कुनै प्रबन्ध छैन । सरकारका कुनै निकायले पनि उनलाई हात्तीबाट बचाउन सहयोग गरेका छैनन् ।

पदमबहादुर हात्तीको जतिसुकै त्रास भए पनि थातथलो छाडेर नजाने बताउँछन् । उनको ३५ वर्षीय जेठो छोरा किशोर र ३० वर्षीय कान्छो छोरा मनकुमार छन् । जेठो छोरा ब्रेन ट्युमरको बिरामी भएपछि बुहारीले पनि छाडेर गइसकेको र उपचारमा १६ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । दुवै छोरा वैदेशिक रोजगारीमा गएर फर्किए पनि सबै कमाइ उपचारमै सकिएको उनले बताए ।

सरकारले हात्तीले मानिसको मृत्यु हुँदा १० लाख राहत मृतकका परिवारलाई प्रदान गर्दै आएको छ । झापामा हात्तीको आक्रमण बन्द गर्ने भरपर्दो कुनै प्रबन्ध नहुँदा वर्षेनी मानिसको ज्यान जाने गरेको छ । जंगलमा घाँस काट्न जाँदा, बाटोमा हिँड्दा मात्र होइन, घरमा राति सुतिरहेका बेलासमेत आक्रमण हुँदा हात्तीका कारण सर्वसाधारणको ज्यान जाने गरेको छ । मृत्युको मुखबाट फुत्किएर बाँचेका पदमबहादुर जस्ता नागरिकका लागि भने सरकारले अलिकति सहानुभूतिस्वरुप आर्थिक सहयोग पुर्‍याउनसमेत सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment