Comments Add Comment

फुटपाथमा फलफूल बेच्नेमाथि नगर प्रहरीको धरपकड

४ चैत, विराटनगर । ‘दिनको आम्दानी २-४ सय रुपैयाँ हुन्छ, हिजो मात्रै एक हजार रुपैयाँ जरिवाना तिरे, सधैं जरिवाना तिर्दा हातमुख जोड्नु कसरी ?’ बुधबार दिउँसो दलबलसहित पुगेको नगर प्रहरीको टोलीलाई विराटनगर-६ की कवितादेवी महतोले गरेको बिन्ती हो यो ।

ठेलामा फलफूल डुलाएर गुजारा चलाउँदै आएकी महतोलाई बुधबार दिउँसो करिब १ बजे विराटनगर शनिमन्दिर नजिकै नगर प्रहरीको टोलीले भेट्यो । सडक किनारमा फलफूल बिक्री गर्दै गर्दा उनको ठेला नगर प्रहरीले बलजफ्ती खोस्यो । रोक्न भन्दै आमा छोरी आए । दुवै जनालाई नगर प्रहरीले धरपकड गर्‍यो ।

प्रहरीले ठेला ल्याउँदै गर्दा रोइकराइ गर्दै कविता पछिपछि लागिन् । विराटनगर मेनरोडको सातघुम्ती नजिकै स्थानीयले बाटो छेके । ठेला छोड्न भन्दै व्यापारी र बटुवाले नगर प्रहरीलाई रोके । आधा घण्टाको सवाल जवाफपछि नगर प्रहरीले ठेला छाड्यो । प्रहरीले ठेला दिएपछि कविता आफ्नो काममा लागिन् ।

दुःख गरेर गरिखाने महिलालाई नगर प्रहरीले बलजफ्ती गरेपछि प्रहरीलाई ठेला लैजान नदिएको प्रत्यक्षदर्शी उत्तम ढुङ्गेलले बताए । ‘मान्छेले गरिखान पाउनुपर्छ । महानगरपालिकाले ठाउँ पनि नदिने अनि दुःख गर्नेको ठेला खोस्न सुहाउँदैन,’ उनले भने, ‘ठेलामा बेच्न नदिने भए महानगर आफैंले बेच्ने क्षेत्र बनाइदिनुपर्‍यो ।’

बुधबार नगर प्रहरीको धरपकडमा परेकी कविताले मंगलबार मात्रै एक हजार रुपैयाँ जरिवाना महानगरलाई बुझाएकी थिइन् ।

‘हिजो ढक तराजु लगिदियो, एक हजार जरिवाना तिरे,’ उनले भनिन्, ‘आज ठेला लान आए, मेरो ठेला छोडिदिनु भन्दा नगर प्रहरीले मानेनन्, फेरि जरिवाना तिर्न नसक्ने भएपछि ठेला देऊ भन्दै पछिपछि आएँ ।’

 

विराटनगर महानगरपालिकामा सडक किनारा र ठेलामा दैनिक उपभोग्य वस्तु बिक्री गरेर जीविकोपार्जन गर्नेको संख्या ठूलो छ । तर महानगरपालिकाले यस्ता व्यापारीलाई धरपकड गरिरहेको छ ।

‘गुद्री बजारमा ठेला नराख्न भनेपछि राख्न छाडें, अहिले ठेला डुलाउँदै बिक्री गर्छु,’ कविताले भनिन्, ‘तर ठेलामा पनि नबेच भन्छ, यसरी बेच्न पाइन भने परिवार पाल्नु कसरी ?’
पाँचजनाको परिवार पाल्ने आधार ठेला नै हो । चार वर्षयता ठेलामा गुजारा गरेर छोराछोरीको पढाइ र घरखर्च धानेको उनले बताइन् ।

विराटनगर महानगरपालिका नगर प्रहरीका प्रहरी निरीक्षक राजन पौडेलले महिलाले बजारमा ट्राफिक जाम हुने गरी ठेला राखेका कारण नियन्त्रणमा लिएको बताए । पटक–पटक सम्झाउँदा पनि अटेर गरेकाले ठेला नियन्त्रणमा लिएर सम्झाएर छाडिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment