Comments Add Comment

सीमा नाका खोल्न माग गर्दै वीरगञ्जका व्यवसायी काठमाडौंमा

४ चैत, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले भारतीय सीमा नाका खोल्न माग गर्दै काठमाडौं आएका छन् । उनीहरुले बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेटेर अन्तर्राष्ट्रिय नाका खुला नहुँदा आफ्नो व्यवसाय चौपट भएको गुनासो गरे ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटन पत्रकार संघ पर्साको टोलीलै मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँदै अहिलेको कहालीलाग्दो अवस्थाबाट होटल तथा पर्यटन व्यवसायलाई जोगाउन आग्रह गरे ।

पर्यटन क्षेत्रको पुनरुत्थानको लागि वीरगञ्जलगायत सबै अन्तर्राष्ट्रिय नाका खोल्न आग्रह गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी दिए । विगतमा वीरगञ्जका होटलमा भारतीय पाहुनाको हिस्सा ७० देखि ८० प्रतिशतसम्म थियो ।

असहज अवस्थाका कारण भारतीय पाहुना वीरगञ्ज आउन सकेका छैनन् । आइहाले पनि दशगजा क्षेत्रमै वा भारतीय सहरमा सवारी साधन थन्क्याएर पैदल वीरगञ्ज आउने गर्छन् ।

कोरोना महामारीका समयमा २०७६ चैत ११ गते सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाकामा आउजाउ गर्न दिए पनि भारतीय सवारी साधन ल्याउन प्रतिबन्ध कायमै छ ।

२०७७ कात्तिक ६ गतेदेखि भारत सरकारले आफ्नोतर्फबाट नाका खुला गरिसकेको छ । नेपालले भने वीरगञ्जसहितका देशका अन्तर्राष्ट्रिय नाका औपचारिक रुपमा खोलेको छैन ।

वीरगञ्ज नाकामा भारतबाट मानिसको आउजाउ चलिरहेको छ । मालबाहक सवारीबाहेक अन्य सवारी साधनलाई सीमामा खटिएका सुरक्षकर्मीले नाकामै रोकेर फिर्ता पठाइदिने गरेका छन् ।

असहज अवस्थाका कारण भारतीय पाहुना वीरगञ्ज आउन सकेका छैनन् । आइहाले पनि दशगजा क्षेत्रमै वा भारतीय सहरमा सवारी साधन थन्क्याएर पैदल वीरगञ्ज आउने गर्छन् ।

निजी सवारी साधन लिएर सपरिवार आउन र गाडी रिजर्व गरेर नेपाल घुम्न आउन पाइरहेका छैनन् । भारतीय पाहुना नआउँदा सञ्चालन खर्च समेत धान्न नसकेको सीमा क्षेत्रका होटल सञ्चालकहरु बताउँछन् ।

वीरगञ्जमा होटल लर्डस दियालो, क्लार्क, भिश्वा, मकालु, कैलाश, कन्ट्री ईन, पुजन, सुरज लगायत साना ठूला गरी ८० वटा होटल छन् । अधिकांश होटल भाडाका घरमा सञ्चालित छन् । लामो समय होटल बन्द भएका कारण ७ महिनादेखि घरबहाल तिर्न नसकेको गुनासो व्यवसायीहरुको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु भइरहेका छन् । नाकाहरुबाट सबै प्रकारका मालबाहक सवारी तथा सर्वसाधारण आउजाउ गरिरहेका छन् । तर  भारतीय सवारी साधनलाई मात्रै प्रतिबन्ध छ ।

सीमा नाका पूर्ववत ढंगले नखुलेसम्म घुमफिर, रोमाञ्चक पर्यटन, औद्योगिक पर्यटन, पर्यापर्यटन र विहेबारीका लागि भारतीय पाहुना नेपाल आउँदैनन् । जसले गर्दा वीरगञ्ज मात्रै नभएर सौरहा, पोखरा, हेटौंडा, काठमाडौं लगायत ठाउँको पर्यटनसमेत प्रभावित हुने व्यवसायीको दावी छ ।

भारतीय पाहुना नआउँदा ५० प्रतिशत मात्रै चल्यो

वीरगञ्जको होटल कुमु प्यालेसमा १८ वटा कोठा छ । संघ संस्था र कम्पनीको कार्यक्रम भएको दिनमाबाहेक अरु दिनमा ५ वटा कोठामात्रै भाडामा लाग्छ । कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि कटौती गरेर दिने गरिएको होटल सञ्चालकहरु बताउँछन् ।

सञ्चालकमध्येका एक कुबेर कार्कीका अनुसार लकडाउन अघि होटलमा रक्सौल, पटना, मुज्जफरपुरका पाहुना आउने गरेका थिए । ५० प्रतिशत भारतीय पर्यटक हुन्थे । तर अहिले भारतीय पाहुना शून्य प्रायः छ ।

‘होटलमा ५० प्रतिशत भन्दा कम कोठा भाडामा लाग्छन्, भाडा, पानी, बिजुलीको पैसा भुक्तानी गरेर कर्मचारीलाई तलब खुवाउन समेत धौ धौ छ’ उनले भने, ‘संघ संस्था तथा कम्पनीहरुको कार्यक्रम हुँदा अलि बढी कोठा भाडामा लाग्छ । अंग्रेजी नयाँ बर्षमा थोरै देखिए पनि हिजोआज भारतीय पाहुना आएका छैनन् ।’

होटल विजय ज्योति प्यालेसका सञ्चालक हिरा श्रेष्ठ पनि लकडाउनपछिका समय होटलको अकुपेन्सी ५० प्रतिशत पनि नरहेको बताउँछन् ।

होटल व्यवसायी मात्रै हैन । होटलमा आश्रित २ हजार ५ सय जना कर्मचारी, कामदारको जीविका अहिले संकटमा छ । होटल तथा पर्यटन व्यवसायमा लागेको ६ अर्ब २५ करोड रुपैयाँ लगानी डुब्ने अवस्थामा पुगेको व्यवसायीहरु बताउँछन् ।

दुई दिनभित्र नाका खुल्ने आश्वासन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पर्साका व्यवसायी र पत्रकारसँग दुई दिनमै देशको सम्पूर्ण स्थल नाकाहरु खोल्ने आश्वासन दिएका छन् ।

‘हामी पनि भारत र चीनसँग जोडिएको सबै सीमानाका पूर्ण रुपमा खोल्ने तयारीमा थियौं, तपाईंहरु पनि आउनुभएछ, भोलि (बिहीबार) अपरान्ह ४ बजे सीसीएमसीको बैठक डोकेको छु यो विषयमा म प्रस्ताव गर्छु’ सीसीएमसीका संयोजकसमेत रहेका उनले भने ‘बिहीबारदेखि नै पर्यटकको गाडी आउन पाउने गरि सीमा नाका खोल्ने निर्णय हुनेछ ।’

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले अब अन्र्तराष्ट्रिय नाका खुल्नेमा आशावादी भएको बताए । ‘उपप्रधानमन्त्रीज्यूले बिहीबार सीसीएमसीको बैठक बस्ने र बैठकले नाका खोल्ने निर्णय गर्ने आश्वासन दिनुभयो’ उनले भने ।

सीमावर्ती जिल्लाका स्थानीय वासिन्दाले पनि नेपाल भारत सीमा नाका खोल्न आग्रह गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्रलाई चैत २ गते नै पत्राचार गरिसकेका छन् ।

पत्रमा नाका नखुल्दा राजश्व घटेको, पर्यटक घटेको, पर्यटक नहुँदा होटलहरु बन्द हुने अवस्थामा पुगेको, चोरी घुसपैठ÷आवत जावतको प्रयास भइरहेको, उद्योग कलकारखानका लागि आवश्यक मजदुरको अभाव भएको, वैवाहिक कार्यक्रमहरु सम्पन्न गर्न समस्या भइरहेको उल्लेख छ ।

सीमा नाका खोल्न दिनहुँ व्यापक अनुरोध र जन गुनासो आउने गरेकोले सुरक्षासम्बन्धी मापदण्ड अपनाइ नाका खोल्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment