Comments Add Comment

शरणार्थी शिविरका नरबहादुर : नेपाली बन्ने, नेपालमै मर्ने इच्छा

५ चैत, विराटनगर । नरबहादुर साम्पाङ राई (६९) मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको भुटानी शरणार्थी शिविरमा बस्छन् । उनी बसेको शरणार्थी शिविर उजाड भइसक्यो । बस्ती पातला छन् । शिविरमा बसेका अधिकांश तेस्रो मुलुक पुनरवासका लागि गइसके ।

पुनरवासमा गएकाहरुको घर खण्डहर भएका छन् । शिविरको ठूलो हिस्सामा फुस्ाको घरको भग्नावशेषमात्रै छन् । शिविरको पश्चिम पट्टीको कुनामा बसेका नरबहादुरलाई शिविर छाड्न मन छैन । उनका जेठा छोरा पुनर्वासका लागि अमेरिका पुगेका छन् । बुढेशकालमा उनी नेपाली नागरिक बन्न पाउने आशमा दिन कटाउँदैछन् ।

‘हाम्रो पूर्खा नेपालबाटै भुटान पुगेका हुन्, भुटानले लखेट्दा फेरि नेपालमा आयौं, तर राज्यले स्वीकार गरेन्,’ उनी भन्छन्,’पुनर्वासमा सबै गए, मलाईचाहिँ पूर्खाको भूमि छाड्न मन लागेन् ।’

नरबहादुरका अनुसार उनका बाजे-हजुरबुबा) इलामको सुर्खे भन्ने स्थानमा बस्थे । भुटानमा काठ कटान खुल्यो भन्दै हजुरबुबा गन्जधर राई गाउलेसँग भुटान पसेका थिए ।

भुटान पसेको याद नभए पनि बाजेले १७ वर्षको उमेरमा भुटान पुगेको नरबहादुरलाई सुनाएका थिए । ‘इलामको थाकथलो छोडेर भुटान पुगेका बाजेले उतै घरजाम गर्नु भयो,’ नरबहादुर भन्छन् ‘छोरा छोरीको पनि घरजाम उतै गरिदिएपछि हामी जन्मियौं ।’

भुटानको सल्लेचिरान भन्ने स्थानबाट लखेटिएर नेपाल आएका नरबहादुरलाई परिवारबाट तेस्रो मुलुक जान दबाब पनि आयो । पुनर्वासमा जान चाहने जेठो छोरा-बुहारीलाई रोकेनन् । बुढेसकालमा नेपाल नछाड्ने बताएपछि कान्छा छोरा साथमा नै बसेका छन् ।

नरबहादुरको अन्तिम चाहना नेपाली बन्ने छ । नेपाली बन्न नपाए पनि पूर्खाको भूमि छाडेर नजाने उनी बताउँछन् । ‘भुटान सरकारले बस्न नदिएपछि हामी पूर्खाको थलो नेपाल आयौं, तर यहाँ आएपछि शरणार्थी जीवन बिताउनु पर्‍यो, नेपालले हामीलाई स्वीकार गरेन्,’ उनले भने, ‘मचाहिँ अब अमेरिका नजाने, मरे यहीँ मर्ने हो ।’ तीन पुस्ता पछाडि नेपाल आएर शरणार्थी जीवन बिताउनु परेपछि बाहिर जान मन नलागेको उनले बताए ।

भुटानी शरणार्थी शिविर पथरीशनिश्चरेका शिविर सचिव चम्पासिंह राईका अनुसार शरणार्थी जीवन बिताइरहेकामा स्थानीयकरण (नागरिक) बन्ने चाहना छ । शिविरबाट तेस्रो मुलुक पुनर्वासका लागि गएकाहरु पुगेका आफन्तलाई भेट्न जाने चाहानेहरु पनि छन् । तर, सन् २०१८ यता पुनर्वासको काम रोकिएको छ ।

‘परिवारका सदस्यसँग तेस्रो मुलुक भएकाले पुनरमिलनका लागि जान चाहानेहरु धेरै छन्,’ उनी भन्छन् ‘ स्वदेश र्फकन पाउ भन्ने पनि केही छन्, स्थानीयकरणको चाहाना भएकाहरु पनि छन् ।’ स्थानीयकरणको अवसर दिएको अवस्थामा नेपालमा शरणार्थी शिविर नरहने उनको भनाइ छ ।

पथरी र बेलडागीका शिविरबाट एक लाख २७ हजार पुनर्वासका तेस्रो मुलुक गएका छन् । दुवै शिविरमा साढे सातहजार जना बसेका छन् ।

पथरी र दमकका शरणार्थीको व्यवस्थापनमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषद-युएनएचसीआर) को टोली खटिएको थियो । तर गत १९ डिसेम्बरमा युएनएचसीआरको टोली फर्किएको छ । टोली फर्किएपछि तेस्रो देश पुनर्वासको सम्भावना लगभग सकिएको छ ।

‘शिविरमा रहेकाहरुको चाहना स्थानीयकरणको पनि छ,’ राई भन्छन् ‘ नेपालीकरणको अवसर ल्याइयो भने शरणार्थी क्याम्प रहँदैन । नेपाली हुन्छन् ।’ उनका अनुसार पथरीशनिश्चरेमा शिविरमा ५२० घर छन् । जसमा एक हजार ६ सय बसिरहेका छन् ।

शिविरमा रहेकाहरुको आफन्त तेस्रो मुलुकमा छन् । आफन्तले पठाएको रेमिटेन्सबाट यहाँ बसेकाहरुको गुजारा चलिरहेको छ । शरणार्थीहरु आय आर्जनको बैकल्पिक स्रोत प्रयोग गरिएका छन् । ‘प्रायः घरबाट पुनर्वासका लागि तेस्रो मुलुक पुगेका छन्,’ राई भन्छन् ‘ स्थानीयस्तरमा पनि आयआर्जनको काम पनि गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment