Comments Add Comment

प्रदेश २ को विद्युत प्रणाली सुधारका लागि ठेक्का सम्झौता

५ चैत, काठमाडौं । प्रदेश नम्बर २ का ८ जिल्लामा विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नम्बर २ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ ।

आयोजनामार्फत प्रदेश नम्बर २ मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३/११ केभी, १६..६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने छ । यसैगरी, ३३/११ केभी, ८ एमभीए क्षमताका दुई वटा सबस्टेसनको निर्माण गरिने छ । उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ ।

यसका साथै प्रदेश नम्बर २ का जिल्लाहरुमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने छ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंकमार्फत सञ्चालित हुनेछ ।

प्राधिकरणकातर्फबाट सम्झौतापत्रमा आयोजना प्रमुखहरु विमल चौधरी (लट १), रोशन खड्का (लट २ र ४), रन्धिर पाठक (लट ३) र अमित भगत (लट ५), लेखा प्रमुख विष्णुप्रसाद आचार्य, इन्जिनियहरु वसन्त नेपाल र विसम विनोद खनालले र टाटा प्रोजेक्टकातर्फबाट महाप्रवन्धकहरु श्याम नारायण मित्तल र मनोज कुमार पटनायकले हस्ताक्षर गरेका छन् ।

आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ९ सय दिन अर्थात ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

काम सम्पन्नपश्चात प्रदेश नम्बर २ को समग्र विद्युत प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र घरायसी ग्राहकहरुले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताए । उनले उच्च प्राथमिकताको आयोजना भएकाले निर्धारित समयभन्दा पहिलेनै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

निर्धारित समयभन्दा पहिले नै सक्ने लक्ष्यका साथ काम अगाडि बढाइने टाटा प्रोजेक्टका आयोजना प्रमुख सन्दिप कुमारले प्रतिबद्धता जनाए । आयोजनाबाट प्रदेश नम्बर २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा काम हुनेछ ।

ठेक्का सम्झौता हस्ताक्षर कार्यक्रममा आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक रामजी भण्डारी, एसियाली विकास बैंकका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment