Comments Add Comment

एनएसएल : धेरै खर्च गर्नेमा पोखरा र कम गर्ने बुटबल लुम्बिनी

६ चैत काठमाडौं । नेपाली फुटबलको इतिहासमा पहिलो पटक बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट गरेर टिम बनाइएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी वैशाखमा हुने पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार राजधानीको सोल्टी होटलमा प्लेअर अक्सन भएको हो ।

जसमा एनएसएल खेल्ने सात फ्रेन्चाइज टोलीले आफ्नो रोजाइका खेलाडीलाई टिममा अनुबन्ध गरे । विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले अक्सनबाट १४-१४ खेलाडी टिममा अनुबन्ध गरेका छन् । यी सात टोलीले २०७८ वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना हुने पहिलो संस्करणको फ्रेन्चाइज लिग खेल्नेछन् ।

यसअघि नेपालका तीन फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको अक्सन भएको थियो । तर, फुटबलमा भने पहिलो पटक अक्सन भएको हो ।

अक्सनमा सातवटै टिमका मार्की प्लेयर, केही टिमका प्रशिक्षक र टिम मालिक बसेका थिए । पहिलो पटक फुटबलको अक्सनमा आफूहरु प्रत्यक्ष सहभागी हुँदा रमाइलो र उत्साहजनक माहोल बनेको सातै टिमका मार्की प्लेयरले प्रतिक्रिया दिए ।

राष्ट्रिय टिमका खेलाडी नै फ्रेन्चाइजको मार्की प्लेयर थिए । राष्ट्रिय टिम तथा त्रिभुवन आर्मीका भरत खवास चितवनको र नवयुग श्रेष्ठ पोखरा थण्डर्सका मार्की प्लेयर छन् । यस्तै आर्मीकै गोलकिपर विकेश कुथु काठमाडौंको मार्की प्लेयर छन् ।

राष्ट्रिय टिमकै मिडफिल्डर विशाल राई धनगढी, डिफेण्डर रञ्जित धिमाल विराटनगर, विङ्गर अन्जन विष्ट ललितपुर र गोलकिपर विशाल श्रेष्ठ बुटबल लुम्बिनीको मार्की प्लेयर छन् ।

अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका मध्येबाटै समूह ए मा २८ खेलाडी राखिएको थियो । जसबाट हरेक फ्रेन्चाइजले ३-३ खेलाडी लिन सक्ने प्रावधान थियो । त्यसबाट २१ खेलाडी टिममा अनुबन्ध भए र बाँकी ७ खेलाडीले एनएसएल खेल्न नपाउने भए । त्यस्तै समूह बी बाट ४ देखि ६ जना र समूह सी बाट ५ देखि ७ जनासम्म अनुबन्ध गर्न पाउने प्रावधान राखिएको थियो ।

समूह ए मा रहेका राष्ट्रिय टिमका कप्तान रहिसकेका विराज महर्जन, रविशंकर पासवान, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुवास गुरुङ र दिलेन मोक्तानलाई कुनै पनि फ्रेन्चाइजले बोली लगाएनन् । पहिलो चरणको अक्सनमा बिक्री नभएका समूह ए मा रहेका गोलकिपर अर्पण कार्की, दर्शन गुरुङलाई भने विस लिस्टबाट अन्त्यमा क्रमश: ललितपुर र बुटबल लुम्बिनीले आधार मूल्य १ लाखमा अनुबन्ध गरे ।

समूह ए मा रहेका खेलाडीको आधार मूल्य १ लाख रुपैयाँ तोकिएको थियो, उनीहरुमध्ये ८ खेलाडीले २ लाख रुपैयाँसम्म मूल्य पाए । सुजल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, एरिक विष्ट, तेज तामाङ, विकास खवास, सुनिल बल र दिनेश राजवंशीलाई एक भन्दा बढी टिमले बोली लगाएका कारण उनीहरुको मूल्य बढेर २ लाखसम्म पुगेको हो ।

यो पनि पढ्नुहोस एनएसएल अक्सन : यी हुन् २ लाख मूल्य पाउने ८ फुटबल खेलाडी

गत वर्ष १३ औं सागमा राष्ट्रिय फुटबल टिमको कप्तानी गरेका सुजल श्रेष्ठ पोखरा थण्डर्समा अनुबन्ध भए । उनलाई थण्डर्सले चिट्ठामार्फत पाएको हो । पोखराले गोलकिपर दीप कार्कीलाई पनि २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

ललितपुर सिटी फुटबल क्लबले मिडफिल्डर एरिक विष्ट, काठमाडौं रेजर्सले मिडफिल्डर तेज तामाङ, चितवनले गोलकिपर विशाल सुनार र डिफेण्डर विकास खवास,  विराटनगरले मिडफिल्डर सुनिल बल र धनगढी एफसीले दिनेश राजवंशीलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

एनएसएलको प्राविधिक सहयोगीको रुपमा रहेको अखिल नेपाल फुटबल संघ एन्फाले अक्सनका लागि १४९ खेलाडीको  नाम सूची उपलब्ध गराएको थियो । जसमध्ये ९८ खेलाडी शुक्रबारको अक्सनबाट विभिन्न ७ टिममा अनुबन्ध भए । अक्सनमा एक टिमले १५ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने प्रावधान थियो । तर सबै टिमले अधिकतम सीमासम्म खर्च गर्नुपरेन ।

अक्सनमा पोखरा थण्डर्सले सर्वाधिक १२ लाख ५० हजार, ललितपुर सिटीले १२ लाख १५ हजार, पोखराले १२ लाख २५ हजार र सबैभन्दा कम  बुटवल लुम्बनीले ९ लाख ६० हजार रुपैयाँ खर्च गरे ।

विराटनगरले सरोज दाहाल, सुनील बल र सन्तोष तामाङ, बुटबलले सुरज विक, सेसेहाङ आङदम्बे र आशिष लामा, चितवनले विशाल सुनार, विकास तामाङ र विकास खवास, धनगढीले निशान्त खड्का, दिनेश राजवंशी र दर्शन गुरुङलाई अनुबन्ध गर्‍यो।

काठमाडौंले तेज तामाङ, संजोग राई र त्रिदेव गुरुङ,ललितपुरले एरिक विष्ट, पाल्साङ लामा र अर्पण कार्कीलाई तथा पोखराले अजित भण्डारी दिप कार्की र सुजल श्रेष्ठलाई अनुबन्ध गरेको छ ।

यो पनि पढ्नुहोस एनएसएल : क्याटेगोरी ए का ७ खेलाडी विकेनन्

राष्ट्रिय टिममा रहेका तर हाल विदेशी लिग खेलिरहेका चार खेलाडी भने अक्सनमा समावेश थिएनन् । भारतमा आइलिग खेलिरहेका किरण चेम्जोङ, अभिषेक रिजाल र प्रकाश बुढाथोकी तथा इन्डोनेसियन लिग खेल्ने रोहित चन्द भने आइकोनिक खेलाडीको रुपमा राखिएको छ । उनीहरुलाई टिमले छुट्टै अनुबन्ध गर्न सक्ने जनाइएको छ ।

यस्तै हरेक टिमले ३ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । टिम २० सदस्यीय हुनेछ जसमा २ जना गोलकिपर अनिवार्य हुनुपर्नेछ । अब ७ वटै टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

यस्तै विराटनगरबाहेक टिमले प्रशिक्षक पनि अनुबन्ध गरिसकेको छ । धनगढीले नाइजेरियन फुजा तेपे, काठमाडौंले बालगोपाल महर्जन, ललितपुरले प्रदीप हुमागाइँ, चितवनले मेघराज केसी, पोखराले नवीन न्यौपाने, बुटवलले राजुकाजी शाक्यलाई प्रशिक्षक चयन गरेको छ । विराटनगरले भने भारतबाट प्रशिक्षक ल्याउने तयारी गरेको चर्चा छ । यद्यपि आधिकारिक रुपमा केही बताएको छैन ।

हेर्नुहोस् कुन टिममा को खेलाडी छन् ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment