Comments Add Comment

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जुट्दै बोर्ड

८ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्ड कोरोना महामारीका कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जुटेको छ । बोर्डले कोभिड-१९ पछि पहिलो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका लागि भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिज्म एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।

यही मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित विभिन्न २५ कम्पनी सहभागी हुनेछन् । पर्यटन प्रवद्र्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ, तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रवर्द्धनका कार्यक्रममा सहभागिता जनाइनेछ ।’

पछिल्लो पटक सरकारले नेपाल–भारत यातायात सञ्चालन गर्ने निर्णय गरेको र यसअघि एअरबल सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुई हवाई उडानसमेत भइरहेकाले यो कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोगी हुने बोर्डको अपेक्षा छ ।

पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेसन तथा अन्य पर्यटकीयस्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको रेग्मीले बताए ।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहनेछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एसियाको महत्वपूर्ण ‘पर्यटन एक्सचेञ्ज मेला’का रुपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment