Comments Add Comment

त्रिदेशीय फुटबल : उद्घाटन खेलमा आज बंगलादेश र कीर्गिस्तान खेल्दै

१० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश र किर्गिस्तानको यू २३ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तान भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुनेछ । त्यसअघि युवा तथा खेलकुदमन्त्री दाबा लामाले प्रतियोगिताको उद्घाटन गर्ने एन्फाले जनाएको छ ।

साथै कोरोनाभाइरसको संक्रमणको खतरा बढ्दै गरेको भन्दै एन्फा सरोकारवाला र फुटल प्रेमी दर्शकलाई चार बुँदा पालना गर्न भनेको छ । जसमा तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

बंगलादेशका प्रशिक्षक जेम्स डे ले नेपाल आयोजक राष्ट्र भएकोले उपाधि दाबेदारको रुपमा बताएका छन् । उनले जुनमा हुने विश्वकप छनोटको खेलको तयारीको रुपमा यस प्रतियोगितालाई लिएको र नयाँ खेलाडीलाई अवसर दिने बताएका छन् ।

बंगलादेशको टिममा यस पटक ६ नयाँ खेलाडी रहेको र उनीहरुलाई खेलमा अवसर दिने डे ले बताए ।

यस्तै किर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले कम समयको तयारीका बावजुत पनि प्रतियोगितामा राम्रो खेल्ने आशा व्यक्त गरेका छन् ।

उनले घरेलु टोली नेपाल र बंगलादेशसँग राम्रो खेल्ने अपेक्षा राखेका छन् । किर्गिस्तानको टोलीको एभरेज उमेर २१-२२ वर्षको रहेको छ ।

यस्तै किर्गिस्तानको गोलकिपर तोकोताएभ एर्जानले यस प्रतियोगिता अवसरको रुपमा रहेको बताएका छन् । एर्जानले यसअघि उमेर समूहमा पनि नेपालसंग खेलिसकेका छन् ।

नेपालले आफ्नो पहिलो खेल बिहीबार किर्गिस्तानसंग खेल्नेछ । नेपालको सिनियर राष्ट्रिय टिमले सन् २०१५ पछि पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ ।

खेल हेर्न भीआईपीतर्फ एक हजार ५०० र साधारणतर्फ ७०० टिकट मूल्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment