+
+

प्रतिनिधिसभामा ९ महिनापछि बोल्न पाए सांसद

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ चैत १० गते १८:५३
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखे ।

१० चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ९ महिनापछि मंगलबार सांसदहरुले बोल्न पाएका छन् ।

१८ असार २०७६ मा संसदको बजेट अधिवेशन अन्त्य हुनुअघि सांसदहरुले सरकारको नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा बैठकमा छलफल गरेका थिए ।

त्यसबाहेक शून्य समय र विशेष समयमा समसामयिक र जनसरोकारका विषयमा बोल्दै आएका थिए ।

असारमा बजेट अधिवेशन अन्त्य भएको ९ महिनापछि सांसदहरुले मंगलबार मात्र प्रतिनिधिसभाको बैठकको शून्य समयमा भनाइ राख्न पाएका हुन् ।

शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई दिनुपर्ने पनि नियमावलीमा उल्लेख छ । तर सभामुखले आफ्नो अधिकार प्रयोग गरेर बैठकमा शून्य र विशेष समयको व्यवस्था हटाउन पनि सक्नेछन् ।

पुस ५ गते विघटन भएको संसद सर्वोच्चको आदेशमा पुनर्स्थापना भएपछि २३ फागुनमा हिउँदे अधिवेशन शुरु भएको थियो । तर शुरुका चारवटा बैठकमा सांसदहरुले बोल्ने समय पाएनन् । मंगलबारको बैठकको शून्य समयमा २२ जना सांसदले समसामयिक राजनीति र जनसरोकारका विषयमा धारणा राखे ।

२३ फागुनमा बसेको पहिलो बैठक सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुन पुगेको थियो ।

२६ फागुनमा बसेको दोस्रो बैठक र चैत ३ गतेको तेस्रो बैठक सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो । चैत ६ गतेको चौथो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका एक/एक जना नेताले सम्बोधन गरे ।

सामान्यतया प्रतिनिधिसभाको अधिवेशन शुरु भएको दिन दलका शीर्ष नेताहरुलाई बोल्न दिने अभ्यास छ । यसपटक उक्त अभ्यासलाई तोडेर चौथो बैठकमा दलका नेताहरुलाई बोल्न दिइयो ।

प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ ।

‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले सदनको कार्यबोझलाई विचार गरी शून्य समय र विशेष समय तोक्न सक्नेछ’ नियम १५ मा भनिएको छ ।

शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई दिनुपर्ने पनि नियमावलीमा उल्लेख छ । तर सभामुखले आफ्नो अधिकार प्रयोग गरेर बैठकमा शून्य र विशेष समयको व्यवस्था हटाउन पनि सक्नेछन् । शून्य समयमा सांसदहरुले १ मिनेटमा आफ्नो विषयमा बोलिसक्नुपर्छ भने विशेष समयमा सभामुखले समय तोक्न सक्ने व्यवस्था छ ।

सांसदमा बोल्न पाउँदा …

मंगलबार शून्य समयमा बोल्ने सांसदमध्ये धेरैजसोले समसामयिक राजनीतिक विषयमा र केहीले आम नागरिक र आफ्नो निर्वाचन क्षेत्रको समस्या उठाए ।

९ महिनापछि संसदमा बोल्न पाउँदा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महत खुसी देखिए । ‘९ महिना भइसकेछ शून्य समयमा बोल्न नपाएको । आज बोलेँ, कर्णालीका कुरा राख्न पाएँ खुसी लागेको छ’ बैठकपछि सांसद महतले भने ।

उनले संसदको शून्य समयमा कर्णालीका जनताले अझै विजुली बाल्न नपाएको भनी सरकारको ध्यानाकर्षण गराए ।

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुन लागेको जानकारी गराएका थिए । त्यसै विषयमा टिप्ण्पणी गर्दै सांसद महतले सोधे ‘…कर्णाली नेपालभित्र पर्छ । कर्णालीका जनताले विजुली पाएका छैनन् । कसले दिँदैछ यो आँखा चिम्लेर विकासशशील राष्ट्रको प्रमाणपत्र ? म जान्न चाहन्छु, जुम्ली जनता जान्न चाहन्छन् । यो घुस दिएर ल्याएको प्रमाणपत्र त होइन ?’

नेकपा एमालेका सांसद झपट रावलले शुरुमै भने, ‘करिब ९ महिनापछि संसदमा बोल्न पाउँदा खुसी व्यक्त गर्दछु ।’ तर, पुनः प्रतिनिधिसभाको अकालमै मृत्यु हुन सक्ने भन्दै उनले सचेत हुनुपर्ने धारणा राखे ।

‘दल विभाजन गर्ने गतिविधिहरु देखिन थालेका छन् । राजनीतिक आकाशमा कालो बादल मडारिरहेको छ’ उनले भने, ‘मलाई आशा छ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल तथा प्रतिनिधिसभाका प्रतिनिधिहरुले प्रतिनिधिसभालाई अकालमै मृत्युवरण गराउने छैनन् ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने टिप्पणी गरे । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, सांसद थापाले भने, ‘तर, हामी संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

‘दार्चुलाको लिपुलेक भारतमा पर्‍यो भनेर सरकारले नक्सा पारित गर्‍यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्‍यो’, सांसद जीपछिरिङ लामाले सोधे, ‘सरकारले लोगो माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि हामी लोगो लगाएर हिँड्ने ?’

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रधानमन्त्रीले भारतीय रअको मान्छेसंग भेटेको भन्दै प्रश्न उठाए । संसद पुनर्स्थापनापछि बिजनेस नदिएर सरकारले संसदलाई गतिहीन बनाएको पनि सांसद मोदीले आरोप लगाए ।

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले सरकारले राम्रा काम गरेको भन्दै बचाउ गरिन् ।‘आम निर्वाचनमा बाम गठबन्धन बनाइयो । जनताले दुई तिहाई र स्थिर सरकारका लागि भोट दिएका थिए । तर, बिडम्बना नै भन्नुपर्छ सरकारलाई प्रतिपक्षी भन्दा पार्टीभित्रैबाट काम गर्न दिइएन । हलो अड्काउने गोरु चुट्ने काम भयो’ उनले भनिन् ।

नेकपा एमालेका सांसद खगराज अधिकारीले भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र लक्षित टिप्पणी गरे, ‘अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?

एमालेका सांसद अधिकारीलाई माओवादी केन्द्रकी सांसद चाँद तारा कुमारीले जवाफ फकाईन, ‘असंवैधनिक रुपमा प्रतिनिधिसभा विघटन अति निन्दनीय थियो । त्यो भन्दा बढी निन्दनीय यही पुनस्र्थापित संसदमा आएर नैतिकताको पाठ सिकाउनु रहेको छ ।’

‘राष्ट्रवादी सरकार खै ?’

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपालको सीमा क्षेत्रमा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा सरकार कहाँ छ भनी प्रश्न गरे ।

सांसद बडूले दार्चुलाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँ पारिपट्टी भारतले तीन महिनादेखि एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेको बताए । ‘आफ्नो सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा पनि बोल्न नसक्ने यो राष्ट्रवादी सरकार आफुलाई भन्ने तर, के हो यो राष्ट्रवादी व्यवहारमा हो कि भाषणमा मात्रै हो ?’ उनले प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई सोधेका छन् ।

‘दार्चुलाको लिपुलेक भारतमा पर्‍यो भनेर सरकारले नक्सा पारित गर्‍यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्‍यो’, उनले भने, ‘सरकारले लोगो माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि हामी लोगो लगाएर हिँड्ने ? लोगो मात्रै लगाएर हिँड्ने कि जमिन फिर्ता आउँछ ?’

नेकपा एमालेकी सांसद तुलसा थापाले सीमामा नेपालको भूमि व्यापक अतिक्रमण भइरहेको बताइन् । बर्दिया जिल्लाको नेपाल भारत सीमानामा व्यापक तस्करी पनि भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।

कोभिड –१९ को चिन्ता

सांसद केदार सिग्देलले भारतमा कोभिड–१९ महामारीको दोस्रो लहर देखिएको भन्दै नेपालमा बेलैमा रोकथाम र उपचारको प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

सांसद अञ्जना विसंखेले कोरोना भाइरसको नयाँ भेरियन्ट आएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताइन् । सांसद चाँद तारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढिरहेकाले खोप बढाउन माग गरिन् ।

सांसद अमनलाल मोदीले कोभिड–१९ को महामारीपछि रोजगारी गुमाएका मजदुरलाई रोजगारी दिन नसकेको बताए ।

निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ ?

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोइ ? भन्ने प्रश्न गरिन् । दिनदिनै बलात्कार र हत्या हुँदासमेत सरकारले यो विषयलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ ।

‘दैनिक किशोरीहरुको बलात्कार गरी हत्या भइरहेको छ । यो सवाल सरकारको प्राथमिकतामा किन पर्दैन ?’ उनले सोधिन्, ‘निर्मला पन्तको हत्यारा खोइ ? कहिले पत्ता लाग्ने हो ?’

नेकपा माओवादी केन्द्रकी सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा वेपत्ता भएको घटनाबारे सरकारको ध्यानाकर्षण गरिन् ।

सांसद आशाकुमारी विकले बझाङको दुर्गम साइपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न काठमाडौं धाइरहनुपर्ने बाध्यता रहेको बताइन् । खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्न सुझाव दिइन् ।

सांसद एकवाल मियाँले बारा जिल्लाबाट वीरगञ्जसम्मको हाइटेन्सन लाइनको बीचमा २५/३० वटा गाउँ परेकाले स्थानीय वासिन्दा त्रासमा रहेको बताए । उनले हाइटेन्सन लाइनको सही व्यवस्थापन गर्न माग गरे ।

सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको गणना शुरु गरेकोमा स्वागत गरे । एकसिंगे गैडाको संरक्षणका लागि रणनीतिक योजना बनाइ कार्यान्वयन गर्न उनले सुझाव दिए ।

घाँसे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, शिकारी आदिका कारण सङ्कटमा पर्दै गएको गैंडाको संरक्षण गर्नु सबैको दायित्व हुने उनको भनाइ छ ।

सांसद खेमप्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्र्तगत धादिङ जिल्लामा पर्ने सडक निर्माण रोकिएको भन्दै तत्काल शुरु गर्न माग गरे ।

सांसद घनश्याम खतिवडाले सरकारका विकास आयोजनाहरु ठेकेदारको लापरबाहीका कारण समयमा सम्पन्न हुन नसकेको बताए ।

सांसद जीवनराम श्रेष्ठले काठमाडौँ जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?