
१० चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ९ महिनापछि मंगलबार सांसदहरुले बोल्न पाएका छन् ।
१८ असार २०७६ मा संसदको बजेट अधिवेशन अन्त्य हुनुअघि सांसदहरुले सरकारको नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा बैठकमा छलफल गरेका थिए ।
त्यसबाहेक शून्य समय र विशेष समयमा समसामयिक र जनसरोकारका विषयमा बोल्दै आएका थिए ।
असारमा बजेट अधिवेशन अन्त्य भएको ९ महिनापछि सांसदहरुले मंगलबार मात्र प्रतिनिधिसभाको बैठकको शून्य समयमा भनाइ राख्न पाएका हुन् ।
पुस ५ गते विघटन भएको संसद सर्वोच्चको आदेशमा पुनर्स्थापना भएपछि २३ फागुनमा हिउँदे अधिवेशन शुरु भएको थियो । तर शुरुका चारवटा बैठकमा सांसदहरुले बोल्ने समय पाएनन् । मंगलबारको बैठकको शून्य समयमा २२ जना सांसदले समसामयिक राजनीति र जनसरोकारका विषयमा धारणा राखे ।
२३ फागुनमा बसेको पहिलो बैठक सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेस गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुन पुगेको थियो ।
२६ फागुनमा बसेको दोस्रो बैठक र चैत ३ गतेको तेस्रो बैठक सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर सकियो । चैत ६ गतेको चौथो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका एक/एक जना नेताले सम्बोधन गरे ।
सामान्यतया प्रतिनिधिसभाको अधिवेशन शुरु भएको दिन दलका शीर्ष नेताहरुलाई बोल्न दिने अभ्यास छ । यसपटक उक्त अभ्यासलाई तोडेर चौथो बैठकमा दलका नेताहरुलाई बोल्न दिइयो ।
प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ ।
‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले सदनको कार्यबोझलाई विचार गरी शून्य समय र विशेष समय तोक्न सक्नेछ’ नियम १५ मा भनिएको छ ।
शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई दिनुपर्ने पनि नियमावलीमा उल्लेख छ । तर सभामुखले आफ्नो अधिकार प्रयोग गरेर बैठकमा शून्य र विशेष समयको व्यवस्था हटाउन पनि सक्नेछन् । शून्य समयमा सांसदहरुले १ मिनेटमा आफ्नो विषयमा बोलिसक्नुपर्छ भने विशेष समयमा सभामुखले समय तोक्न सक्ने व्यवस्था छ ।
सांसदमा बोल्न पाउँदा …
मंगलबार शून्य समयमा बोल्ने सांसदमध्ये धेरैजसोले समसामयिक राजनीतिक विषयमा र केहीले आम नागरिक र आफ्नो निर्वाचन क्षेत्रको समस्या उठाए ।
९ महिनापछि संसदमा बोल्न पाउँदा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महत खुसी देखिए । ‘९ महिना भइसकेछ शून्य समयमा बोल्न नपाएको । आज बोलेँ, कर्णालीका कुरा राख्न पाएँ खुसी लागेको छ’ बैठकपछि सांसद महतले भने ।
उनले संसदको शून्य समयमा कर्णालीका जनताले अझै विजुली बाल्न नपाएको भनी सरकारको ध्यानाकर्षण गराए ।
केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुन लागेको जानकारी गराएका थिए । त्यसै विषयमा टिप्ण्पणी गर्दै सांसद महतले सोधे ‘…कर्णाली नेपालभित्र पर्छ । कर्णालीका जनताले विजुली पाएका छैनन् । कसले दिँदैछ यो आँखा चिम्लेर विकासशशील राष्ट्रको प्रमाणपत्र ? म जान्न चाहन्छु, जुम्ली जनता जान्न चाहन्छन् । यो घुस दिएर ल्याएको प्रमाणपत्र त होइन ?’
नेकपा एमालेका सांसद झपट रावलले शुरुमै भने, ‘करिब ९ महिनापछि संसदमा बोल्न पाउँदा खुसी व्यक्त गर्दछु ।’ तर, पुनः प्रतिनिधिसभाको अकालमै मृत्यु हुन सक्ने भन्दै उनले सचेत हुनुपर्ने धारणा राखे ।
‘दल विभाजन गर्ने गतिविधिहरु देखिन थालेका छन् । राजनीतिक आकाशमा कालो बादल मडारिरहेको छ’ उनले भने, ‘मलाई आशा छ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल तथा प्रतिनिधिसभाका प्रतिनिधिहरुले प्रतिनिधिसभालाई अकालमै मृत्युवरण गराउने छैनन् ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने टिप्पणी गरे । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, सांसद थापाले भने, ‘तर, हामी संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले प्रधानमन्त्रीले भारतीय रअको मान्छेसंग भेटेको भन्दै प्रश्न उठाए । संसद पुनर्स्थापनापछि बिजनेस नदिएर सरकारले संसदलाई गतिहीन बनाएको पनि सांसद मोदीले आरोप लगाए ।
नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले सरकारले राम्रा काम गरेको भन्दै बचाउ गरिन् ।‘आम निर्वाचनमा बाम गठबन्धन बनाइयो । जनताले दुई तिहाई र स्थिर सरकारका लागि भोट दिएका थिए । तर, बिडम्बना नै भन्नुपर्छ सरकारलाई प्रतिपक्षी भन्दा पार्टीभित्रैबाट काम गर्न दिइएन । हलो अड्काउने गोरु चुट्ने काम भयो’ उनले भनिन् ।
नेकपा एमालेका सांसद खगराज अधिकारीले भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र लक्षित टिप्पणी गरे, ‘अविश्वास प्रस्ताव ल्याउन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?
एमालेका सांसद अधिकारीलाई माओवादी केन्द्रकी सांसद चाँद तारा कुमारीले जवाफ फकाईन, ‘असंवैधनिक रुपमा प्रतिनिधिसभा विघटन अति निन्दनीय थियो । त्यो भन्दा बढी निन्दनीय यही पुनस्र्थापित संसदमा आएर नैतिकताको पाठ सिकाउनु रहेको छ ।’
‘राष्ट्रवादी सरकार खै ?’
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपालको सीमा क्षेत्रमा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा सरकार कहाँ छ भनी प्रश्न गरे ।
सांसद बडूले दार्चुलाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँ पारिपट्टी भारतले तीन महिनादेखि एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरिरहेको बताए । ‘आफ्नो सार्वभौमसत्ता र आफ्नो माटोको विषयमा पनि बोल्न नसक्ने यो राष्ट्रवादी सरकार आफुलाई भन्ने तर, के हो यो राष्ट्रवादी व्यवहारमा हो कि भाषणमा मात्रै हो ?’ उनले प्रश्न गरे ।
नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई सोधेका छन् ।
‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्यो’, उनले भने, ‘सरकारले लोगो माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि हामी लोगो लगाएर हिँड्ने ? लोगो मात्रै लगाएर हिँड्ने कि जमिन फिर्ता आउँछ ?’
नेकपा एमालेकी सांसद तुलसा थापाले सीमामा नेपालको भूमि व्यापक अतिक्रमण भइरहेको बताइन् । बर्दिया जिल्लाको नेपाल भारत सीमानामा व्यापक तस्करी पनि भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।
कोभिड –१९ को चिन्ता
सांसद केदार सिग्देलले भारतमा कोभिड–१९ महामारीको दोस्रो लहर देखिएको भन्दै नेपालमा बेलैमा रोकथाम र उपचारको प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
सांसद अञ्जना विसंखेले कोरोना भाइरसको नयाँ भेरियन्ट आएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताइन् । सांसद चाँद तारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढिरहेकाले खोप बढाउन माग गरिन् ।
सांसद अमनलाल मोदीले कोभिड–१९ को महामारीपछि रोजगारी गुमाएका मजदुरलाई रोजगारी दिन नसकेको बताए ।
निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ ?
नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोइ ? भन्ने प्रश्न गरिन् । दिनदिनै बलात्कार र हत्या हुँदासमेत सरकारले यो विषयलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ ।
‘दैनिक किशोरीहरुको बलात्कार गरी हत्या भइरहेको छ । यो सवाल सरकारको प्राथमिकतामा किन पर्दैन ?’ उनले सोधिन्, ‘निर्मला पन्तको हत्यारा खोइ ? कहिले पत्ता लाग्ने हो ?’
नेकपा माओवादी केन्द्रकी सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा वेपत्ता भएको घटनाबारे सरकारको ध्यानाकर्षण गरिन् ।
सांसद आशाकुमारी विकले बझाङको दुर्गम साइपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न काठमाडौं धाइरहनुपर्ने बाध्यता रहेको बताइन् । खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्न सुझाव दिइन् ।
सांसद एकवाल मियाँले बारा जिल्लाबाट वीरगञ्जसम्मको हाइटेन्सन लाइनको बीचमा २५/३० वटा गाउँ परेकाले स्थानीय वासिन्दा त्रासमा रहेको बताए । उनले हाइटेन्सन लाइनको सही व्यवस्थापन गर्न माग गरे ।
सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको गणना शुरु गरेकोमा स्वागत गरे । एकसिंगे गैडाको संरक्षणका लागि रणनीतिक योजना बनाइ कार्यान्वयन गर्न उनले सुझाव दिए ।
घाँसे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, शिकारी आदिका कारण सङ्कटमा पर्दै गएको गैंडाको संरक्षण गर्नु सबैको दायित्व हुने उनको भनाइ छ ।
सांसद खेमप्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्र्तगत धादिङ जिल्लामा पर्ने सडक निर्माण रोकिएको भन्दै तत्काल शुरु गर्न माग गरे ।
सांसद घनश्याम खतिवडाले सरकारका विकास आयोजनाहरु ठेकेदारको लापरबाहीका कारण समयमा सम्पन्न हुन नसकेको बताए ।
सांसद जीवनराम श्रेष्ठले काठमाडौँ जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे ।
प्रतिक्रिया 4