Comments Add Comment

एमाले मुख्यालय : शेर्पा समूहको प्रतिष्ठानबाट दुगडका आफन्तको घरतिर

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापाथलीमा तयार गरिएको नयाँ केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।

ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍मा अर्याललगायतका नेताहरुसहित नयाँ मुख्यालयको अनुगमन गर्न थापाथली पुगेका थिए । अनुगमनपछि एमाले मुख्यालय आउने वैशाखदेखि थापाथलीबाट चल्ने भएको छ ।

अनुगमनपछि मन्त्री अर्यालले एमालेको कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने निश्चित भएको बताइन् । ‘पहिले कुरा भएरै नयाँ कार्यालयको तयारी गरिएको हो, यो अनुगमनले वैशाखमा सर्ने निश्चित भयो’, मन्त्री अर्यालले भनिन् ।

२०७२ को भूकम्पबाट बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेको कार्यालय धुम्बाराही सरेको थियो । अर्को कार्यालय नभेटेसम्म बस्ने भनेर पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको कार्यालय, धुम्बाराहीमा राखिएको कार्यालय पाँच वर्षसम्म सरेको थिएन । प्रतिष्ठानका महासचिव छेटु शेर्पाका अनुसार, अझै एमालेको कार्यालय डेढ वर्ष धुम्बाराहीमै रहने सम्झौता छ । ‘पार्टी कार्यालय सर्नेबारे हामीलाई जानकारी छैन । सम्झौताको समय नै बाँकी छ’, शेर्पाले भने ।

तर चक्रपथ विस्तारले कार्यालय सञ्चालनमा अप्ठ्यारो परेको भन्दै धुम्बाराहीबाट कार्यालय सार्ने तयारी केही समयअघिदेखि नै गरिएको थियो । ‘नयाँ कार्यालयको खोजी भइरहेको थियो । अनुकूल घर फेला परेपछि अर्को व्यवस्था नहुँदासम्म बसौं भन्ने भयो’, मन्त्री अर्यालले भनिन् । बल्खुमा पार्टी कार्यालय नबन्दासम्म थापाथलीबाटै एमाले मुख्यालय चल्ने भएको छ ।

पहिले शेर्पा, अहिले दुगड

धुम्बाराहीबाट थापाथलीमा कार्यालय सार्ने कामको अगुवाइ भने व्यवसायी एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले गरेका छन् । पार्टी कार्यालय राख्न लागिएको थापाथलीको घर दुगडका आफन्त सञ्जय अग्रवालको हो ।

दुगडकै प्रस्तावमा अग्रवालले एमालेको मुख्यालय सञ्चालन गर्न घर दिन तयार भएका छन् । यहाँ पनि धुम्बाराहीमा जस्तै अर्को व्यवस्था नहुँदासम्म कार्यालय राख्ने सम्झौता गरिएको छ । तर घरको भाडाबारे भने सम्झौतामा प्रष्ट किटान गरिएको छैन । धुम्बाराहीमा पनि भाडाबारे प्रष्ट किटान थिएन । ‘पार्टीसँग पैसा भएको बेला बैंकमा डिपोजिट गरिदिने हो’, कार्यालय स्रोतले भन्यो ।

धुम्बाराहीको पार्टी कार्यालय पनि थापाथलीकै जस्तो व्यावसायिक सम्बन्धका आधारमै खोजिएको थियो । यसको पहल तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले लिएका थिए । उनी त्यसबेला पासाङ ल्हामू शेर्पा प्रतिष्ठानका अध्यक्ष थिए । प्रतिष्ठानसँग जोडिएका आङछिरिङ शेर्पासँग एमाले नेताहरुको राम्रो सम्बन्ध भएकाले पनि कार्यालय राख्नेबारे धेरै छलफल भएन ।

यद्यपि यती समूहसँग जोडिएका शेर्पाकै संरक्षकत्वमा चल्ने प्रतिष्ठानको कार्यालयबाट पार्टी चलाउने निर्णय प्रति एमालेका कतिपय नेताहरूले असन्तुष्टि जनाएका थिए । विशेषगरी तत्कालीन एमाले उपाध्यक्ष (हाल राष्ट्रपति) विद्यादेवी भण्डारीले मदननगरबाट धुम्बाराही कार्यालय सार्ने निर्णयप्रति असहमति जनाएकी थिइन् ।

धुम्बाराहीस्थित एमाले पार्टी कार्यालय

यो अवधिमा यती समूहसँग जोडिएर गरिएको निर्णयका कारण ओली नेतृत्वको सरकार आलोचित बन्यो । तर कार्यालय भने धुम्बाराहीबाट सरेको थिएन ।

पाँच वर्षपछि धुम्बाराहीबाट पार्टी कार्यालय त सर्ने भयो, तर फेरि पनि आफ्नो कार्यालय नभएर अर्का व्यावसायिक सम्बन्धका आधारमा खोजिएको घरमा । यसलाई एउटा व्यावसायिक घरानाको हातबाट अर्को घरानाको हातमा पार्टी कार्यालय पुगेको नेताहरुको टिप्पणी छ । ‘पार्टी कार्यालय एउटा घरानाबाट अर्को घरानामा सर्‍यो । यसले राम्रो सन्देश जाँदैन’, एमाले नेता विष्णु रिजाल भन्छन् ।

ओलीका ‘प्रिय’ पात्र

एमालेमा प्रवेश गरेको सात वर्षमै सांसद, राज्यमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार बनिसकेका मोती दुगड अन्ततः एमालेको मुख्यालय पनि आफन्तकै घरमा लैजान सफल भएका छन् । यसमा ओलीले दुगडलाई गरेको विश्वासले नै काम गरेको छ ।

केही दिनअघि मात्र बालुवाटारमा आयोजित कार्यक्रममा दुगडले प्रधानमन्त्रीसँगै उभिएर व्यावसायिक घरानाका मालिकहरुलाई एमाले प्रवेश गराइरहेका छन् । गएको ६ चैतमा मात्रै दुगडले २३५ व्यवसायीलाई एमाले प्रवेश गराए, जसमा अधिकांश मारवाडी समुदायका हुन् ।

यो प्रवेशलाई दुगडले ऐतिहासिक भनेका छन् । दुगड उत्साहित भएर संगठन विस्तार र पार्टी काम सञ्चालनमै अग्रसर हुनुमा ओलीले गरेको विश्वास महत्वपूर्ण पाटो हो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सद्भावना पार्टीबाट सांसद बनेका दुगडले आफ्नो नेतृत्वमा नव नेपाल पार्टी बनाएर दोस्रो संविधानसभामा २२ उम्मेदवार खडा गरेका थिए । तर जमानत समेत जोगाउन नसकेपछि १२ असोज २०७१ मा दुगडले पार्टीलाई एमालेमा विलय गराएका थिए ।

एमाले प्रवेश गरेका दुगडलाई ओलीले २०७४ को निर्वाचनमा सांसद पद सुनिश्चित गरिदिए । समानुपातिक सूचीको एक नम्बरमा नाम राखेर दुगडलाई सांसद मात्रै बनाइएन, ओलीले राज्यमन्त्री नै बनाए । ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री नियुक्त दुगड १३ महिनापछि पदमुक्त भए ।

असंवैधानिक संसद् विघटनको निर्णयलगत्तै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर दुगडले खेप्नु पर्‍यो । १० पुसमा गरिएको मन्त्रिपरिषद् पुनर्गठनबाट पदमुक्त भएका दुगड एक महिनाभित्रै प्रधानमन्त्रीकै सल्लाहकार बने ।

पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाको राजदूत सिफारिस गरिएकाले रिक्त प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा दुगड गएको ४ माघमा नियुक्त भएका थिए ।

अहिले तिनै दुगड सरकारको नियमित कामकारबाहीमा मात्रै केन्द्रित नभएर एमालेमा व्यावसायिक घरानाका व्यक्तिहरु प्रवेश गराउनेदेखि पार्टी कार्यालय खोज्नेसम्मको काममा अग्रसर देखिएका छन् ।

यसरी शेर्पा समूहको संरक्षणमा चलेको प्रतिष्ठानको कार्यालयबाट एमालेको पार्टी कार्यालय दुगडका आफन्तको घर थापाथली सर्ने भएको छ ।

एमाले कार्यालय सचिव ईश्वरी रिजाल भने पार्टी कार्यालय सर्ने कुरालाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । ‘आफ्नो घर नभएपछि सरिरहनुपर्छ । पार्टी कार्यालय नबनेसम्म कार्यालय सर्ने कुरालाई अन्यथा लिनुहुँदैन । यति हो अहिले सर्दैछौं’, उनले भने ।

हेर्नुस् थापाथलीस्थित एमालेको नयाँ पार्टी कार्यालयका केही तस्वीर 

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment