
११ चैत, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढेर विदेश पुग्ने नेपालीको चाहना यो वर्ष पनि पूरा नहुने भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७७–७८ भित्रै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण लामो समय जनशक्ति र उपकरण अभाव हुँदा विमानस्थलको काम लक्ष्य अनुसार हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
‘अक्टोबरपछि कोरोनाको प्रभाव हट्ला र अवस्था सामान्य होला भनेर हामीले चालु आर्थिक वर्षको लक्ष्य र बजेट बनाएका थियौं,’ उनले भने, ‘तर त्यसअनुसार परिस्थिति अनुकूल बनेन ।’
उनका अनुसार अहिले सीमामा रोकिएका सबै उपकरण आयोजना स्थलमा आइसकेका छन् । प्राविधिकसमेत नेपाल आएर काम थालेका छन् । यो काम सक्न अझै कम्तीमा तीन महिना लाग्ने छ । ‘यो पनि विना अवरोध काम भयो भने,’ उनले भने ।
पूर्वाधार बन्दैमा जहाज उडिहाल्दैन
भैरहवा विमानस्थल निर्माणको काम २१ डिसेम्बर २०१४ बाट सुुरु भएको हो । प्रारम्भिक लक्ष्य अनुसार त गत डिसेम्बर २०१७ मै विमानस्थल सञ्चालनमा आइसक्नुपर्ने थियो । सो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो । विमानस्थलको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, मुआब्जा वितरणमा भने ३० अर्बभन्दा बढी रकम खर्च भइसकेको छ ।
प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम पूरा भएर अहिले उपकरण जडानको काम जारी छ । तीन महिनामा उपकरण जडान पूरा भएपनि त्यसपछिको थप तीन महिना भने उडान प्रक्रियासँग सम्बन्धित तयारीमा लाग्ने गर्लछ । यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्य सरोकारवाला निकायका विज्ञहरु समेत बोलाएर काम गर्नुपर्छ ।
हवाई रुट निर्धारणसहितका काम गर्न विशेष उपकरणसहितको जहाज ल्याएर परीक्षण उडान गर्नुपर्छ । त्यसका लागि पनि परिस्थिति सहज हुनुपर्ने महानिर्देशक पोखरेल बताउँछन् ।
‘पूर्वाधार छिट्टै बन्न सक्छ, तर, पूर्वाधार बन्दैमा जहाज उडिहाल्छ भन्ने सोच्नु हुँदैन,’ उनी भन्छन्, ‘त्यसका आफ्नै प्रक्रिया छन्, जुन नियामक निकायको निगरानीमा मात्र गर्नुपर्ने हुन्छ ।’
अर्कोतर्फ विमानस्थल सञ्चालन अन्य मुलुक र वायुसेवा सञ्चालकको समेत सरोकारको विषय हो । कोरोना भाइरसको महामारी कायमै रहेमा अन्य मुलुकले अनुमति नदिने र विमानस्थल तत्काल चल्ने सम्भावना नरहेको हो ।
‘जनशक्तिको समस्या छैन’
यो विमानस्थलको सञ्चालन तथा व्यवस्थापन गर्न जनशक्तिको भने समस्या नरहेको महानिर्देशक पोखरेल बताउँछन् । ‘यहाँ आन्तरिक विमानस्थल अहिले पनि सञ्चालनमा छ,’ उनी भन्छन्, ‘त्यसमा थप जनशक्तिसहित दरबन्दी तय भइसकेको छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि १५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये ३६ जनाको दरबन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ ।
कस्तो बन्दैछ भैरहवा विमानस्थल ?
काठमाडौं र भैरहवामा समान लम्बाइको धावनमार्ग निर्माण भएको छ । सोही कारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुईवटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ ।
आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने आकस्मिक अवतरणका लागि यो विमानस्थल विकल्प बन्न सक्नेछ ।
प्रतिक्रिया 4