Comments Add Comment

‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ प्रभावकारी

१२ चैत, काठमाडौं । विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका ५ जिल्लाका पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेकोे पाइएको छ ।

बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन माथिल्लो र तल्लो कक्षाका छात्राबीचको बृहत सञ्जाल बनाइ सञ्चालित सो कार्यक्रमले शिक्षाको गुणस्तर वृद्धि र स्थानीय सरकारलाई विद्यालय सुशासनमा पनि सहयोग गरेको जनाइएको छ ।

भिएसओ नेपालको सहयोगमा आसमान नेपालद्वारा आठ वर्षअघि सञ्चालित उक्त कार्यक्रमबारे बागमती प्रदेशको धादिङ, गण्डकी प्रदेशको लमजुङ, प्रदेश नम्बर २ को पर्सा र कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार शिक्षा पत्रकार समाजले आयोजना गरेको प्रदेशस्तरीय छलफलमा उक्त कार्यक्रमले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेका जनाइएको हो ।

प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र सरोकार पक्षले ‘ठूली दिदी’ले ‘सानी बहिनी’लाई पढाइ र घरायसी काममा समेत पूर्वाधार तथा अन्य पक्षमा सघाउने स्वयंसेवी कामले बालिकाको अधिकारको प्रवर्द्धनमा पनि टेवा पुगेको आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले बताए ।

सो परियोजना पर्साका ११, धादिङ र सुर्खेतका ५–५ र लमजुडका ६ स्थानीय तहमा सञ्चालित छ । साहीे कार्यक्रम मर्सीकोरको सहयोगमा बाँकेका तीन पालिकामा पनि सञ्चालित छ । ती पालिकाका कुल ४९ विद्यालयमा गरी करिब एक हजार दुई सय बालबालिका परियोजनामा प्रत्यक्ष परिचालित थिए । परियोजनाले बाल संरक्षण तथा सुरक्षा, सामुदायिक स्वयंसेवी कार्यक्रममार्फत अभिभावकको सहभागिता आदि क्षेत्रमा सुधार गरेको छ । सो परियोजनाको अवधि यही चैत १८ गतेसम्म रहेको छ ।

सीमान्तकृत समुदायका बालिकालाई विद्यालयमा टिकाउने, गुणस्तरीय रुपमा सिकाउने, भविष्यमा सक्षम जनशक्ति तयार गर्ने र माध्यमिक तहसम्म लैजाने लक्ष्य लिएर सञ्चालित कार्यक्रममा ९४ प्रतिशत सफलता मिलेको आसमान नेपालका पर्सा जिल्ला संयोजक मुनीलाल बैठाले जनाए । उनले दाइजो, बालविवाह जस्ता प्रथाको अन्त्य गराउन पनि परियोजनाले योगदान दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment