Comments Add Comment

कर्णालीमा हाम फालेकी सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

१२ चैत, सुर्खेत । चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । दैलेखको आठबिसकोट नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले फागुन २३ गते चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी थिइन् ।

उक्त घटनामा सुकीका श्रीमान ४३ वर्षीय मानसिंह बडुवाललाई कारबाहीको माग गर्दै सुकीका भाइ बजिरबहादुर थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत ४ गते ज्यानसम्बन्धी कसूर (आत्महत्या दुरूत्साहन) मुद्दा दर्ता दर्ता गरेका हुन् ।

भिनाजु मानसिंह बडुवालको नाममा मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए । प्रहरी निरीक्षक सुनारका अनुसार पक्राउ परेका मानसिंहलाई प्रहरीले दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालेको छ ।

गत फागुन २३ गते सुकीले आफ्ना छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षीया रजनी र ९ वर्षीय छोरा ललितलाई लिएर दैलेख र अछामको बीचमा पर्ने कर्णाली नदीमा हाम फालेकी थिइन् ।

फागुन २४ गते बेलुका छोरीहरू कल्पना र सरिताको शव भेटिएको थियो भने त्यसको भोलिपल्ट बिहान सुकी र छोरा ललितको शव भेटिएको थियो । कान्छी छोरी रजनीको शव भने त्यसभन्दा करिब ९ किलोमिटर तल असालाघाटमा भेटिएको थियो ।

पाँचै जनाको शवको पोष्टमार्टम अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment