Comments Add Comment
कभर स्टोरी :

अध्यक्ष ओलीलाई नेता नेपालको जवाफ : मलाई होइन, तपाईंलाई कारबाही गर्नुपर्नेछ

१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै विधान उल्लंघनको आरोप लगाएका छन् ।

पार्टी नेतृत्वले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर गरेका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईंले गर्नुभएका गतिविधिहरु नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ ।’

अध्यक्षमाथि नै प्रश्न उठाएका उनले यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने माग गरेका छन् ।

पहिलो प्रश्न : नेता नेपालले अध्यक्ष ओलीमाथि कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने गलत मनसाय राखेको किन नभन्ने भनेर प्रश्न गरेका छन् ।

२३ फागुनमा गरेको सर्वोच्चको फैसलामा एमाले र माओवादी केन्द्र पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु र आयोगले पार्टी एक हुने भए १५ दिनभित्र आउनु भनेको स्मरण गर्दै उनले भनेका छन्, ‘केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईंले छलफल किन गराउनु भएन ? यसरी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने ?’

दोस्रो प्रश्न : एमाले पुनर्स्थापित भएपछि विगतको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ? भनेर प्रश्न गरेका छन् । २ चैतमा पार्टी कार्यालय, धुम्बाराहीमा भएको छलफलमा पार्टी एकीकरणपूर्वको पार्टी तथा जनसंगठनहरुको संरचना स्वीकार गरौं र २८ फागुनमा गरेको बदर गरौं भन्दा अस्वीकार गरेको भन्दै वरिष्ठ नेता नेपालले प्रश्न गरेका छन्, ‘तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

तेस्रो प्रश्न : अध्यक्ष ओलीले पुनर्स्थापित एमालेलाई एकतावद्ध बनाएर लैजान नखोजेको नेता नेपालको आरोप छ । आफूहरुलाई जानकारी नै नदिई २८ फागुनमा गुट भेला गरेको र पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, पार्टी सदस्य नै नभएका २३ जनालाई केन्द्रीय सदस्य मनोनयन र पार्टी विधानमा संशोधन जस्ता निर्णय गरेको भन्दै नेता नेपालले अध्यक्ष ओलीलाई सोधेका छन्, ‘पार्टी विधानको उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?’

त्यो निर्णय पार्टी विधान विपरीत भएकाले आफूहरु निर्वाचन आयोग गएको भन्दै उनले प्रश्न गरेका छन्, ‘पार्टीको विधान संशोधन जस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईंले विधानको कुन धाराबाट प्राप्त गर्नुभयो ? पार्टी विधान विपरीत मनपरी किसिमले पार्टी विधानमा संशोधन गरिएको कुरा गर्दै नेकपा (एमाले) का सदस्य नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्यको पद रिक्त नै नरहेको अवस्थामा केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरिएको भनी तपाईंले कसरी भन्नसक्नुभयो ? यस्तो स्वेच्छाचारी काम गर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन ?

अध्यक्ष ओली स्वयंले पार्टीको विधान, विधि, पद्धति, प्रक्रिया, अनुशासन र मान्यताको उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपालले आफूलाई स्पष्टीकरण सोध्दै लेखिएको पत्र नै अवैध भएको समेत दाबी गरेका छन् । भ्रम सिर्जना गर्ने उद्देश्य मात्र पत्र पठाएको नेता नेपालको आरोप छ ।

आफूलाई पठाएको पत्रमा साबिकको नेकपा तीन बर्षे कार्यकालका केही विषय पनि भ्रम सिर्जना गर्नेगरी उल्लेख गरिएको भन्दै उनले खण्डन गरेका छन् । ओली स्वयंले पटक–पटक पार्टी विधान, पद्धति र निर्णयको उल्लंघन तथा अवज्ञा गरेको भन्दै उनले भनेका छन्, ‘कसले कहाँ स्वेच्छाचारी र अनुशासनहीन काम गर्‍यो ? कसले विधान एवं पद्धति मिच्यो ? तथ्यगत जानकारी चाहेको भए पुनःस्थापित एमाले केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्ने आँट किन गर्नुभएन ?’

नेकपाबारे १३ बुँदा

एमाले र माओवादी केन्द्रको पार्टी एकतादेखि सर्वोच्च अदालतको २३ फागुनको फैसलासम्म ओलीले पार्टी विधान, निर्णय र अनुशासन उल्लंघन गरेको भन्दै उनले केही उदाहरण पनि पत्रमा उल्लेख गरेका छन् ।

  • पार्टी एकीकरणको पूर्वसन्ध्यामा २०७५ साल वैशाखमा विष्णुप्रसाद पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर आम निर्वाचनमा बहुमत आए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बर्ष मध्ये अढाई/अढाई बर्ष पालैपालो प्रधानमन्त्री हुने भनी गरिएको सम्झौता भंग गर्दै पार्टीमा अन्तरविरोध सिर्जना गरेको ।
  • कम्युनिष्ट आन्दोलनमा विगतमा देखिएका फुटका सबै श्रृङ्खलाहरुको अन्त्य गर्दै नेपालको कम्युनिष्ट आन्दोलनकै एकीकरणका लागि काम गर्ने प्रतिवद्धताका विपरीत मदन भण्डारी फाउण्डेशनको नाममा देशभरि आफ्नो गुट सञ्चालन गरी ‘भविष्यमा पार्टी विभाजन हुनसक्ने भएकोले यही फाउण्डेशनमा आवद्ध व्यक्तिहरुले त्यस पार्टीको आधारको रुपमा काम गर्नुपर्छ’ भनी अभियान चलाएको ।
  • २०७६ साल असोज ४ गते बसेको सचिवालयको बैठकबाट पार्टीमा उत्पन्न अन्तरविरोधको व्यवस्थापन गर्नको लागि एकीकरणका बेला पालैपालो सरकारको नेतृत्व गर्ने भन्ने सम्झौताबाट पछि हटेर तपाईंले पाँचै बर्ष सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने निर्णयलाई लत्याएको ।
  • पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउन नमानेको र धेरै दबाव पश्चात् २०७६ साल माघ महिनामा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट पार्टीलाई विधि, पद्धतिअनुसार चलाउने र विगतका गल्ती, कमीका लागि आत्मालोचना गर्ने र २०७६ साल चैत्र महिनादेखि देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने भनी गरिएकोे निर्णय र प्रतिबद्धताको पालना नगरेको ।
  • कोरोना विषाणु संक्रमण जस्तो अत्यन्त संवेदनशील र जनचासोको विषयमा पार्टीमा कुनै जानकारी र छलफल नै नगराई हठात् चैत्र १० गतेदेखि देशमा बन्द र बन्देजको घोषणा गर्नुका साथै श्रमजीवी सर्वसाधारण जनतालाई परेको समस्या तथा कठिनाइप्रति उदासीन हुनुका साथै पीडित जनतालाई सहयोग पुर्‍याउन पर्ने काममा सरकार र पार्टीका बीचमा समन्वय हुन नदिएको । साथै यस सम्बन्धमा छलफल गर्नका लागि बैठकको माग गर्दा त्यसलाई बेवास्ता गरेको ।
  • देश कोरोनाका कारण बन्द र बन्देजको अवस्थामा रहेको बेला २०७७ साल वैशाख ८ गते अप्रत्याशित रुपमा दल विभाजनसम्बन्धी कानून र संवैधानिक परिषद्सम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याई पार्टी विभाजन गर्न खोजेको । साथै अर्को पार्टीका एकजना सांसदलाई आफू निकट दुईजना सांसद र पूर्व प्रहरी महानिरीक्षकको माध्यमबाट तराईको जिल्लाबाट अपहरण शैलीमा काठमाडौं ल्याउने जस्तो आपत्तिजनक कार्य गरेको । दल विभाजन जस्तो गम्भीर विषयमा स्थायी कमिटीका २० जना सदस्यहरुले विधिवत् स्थायी कमिटीको बैठकको लागि लिखितरुपमा गरेको मागप्रति अवहेलना गरी पार्टी विधानको उल्लंघन गरेको । २०७७ साल साउन ४ गते केन्द्रीय कमिटीका १५२ जना सदस्यहरुले केन्द्रीय कमिटीको बैठकका लागि गरेको लिखित मागप्रति बेवास्ता गर्नुका साथै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाउने कुरा गर्दा ‘बैठक बोलाइयो भने पार्टी फुट्छ’ भनी धम्की दिएको ।
  • २०७७ साल असारमा बसेको स्थायी कमिटीको बैठकलाई विभिन्न बहाना बनाई निष्कर्षमा पुग्न नदिएको र साउनमा भएको बैठकलाई एकपक्षीय रुपमा स्थगित गरेको । साउन महिनामा नै आफू निकटका व्यक्तिहरुलाई नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दर्ता गर्न लगाई पार्टी विभाजन गर्ने षड्यन्त्र गरेको ।
  • पार्टी भित्रका समस्याहरुको समाधानका लागि सुझाव पेश गर्न गठित कार्यदलको प्रतिवेदनको आधारमा २०७७ साल भदौ २६ गते स्थायी कमिटीको बैठकले गरेका सर्वसम्मत निर्णयहरुको अवज्ञा र उल्लंघन गर्नुका साथै तिनको कार्यान्वयनमा अवरोध सिर्जना गरेको ।
  • स्थायी कमिटीका निर्णय कार्यान्वयन गरी पार्टी एकता कायम गर्दै सरकार सोही अनुरुप सञ्चालन गर्नुको साटो कात्तिक  महिनाको आरम्भमा विदेशी गुप्तचर संस्थाका प्रमुखसंग बालुवाटारमा कुटनीतिक मर्यादा विपरीत राति गुप्त मन्त्रणा गरेको । सोही समयमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई एकलौटी रुपमा धम्कीपत्र पठाएको ।
  • पार्टीमा उत्पन्न समस्याहरुको समाधानका लागि २०७७ साल भदौं २२ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जना नेताहरुले बैठकका लागि लेख्नुभएको दुई पृष्ठको पत्रपश्चात् बैठक बोलाई छलफल गर्नुपर्ने विधि विपरीत २०७७ साल कात्तिक २५ गते विभिन्न मिथ्या आरोप र विषयहरु उल्लेख गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १० पृष्ठ लामो पत्र पठाई जवाफ लेख्न बाध्य पारेको। (स्मरणीय छ, केपी ओलीको पत्रको प्रतिउत्तरमा दिइएको उक्त जवाफ कार्यकारी अध्यक्षको अधिकार प्राप्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्तिक २८ गते संस्थागतरुपमा लेख्नुभएको थियो)।
  • २०७७ साल वैशाख महिनामा आफैंले अनावश्यक भनी फिर्ता लिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई पुनः मंसिर महिनामा ल्याएर समस्या बल्झाएको । २०७७ साल पुस १ गते उक्त अध्यादेशको औचित्यबारे संसदमा छलफल गर्नको लागि प्रतिनिधि सभाका ८३ जना सदस्यहरुले प्रतिनिधि सभाको बैठकका लागि राष्ट्रपति समक्ष दिएको समावेदन दर्ता गर्ने कार्यमा अवरोध सिर्जना गर्नुका साथै उक्त अध्यादेश फिर्ता लिने, प्रतिनिधि सभा विघटन नगर्ने र पार्टीको निर्णय मानेर जाने भनी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको बैठकमा भएको निर्णयको उल्लंघन गरेको ।
  • २०७७ साल पुस ५ गते प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकमा कुनै छलफल नगरी प्रतिनिधि सभा विघटनको निर्णय गरी नेपाली जनताले पाँच बर्षका लागि दिएको जनादेश तथा पार्टीमाथि गरेको विश्वास र भरोसामाथि आघात पुर्‍याएको । यसरी पार्टीमाथि घात गरिएको ।
  • प्रतिनिधि सभा विघटन गरिसकेपछि सरकारी निवासमा गुटको भेला गरी पार्टी विधान विपरीत १५०१ जनाको केन्द्रीय कमिटी निर्माण गर्नुका साथै देशव्यापी रुपमा पार्टी विधान र पद्धति विपरीत गुटबन्दीपूर्ण संरचनाहरु निर्माण गरेको । राज्यसत्ताको दुरुपयोग गर्दै देशका विभिन्न भागहरुमा पार्टीको विधान र मान्यता विपरीत सार्वजनिक गतिविधि गरेको ।

वरिष्ठ नेता नेपालले प्रचण्डको मतियार बनेको आरोपको पनि खण्डन गरेका छन् । साबिकको नेकपामा अध्यक्ष ओली नेकपाको विधान र नीति विपरीत गएका कारण त्यसलाई रोक्न संस्थागत रुपमा तथा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत संलग्न काम गर्दा आफूलाई कसैको ‘मतियार’ भन्नु व्यक्तिवादको अभिव्यक्ति मात्र भएको उनले बताएका छन् ।

‘यदि तपाईंको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईंले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ?’ उनले अध्यक्ष ओलीलाई पठाएको जवाफी पत्रमा भनेका छन्, ‘तर यस्तो दृष्टिकोण ममा छैन ।’

आलोचनालाई विरोध ठान्ने गलत मानसिकता

वरिष्ठ नेता नेपालले राष्ट्रिय हित, जनताको हित र पार्टीको सुरक्षाका लागि उठाइएका आवाजलाई सरकारविरोधी कार्य देखिएको बताएका छन् । सरकारका कमी कमजोरीलाई औंल्याई सत्मार्गतर्फ अग्रसर गराउनु तथा आलोचना गर्नुलाई ‘विरोध’ ठान्ने गलत मानसिकताले नै पार्टीमा गम्भीर समस्या उत्पन्न भएको उनले बताए ।

उनले सरकारबारे आफूले उठाएको प्रश्नहरु उल्लंख गर्दै विदेशी शक्तिसामु लम्पसार परेको, नागरिकसम्बन्धी विधेयकलाई रोकेको, नेपालको संस्कृति, नागरिक स्वतन्त्रता विपरीत विधेयकहरु ल्याएको आरोप लगाएका छन् । उनले जहाज खरिद प्रकरण, आयल निगम जग्गा खरिद प्रकरण, गोकर्ण फरेष्ट रिसोर्ट र यति समूहसँग नेपाल ट्रष्टको सम्पत्ति उपभोगसम्बन्धी गलत निर्णयहरु, ओम्नी भ्रष्टाचार प्रकरण लगायतमा आफूले प्रश्न उठाएको तथा प्रतिनिधिसभा विघटनको निर्णय रोक्न संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावलाई दुरासय राखेको उनको आरोप छ ।

आफूहरु लोकतन्त्र, कानूनी शासन र पार्टीको मर्यादाका लागि उभिएको भन्दै उनले प्रश्न गरेका छन्, तपाईको तर्फबाट सत्ताको दुरुपयोग गर्दै दिइएको धाक–धम्की र प्रलोभनको तथ्य अरुतिर औंलो तेर्स्याउँदा छोप्न सकिन्छ र ?’

अध्यक्ष ओली व्यक्तिगत स्वार्थ, दम्भ र पद लोलुपताको शिकार भई पार्टी विधान विपरीत काम गरेको भन्दै उनले भनेका छन्, ‘नेपाली जनता र एमाले पार्टी पंक्तिलाई धेरै विषयमा स्पष्टीकरण दिनुपर्ने प्रष्ट छ ।’

ईश्वर पोखरेलको पत्र, ओलीलाई जवाफ

वरिष्ठ नेता नेपाललाई स्पष्टीकरण सोध्दै महासचिव ईश्वर पोखरेलले पत्र पठाएका थिए । त्यसमा उनलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य भनेर सम्बोधन गरिएको थियो ।

तर नेता नेपालले अध्यक्ष ओलीलाई लेखेको पत्रमा नवौं राष्ट्रिय महाधिवेशनको केन्द्रीय कमिटीका अध्यक्ष भनेर सम्बोधन गरेका छन् । पार्टी विधान विपरीत महाधिवेशन आयोजक कमिटी गठन भएको भन्दै उनले भनेका छन्, ‘अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले मलाई कुनैपनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भई अमान्य छ ।’

हेर्नुहोस् माधवकुमार नेपालले बुझाएको स्पष्टीकरण पत्रको जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment